काठमाडौं : कतारस्थित नेपाली दूतावासले नयाँ मागपत्र प्रमाणीकरण शुरू गरे पनि साउदी अरब युनाइटेड अरब इमिरेट्स (यूएई)ले अझैसम्म नयाँ मागपत्र प्रमाणीकरण शुरूवात गरेका छैनन् । नेपाली दूतावास कतारले आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थालेको जनाएको छ ।
कोरोना भाइरसका संक्रमणका कारणले कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखी नयाँ मागपत्र ईस्यु गरेकोे थिएन । यस्तै नीति छिमेकी मुलुक साउदी र यूएईले पनि लिएका थिए । साउदी र यूएईले धेरै अघिदेखि कडा स्वास्थ्य सुरक्षाको उपायसहित व्यापार कारोवार शुरू गरिसकेका छन् । नेपाली कामदारको मागपत्र प्रमाणीकरण गर्न रोजगारदाताहरू लामो बाटो तय गरेर दूतावास पुग्ने गरेको तर नेपाली दूतावासले नेपाली कामदार अझैपनि जोखिममा रहनसक्ने भन्दै रोजगादातालाई फर्काउने गरेकोे नेपालका म्यानपावर व्यवसायी बताउँछन् ।
नेपाली दूतावास कतारले नयाँ मागपत्र प्रमाणीकरण गर्न शुरूवात गरेपछि कम्तीमा ५० हजार नेपालीलाई रोजगारको अवसर आउने अवस्था बनेको भन्दै व्यवसायीहरूले साउदी र यूएईका नेपाली दुतावासहरूले मागपत्र प्रमाणीकरण शुरू गरे त्यसभन्दा धेरै डिमाण्ड आउने र म्यानपावर व्यवसायिहरूले चालू आर्थिक वर्ष भित्र अघिल्लो आर्थिक वर्षसमेत जोडेर कम्तीमा दुई सय कामदार पठाएको हुनुपर्ने बाध्यतामा रहेका व्यवसायीहरूलाई समेत सहज हुने बताएका छन् ।
विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण लामो समययता वैदेशिक रोजगारीका लागि नयाँ मागपत्र प्रमाणीकरण हुन सकेको छैन । सरकारले गत असार १४ गते वैदेशिक रोजगारको नयाँ श्रम स्वीकृति खुला गरेपनि साउदी र यूएईका दूतावासहरूले आफु नेपाल सरकारभन्दा माथिल्लो स्तरमा रहेको अर्थ आउने गरी निर्णयका फाईल च्यापेर बसेको म्यानपावर व्यवसायीले गुनासो गरेका छन् ।
मागपत्र प्रमाणीकरणको कामलाई निरन्तरता दिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन लगायतका संघसंस्थाले निरन्तररूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराइरहेका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies