एकपछि अर्कोगरी देशका विभिन्न स्थानमा महिला हिंसाका घटना सार्वजनिक हुने क्रम नरोकिएपछि देशभर विभिन्न रुपमा प्रदर्शन भइरहेको छ । महिला हिंसा रोक्न माग गर्दै सामाजिक सञ्जाल, भर्चुएल अन्तरक्रियादेखि सडक प्रदर्शन समेत भइरहेको छ । अन्तर पार्टी महिला सञ्जाल लामो समयदेखि महिला हिंसाका घटनामा राज्य जिम्मेवार हुनुपर्ने माग सहित आवाज उठाउँदै आएको छ । उक्त सञ्जालले महिला हिंसा अन्त्यका लागि राजनीतिक तहबाटै निरुपणको उपाय खोज्नुपर्ने निष्कर्ष निकाल्दै आएको छ । राज्य व्यवस्था तथा सुशासन समिति र गृह मन्त्रीको ध्यानाकर्षण गराउँदै अन्तर पार्टी महिला सञ्जालले महिला हिंसाका घटनाबारे गम्भीर हुन माग गरेको छ ।
सञ्जालले महिला हिंसाका घटनालाई सामान्य घटना जसरी हेर्न नहुने भन्दै छुट्टै इजलासको माग गर्दै आएको छ । सञ्ञ्जालले महिला न्यायाधीशकै व्यवस्था गरी ‘फास्ट ट्र्याक कोर्ट’ को समेत माग गरिरहेको छ । तर, यसबारे सरकारले खासै ध्यान दिएको देखिदैन । अहिले प्रतिनिधिसभाको अधिवेशन बन्द छ, तर संसदीय समितिहरुमा यसबारे आवाज उठिरहेकै छ । प्रदेशसभामा समेत महिला हिंसाबारे गम्भीर हुन प्रदेश सरकारको ध्यानाकर्षण गराउने क्रम सुनिदै आएको छ । तर, न संघीय सरकार, न त प्रदेश सरकारले यस्ता आवाजको सुनुवाई गरेको पाइन्छ ।
तर, अर्कातिर महिला तथा बालिका बलात्कृत हुने र हत्या गरिने क्रम रोकिएको छैन । पछिल्लो समय धेरै ठूलो आवाज उठेको र हत्यारा पहिचान गर्न ठूलै प्रयत्नको प्रयास गरिएको निर्मला पन्त बलात्कार तथा हत्याका दोषी अहिलेसम्म पहिचान हुन सकेको छैन । बरु, फेरि केही समय अगाडि बझाङकी १२ वर्षीय किशोरीको नियति पन्तकै जस्तो देखिएको छ । उनलाई पनि बलात्कार पछाडि हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
नेपाल जस्तो कानूनी शासन र संविधानको सर्वोच्च भएको मुलुकमा जनआवाज नसुनिने र पीडितले न्याय नपाउने तथ्यले विश्वमै नेपाललाई हेर्ने दृष्टिकोण राम्रो हुने छैन । अझ त्यो भन्दा पनि महत्वपूर्ण पक्ष भनेको आफ्नै छोरीचेलीको भविष्यको हो । यदि, बलात्कार तथा हत्या जस्ता घटना नरोकिने हो भने कुनै पनि छोरीले सुरक्षित महशुस गर्ने छैनन् । यसले सामाजिक सम्मुनति र न्यायिक समाज निर्माणको बाटो अवरुद्ध हुन पुग्नेछ । आम नागरिकमा सरकारको अनुभूति हुने छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies