अनुज अधिकारी/मध्यान्ह
लमजुङ : लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ सदरमुकाम चामे जोड्ने बेसीसहर-चामे सडक यही आर्थिक बर्षदेखि कालोपत्रे शुरु हुने भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालय, सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बेसीसहरदेखि खुदीसम्म चालु आर्थिक वर्षमै कालोपत्रे सुरु गरिने बताएका छन् । मंसिर ५ गते शुक्रबार बेसीसहर चामे सडक सरोकार, समन्वय तथा संघर्ष समितिको ध्यानआकर्षण पत्र बुझ्दै महानिर्देशक शर्माले यही बर्षबाट सडक कालोपत्रे सुरु गरिने आश्वासन दिएका हुन् ।
शर्माका अनुसार यो सडकमा पर्ने पुमाखोला, मस्र्याङ्दी, खुदीखोलालगायतका स्थानमा यसै बर्ष ८ वटा सडक पुल निर्माण सुरु गरिने छ । बेसीसहरदेखि खुदी भुलभुलेसम्म कालोपत्रे र बेसीसहर–६ स्थित खरखरे भिर नियन्त्रणको काम सुरु गरिने उनले बताए ।
उनका अनुसार सडक कालोपत्रे र पुल निर्माणका लागि आगामी पुस महिनाभित्र टेण्डर आब्हान गरिने छ । शर्माले यसअघि यो सडक राष्ट्रिय चासोको रुपमा नपरेको र यो बर्षबाट बहुबर्षे योजनामा परेकाले सडक निर्माणले गति लिने बताए । उनले आगमी २ देखि ३ वर्ष भित्रमा मनाङसम्म सडक कालोपत्रे हुने दावी गरे ।
शर्मासहितको टोलीलाई बेसीसहर चामे सडक सरोकार, समन्वय तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष सुर्यप्रकाश कतिला र सचिव नवीनराज कुइँकेलले विभिन्न मागसहितको ध्यानआकर्षण पत्र बुझाएका थिए ।
सो अबसरमा मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दिपक केसी, मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङ, डुम्रे बेसीसहर चामे सडक आयोजना इकाई प्रमुख अमित कुमार श्रेष्ठ, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडा नं. ९ का अध्यक्ष नारायण थापा, अमर मावि खुदीका प्रअ तीर्थ बस्नेत, उवासंघ खुदी इकाईका अध्यक्ष वीरेन्द्र भण्डारीलगायत बुद्धिजिवि, ब्यवसायी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
२०५२ सालमा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ बर्ष लगाएर ट्य्राक खोलेको थियो । सेनाले २०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरबृद्धि हुन नसकेको बेसीसहर चामे सडक सरोकार, समन्वय तथा संघर्ष समितिको सचिव कुइँकेलले मध्यान्हलाई बताए । डिभिजन सडक कार्यालयमार्फत बर्सेनि मर्मतको काम मात्र हुँदै आएकोमा यस वर्षदेखि छुट्टै कार्यालय स्थापना गरेर काम थालिएको छ ।
बेसीसहर–चामे सडकको बेंसीसहरदेखि म्यार्दीसम्म ३५ किलोमिटर (लमजुङ खण्ड) र म्यार्दीदेखि चामेसम्म ३० किलोमिटर (मनाङ खण्ड ) छ । यो बाटो निर्माण सम्पन्न भएमा यस भेगका हजारौं जनताको चौतर्फी उन्नति हुने सचिव कुइँकेलले बताए । स्वयम् सड़क बिभागकाका महानिर्देशकले यो बाटोको महत्व बुझेर निर्माणमा तदारुकता देखाउनु भएकोले अब बाटो बन्ने आशा जागेको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
ज्ञापनपत्र हस्तान्तरण र दबावका लागि नेकपा लमजुङका नेता एवं संविधानसभा सदस्य जमीन्द्रमान घलेले समन्वयकारी भुमिका खेलेका थिए । घलेले भने, ‘ बेसीसहर चामे सडकको मुहार फेरिने आशा जगाएको छ । तरपनि समन्वय र दवावलाई निरन्तरता दिदैं अघि बढ्नु आवश्यक छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies