-तेजश शर्मा
‘अग्रउन्मुख कुनै पनि तत्त्वलाई रोक्न सकिदैन’
बिहानदेखि मानशपटलमा विचरित यस्ता तर्कनाले मनलाई उद्वेलित बनाएको छ । बिस्तारै(बिस्तारै संयमबाहिर गैरहेको छु म, शारीरिक रुपले । यद्यपि, प्रतिरोध गर्न असमर्थ, मेरो दिमागमा भने बल पुगिरहेको छ । विचारभित्रै अन्तरंगहरु दारा किट्न थालेका छन् । स्नायुकोशिकाहरू हाहाकार मच्चाउन थालेका छन् । परिणाम, रक्त संचारमा कोकोहोलो छाएको छ अनि मुटु, भट्याक–भट्याक गर्दै चित्कार गर्न आतुर । देहभित्रको यो भयानक संग्रामपछि, निस्सार प्राण लिएर पुनः मेरो आगमन, उही अस्पतालको शैय्यामाथि आइपुग्छ । हो, डर एवं त्रासले घनिभूत उही अस्पतालको सय्यामाथि ।
पिपिईको पारदर्शी गाउन एवं भाइजर मास्क लगाएर एक हुल स्वास्थ्यकर्मीहरु, मेरो शैय्या देखिन एक मिटर दूरीमा आएर उभिन्छन् । उनीहरु बीचको बातचित म सुन्दिनँ । त्यसपछि परिचारिकाहरु अगाडि बढ्छन् । नजिक आएर मेरो हातको क्यानुला मिलाउँछन् । दिइरहेको अक्सिजनको मापन गर्छन् । स्लाइन चढाउँछन् अनि पुनः रगतको रिपोर्ट लिएर दुरीमा गई उभिन्छन् । म रहेको यस आइसोलेसन वार्डभित्र दोस्रो बिरामी मैले देखेको छैन ।
मभित्र सोध्ने प्रश्नहरु अब सक्किसकेका छन् । मैले आफूलाई लागेको र मनभित्रबाट उठेको सबै प्रश्नको उत्तर पाइसकेको छु । केही प्रश्नहरुको उत्तर, यद्यपि ती स्वास्थ्यकर्मीहरुले बताउन सकेका छैनन् । मैले, अन्तस्करणबाट आफैँ तिनको पनि उत्तर पाइसकेको छु । बस्, मलाई अब थाहा छ( योभन्दा उता, मेरी आमाजस्तै म पनि मास छर्न पुग्नेछु । शून्यतामा । र, यहाँ लडिरहेको मेरो निस्सार शरीर, दुःखको पुट यसकारण उठिरहेको छ कि, मेरो निर्जीव शरीरको हकदार, ती मेरा परिवारले समेत मृत मेरो शरीरलाई पाउने छैनन् । यही यो रोगको वास्तविकता थियो, कोभिड १९ को ।
विश्वविद्यालयमा छँदा पढेको ‘अल्बर्ट कामु’को किताब ‘द प्लेग’ को याद आउँछ, अनायासै । वास्तविकताको निकै नजिक रहेर लेखिएको उक्त किताबले प्रकृति र प्रकोपउपर मानव समाजको असहायता एवं लाचारीलाई दर्दनाक तरिकाले देखाइएको छ । पढेपछि मभित्र हुण्डरी चलेको थियोस के उसो भए मानव जातिका निम्ति यो ग्रह निर्दयी बन्दै गइरहेको छ ? अथवा, मानव समाज नै यसको दोषी छ ? वास्तवमै, पीडा र मृत्यु नै अन्ततः मानव समाज घुमाइराखेको हुने रहेछ । हामी सबै साँच्चै, निराधार र असहाय छैन । यतिखेर, मलाई सबै ती विचारहरु सत्य लाग्न थालेको छ तर पनि हामीले, विरलै केही सिक्यौँ ?
जब नियति मृत्युको ताण्डव नाच्न थाल्छ, त्यसपछि सिंगो सहर मात्र होइन, सिंगो देश यसले निल्न थाल्छ । धर्तिउपर लासबाहेक रहने छैन । दुर्गन्धले माटोसमेत कुहिने छ । जल, थल मात्र होइन हावासमेत विषाक्त बोकेर उड्नेछन् । विगतका महामारी हामीले बिर्सिसक्यौँ र ? आज म, अस्पतालको एकांकी शैय्याउपर, अधमरो श्वास खिँचिरहँदा मेरो आँखाअघि युरोपका ती दृश्यहरु चलचित्रसम्मान देखिन थालेका छन् । जहाँ, सहरैपिच्छे प्लेगले निलेको मान्छेका लाशहरु मात्र देखिन आउँछन् । न चिहान खन्ने हातहरु देखिन्थे, न त लाश जलाउने हातहरु ।
स्वास्थ्यकर्मीहरु छिनछिनमा आइराखेका छन्, निगरानीहेतु । लाग्छ, मेरै मृत्यु पर्खिबसेका छन् यिनीहरु । छिटो(छरितो रिपोर्टपछि उनीहरु तत्काल फर्कन्छन् । म पुनः गहिरो रिक्ततामा डुब्न पुग्छु । यदि यिनीहरुमध्ये कोही ‘सर वल्डेमर मोर्देचाई वोल्फ्पÞm’ जस्ता जीवविज्ञ भैदिएको भए’, हुनसक्छ म बाँच्न सक्छु । र, अरु पनि धेरै मजस्ता बाँच्ने छन् । धन्यवाद छ, तिनीजस्ता क्रान्तिकारी जीवविज्ञलाई ।
यदि पीडाको सत्यता कसैले सुन्न सक्छन् भने म बताउँछु । श्वासप्रश्वासमा निरन्तर भैरहने घिटी(घिटी नै यस्को अन्तिम लक्षण हो । त्यसपछि लाग्न थाल्छ, नशामा रगत बग्न ढिलो हुन थालेको छ । बिस्तारै फोक्सो अस्थिर भएजस्तो अनि रगतको ढिलासुस्तीसँगै, मधुरो हुँदै गइरहेको मुटुको धड्कन ।’ हो, मैले पक्का ठानिसकेको छु, मेरो गतिहीन हुँदै गैरहेका अवयवहरुले पनि त यो लुकाएका छैनन् । मलाई बारम्बार मेरो सानो छोरीको सम्झनाले सताउन थालेको छ । एक अन्तिम दृष्टिले उसलाई नियाल्ने मेरो प्रयास, यहाँ असम्भव प्रायः छ । मलाई थाहा छ । आँशुको सिर्का बग्दै सिरानीसम्म पुग्छन्, बस ममताको मेरो संसार, सीमित बन्दछ ।
सानो नानीको आमा भएर पनि मैले कत्ति लापरवाही गरेँ ? जबकि विश्वको सतर्कताको निमित्त दिनानुदिन, रेडियो, टेलिभिजन, पत्रपत्रिका एवं सामाजिक सञ्जालहरुबाट जोगिन आग्रह गरिरहेको थियो । मलाई अहिले इटलीको एयरपोर्टबाट चीनको वुहानमा भइरहेको मानव क्षतिको समाचार हेरिरहँदा पनि एक असल, चेतनशील मानव स्वभावको प्रयोग गर्न नसकेकोमा ठूलो ग्लानि लाग्छ । दोमन गर्दैगर्दै मैले किन भेनिस शहरको त्यो भिडमा गएर मानवजात्रा हेर्न पुगेँ ? ट्रान्जिटको केही घण्टा मात्र बाँकीको त्यो समय मैले किन आफ्नो सुरक्षाहेतु सोच्न सकिनँ ? स्पेन फर्किसक्दा पनि त मैले स्वास्थ्यकर्मीकहाँ गएर आफूलाई सन्तोष राख्न चाहिनँ ।
हो, त्यो चेतनाको अभाव पक्कै थिएन । लाग्छ, त्यो फगत चेतनाको उम्लाई थियो । जसको अघि, सर्वोपरि फिक्का लाग्दछ । मैले सडकमा नाचिरहेका इटालियनहरुको जस्तै व्यंग्य रोष प्रकट गरेँ । वुहानमा भैरहेको त्यो मानव क्षतिलाई अभिमानपूर्वक नजरअन्दाज गरेँ । र, त्यही नै मेरो भद्दा मुर्ख्याइँ ठहरियो ।
टेक्नोलोजी तथा आधुनिक विकासको उच्चताले संसारलाई विश्वग्राम बनाइसकेको हामीले देखिरहेछौँ । जति(जति हाम्रो समाज विकसित हुँदैछ, त्यति(त्यति अवरोधका साँघुरा पर्खालहरु भत्किरहेका छन् । विश्वबन्धुत्वको कुरा हामी गर्छौं, भाइचाराको कुरा गर्छौं । रुढीवाद र संस्कारको धज्जी उडाउँदै, पुँजीपति बन्ने होडमा दौडिरहेका हामीले अन्ततः ब्रम्हाण्डलाईसमेत चुनौती दिन कुनै कसुर छाडेनौँ । अवस्य पनि, विज्ञानले समयलाई यसरी फेरिदियो, हामीले आफ्नो समुदायभन्दा संसारमा, अर्को चिजलाई उँचो ठान्नै सकेनौँ । परिणाम, प्रकृतिले हामीलाई आफ्नो औकातमा झारिदिसकेको छ, नराम्रोसँग ।
मेरो शैय्याअघि टेलिभिजन सेटमा, इटालीको दुर्दान्त हालतको चित्रण गरिँदैछ । मेरा आँखा एक तमासले नियालिरहन्छन् । क्षणभरमै यसको चपेटामा परेर ज्यान गुमाउनेको संख्या मात्र वृद्धि भैरहेको छैन त्यहाँ, लडिरहेका लाश उठाउने हातहरुको पनि अभाव परिरहेको देखिन्छ । नियतिको योभन्दा क्रुर श्राप के हुन सक्ला ? के अझै पनि हाम्रो चेत खुल्न सक्दैन ? घरभित्र आफूलाई थुनी, झ्यालमा बसी तिनले गाइरहेको गीत सुन्दा लाग्छ, त्यो उनीहरुको अन्तिम गीत हो । त्यसपछि तिनीहरु फर्कनेछन् उही नियतिको बाटोमा । धन सम्पत्ति सबै फ्याँकिदिएर संसारलाई, दुःख र मृत्युको उपदेश दिँदै ।
मलाई अनायासै, मेरो सानी छोरीको निम्ति केही छोडेर जान मन लाग्छ, केही लेखेर जान मन लाग्छ । उत्तिनैखेर, मेरो आँखाअघि मलाई लाग्दछ–मेरो प्यारी, निर्दोष परी झुल्किएकी छे । ओठमा उही मुस्कान, आँखामा उही चमक लिएर । म भित्रको ममता जुर्मुराउँछ यद्यपि लाशजस्तै भैसकेको मेरो शरीर, शैय्यामाथि मुर्दा परेको छ ।
प्यारी छोरी तिमीलाई,
जन्म जान्मान्तरको असिम माया
अनि शुभकामना
तिमी अब आउने जुलाईमा पाँच वर्ष पुग्नेछौ । मबाहेक तिम्रो त्यो जन्मउत्सब मनाउन घरमा सबै उपस्थित होऊन् । मेरो चाहना छ ।
छोरी, मेरो अनुपस्थितिमा पनि तिमीले कहिल्यै मायाको कमी महसुस गर्नुपर्ने छैन, यदि मेरा आफन्तहरुले सन् ५४१ मा संसारभर फैलिएको प्लेगबाट तिनका पुर्खाहरुले आफूलाई बचाएर आएजस्तै आफूलाई बचाउन सके भने अथवा सन् १९१८ को स्पेनिस फ्लुबाट बची(बचाउ गरेर आएजस्तै तिनले फेरि पनि आफूलाई बचाए भने ।
छोरी, पुर्खाले आर्जेको सम्पत्तिको हकदार तिमी एक्ली छौ । संसारमा सम्पत्तिले भ्याउने हरेक सम्भावना तिम्रो पाउ तल आइपुग्न सक्छ । तर तिम्रो यो दुःखी आमाको कामना छ, जब प्रत्येकपल्ट तिमीले वस्तुको अघिल्लो पाटो नियाल्दा त्यसको पछिल्लो पाटोलाई पनि छाम्ने गर्नु ।
यदि तिमीले थोरैमा पनि सन्तुष्टि देखायौ भने म आशा गर्छु तिमीले जीवनलाई सार्थक बनाउनेछौ । नारीसुलभ प्रेम त तिमीमा हुने नै छ । जीवनको कुनै मोड, तिमीलाई निर्णय वहन गर्न भारी पर्यो भने सम्झनू त्यतिखेर, छामी आएको पछिल्लो पाटोलाई, खुद गई हेर्नु आवश्यक भैसकेको छ ।
अन्त्यमा, प्रिय छोरी यो कहिल्यै नभुल्नू, हरेक प्राणीमा जन्मसँगै अन्त हुने अपरिहार्यता छ । हरेक प्रश्नसँगै उत्तर आउने गर्दछ । आफ्नो अध्याय पूरा गरी फर्कनू । यही नै चेतनशील जगतको नियति (कर्म अथवा धर्म ) हो ।
तिमीलाई सधैँ सम्झिरहने
तिम्री आमा.।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies