काठमाडौं : प्राध्यापक मोहम्मद रमजान अलि मियाले कतार नेपालको आर्थिक, भौतिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्न तयार रहेपनि नेपालमा रहेको नीतिगत अस्थिरताका कारण त्यसले मूर्त रुप पाउन नसकेको बताएका छन् ।
करिब १३ वर्ष कतारमा बसेका प्राध्यापक मियाले लेखेको संस्मरणात्मक पुस्तक ‘मैले देखेको कतार’ का वारेमा जानकारी दिन सोमबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षेत्रफलका दृष्टिले सानो मुलुक भएपनि कतार आर्थिक तथा कुटनीतिक दृष्टिले महत्वपूर्ण रहेको बताए ।
हाल साढे तीन लाख नेपाली कार्यरत रहेको र भविश्यमा पनि लाखौ नेपाली रोजगारीका लागि जाने उक्त मुलुकसँग सुमधुर सम्वन्ध राखि लाभ लिने विषयमा नेपाल सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ ।
आधुनिक कतारको निर्माणमा नेपालीहरु ठूलो योगदान रहेको भन्दै उनले नेपालबाट हुने उच्चस्तरीय भ्रमणका बेला कतारका नरेशले नेपालीहरुले गरेको योगादनकोे खुलेर प्रशंसा गर्ने गरेको उल्लेख गरेका छन् । नेपाली नागरिक इमान्दार, सोझा र मिहेनेती भनेर प्रशंसा गर्ने गरेकोले कतार नेपाल र नेपालीका पक्षमा रहेको रहेको आफुलाई अनुभुत भएको उनले टिप्पणी गरे ।
‘एकै खालको गल्तीमा अन्यदेशका कामदार र नेपाली कामदारहरुलाई कतारमा गरिने व्यवहार फरक छ,’उनले भने, ‘त्यही गल्तीका लागि अन्य देशका कामदारहरुलाई कारवाही गर्ने गरिएको छ भने नेपालीलाई सद्भाव र सहानुभुतिपूर्वक तत्काल विना कारवाही छोड्ने गरिन्छ,त्यसलाई मैले नेपालीले देखाएको इमान्दारीता र मेहनतको प्रतिफल ठानेको छु ।’
प्रकाशोन्मुख कृति ‘मैले देखेको कतारमा’ लेखक मियाले आर्थिक सम्वृद्धिसँगै कतारले धर्म र संस्कृतिलाई उच्चसम्मानका साथ आत्मसात गर्ने गरेको प्रगति सिंगो अरब जगतका लागि अनुकरणीय रहेको बताए ।
पुस्तकमा आफूले सन् १९७१ मा स्वतन्त्र हुनुअघि र पछिको कतार, पूर्ण राजतन्त्र रहेको उक्त मुलुक प्राचीनकालमा मोतिको उत्खनन र व्यापारबाट कसरी प्रसिद्ध भयो ? अहिले तेल तथा ग्यासको निर्यातबाट कसरी लाभ हासिल गरिरहेको छ ? सन् २०२२ को विश्वकप फुटबलको सफलतापछि कतारको पहिचान कहाँ पुग्दैछ ? भन्ने विविध पक्षहरुलाई समेटेको बताए ।
विगतमा कतारस्थित नेपाली दूतावास अपेक्षित प्रभावकारी नभएको, दूतावास लामो समय राजदूतविहीन भएकोजस्ता पक्षदेखि स्वतन्त्रता अघि चर्को भोकमरी सामना गरेको कतारले यस पटकको विश्व्यापी कोरोना महामारीका क्रममा ८० देशलाई गरेको सहयोग, तीन वर्ष यताको छिमेकीले गरेको नाकाबन्दी, हवाई उड्डयनको विकास, कतारी उँट र अरेवियन घोडा आदिवारे खोज अनुसन्धान र भोगाइको समष्टिका रुपमा पुस्तक पाठक समक्ष आउने उनले जानकारी दिए ।
घोष्ट राईटिङ नेपालले प्रकाशन गर्ने जिम्मा लिएको पुस्तक केही समयपछि पाठक समक्ष आउने लेखक मियाले जानकारी दिए । कतारमा भएका पछिल्ला घटनाक्रमका कारण पुस्तक लेखन तथा सम्पादनमा समय लागेको पनि उनले बताए ।
शुभकामना मन्तव्यका क्रममा मध्यान्ह राष्ट्रिय दैनिक सम्पादक मदनकुमार श्रेष्ठले लेखकलाई बधाई ज्ञापन गर्दै प्रकाशोन्मुख पुस्तकको सफलताको कामना गरे । कतार र नेपालको सम्बन्ध सुमधुर रहेकोले सानातिना घटनाले प्रभावित नहुने सम्पादक श्रेष्ठले उल्लेख गरे ।
हालैको एक घटना उदृत गर्दै उनले कतारी पक्षले नेपालबाट कामदार छनौट गर्ने विषयमा परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारी गराएर नै आएको तर परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई त्यस विषयमा जानकारी नगराउँदा दुर्घटना जस्तो देखिएको बताए । तर त्यसले नेपाल र कतारको सम्वन्धमा प्रभाव पार्न नहुने उनको भनाइ थियो । कार्यक्रममा वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष हरि बहादुर थापा तथा श्रम रोजगार पत्रकार समाजका अध्यक्ष सुनिल न्यापाने पनि प्रकाशोन्मुख कृतिको सफलताका लागि शुभकामना दिए ।
कार्यक्रममा घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले सभापतिको आशनबाट बोल्दै कसैको पनि कृतिले उसलाई अमर बनाउने बताए । कार्यक्रमको संचालन पत्रकार राजाराम गौतमले गरेका थिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies