काठमाडौं : ‘फोबिया’ अर्थात् डर । संसारका धेरै मान्छेलाई धेरै प्रकारको अदृश्य डर अर्थात ‘फोबिया’ हुने गरेको छ । चिकित्सा क्षेत्रमा कुकुर देखेर डराउने रोगदलाई साइनोफोबिया, भीडभाड देखेर डराउने रोगलाई अकोलोफोबिया, नाङ्गो देखेर डराउने रोगलाई न्युडोफोबिया र पानी देखेर डराउने रोगलाई अक्वाफोबिया भनेर जानिन्छ । डराउने रोग अर्थात् फोबियाका धेरै प्रकार हुने गरेका छन् । संसारमा प्रत्येक सय जनामध्ये दश जनालाई कुनै न कुनै डर अर्थात् ‘फोबिया’ले सताउने चिकित्सक बताउँछन् ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरीले आफुलाई फोटोदेखि डर लाग्ने बताउँछन् । चौधरी यसपटकसहित दोश्रो पटक मन्त्री बनेका हुन् । २०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा कृषि मन्त्री भएका चौधरी माओवादी जनयुद्धको अन्त्यतिर ब्रिगेड कमाण्डरसमेत भएर युद्ध मोर्चामा खटिएका थिए ।
तर दुई हप्ताअघि श्रम मन्त्रीमा नियुक्त भएका चौधरीले आफुसँगै फोटो खिच्नेदेखि डर लाग्ने बताए । सोमबार बधाई तथा शुभकामनाका लागि गएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालमा आवद्ध व्यवसायीसँग सामूहिक तस्वीर लिने क्रममा मन्त्री तस्वीर लिने भनेपछि एकछिन झस्किए ।
उनले भने, ‘सामूहिकरुपमा खिच्ने भए खिचौं तर एकलरुपमा म कसैसँग फोटो खिच्दिनँ । वैदेशिक रोजगारमा मान्छे बेचेर पैसा कमाउँछन् भन्ने सुनेको थिएँ । तर यहाँ आएपछि त फोटो नै बेचेर पैसा कमाउनेहरुको कमी रहेनछ भनेर चाल पाएँ । मसँग टाँसिएर फोटो खिच्ने अनि बाहिर लगेर म मन्त्रीसँग नजीक छु काम गराइदिन्छु भनेर चलखेल गर्ने गरिएको पाएँ, त्यसैले मलाई फोटो भनेपछि डर लाग्ने गरेको छ ।’
त्यसक्रममा मन्त्री चौधरीले एकलरुपमा तस्वीर नखिच्ने मात्र होइन व्यवसायी वा अन्य पक्षसँग एकल रुपमा भेटघाट समेत नगर्ने बताए । उनले भने, ‘जे कुरा हुन्छ संस्थागतरुपमा आउनु होला व्यक्ति व्यक्तिलाई नभेट्ने मेरो नीति छ । शुभकामना तथा बधाईका लागि पुगेका व्यवसायीहरुले पनि मन्त्रीको नीति ठीक रहेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री बनेर आउनेहरुले शुरुमा यस्तै सामूहिक छलफल र निर्णयको पक्षपाती भएको बताउने गरेका छन् । तर समयबित्दै जाँदा उनीहरु त्यस विपरीत चल्ने गरेका छन् ।
मन्त्रीको कार्यकक्षबाट नबाहिरिँदै एक व्यवसायीले भने, ‘यसअघि मन्त्री भएका गोकर्णराज विष्टले पनि यस्तै कुरा गर्नुहुन्थ्यो तर पछि मलेसियाको सन्दर्भमा उहाँले इच्छाएको व्यक्तिलाई व्यापार दिन ‘भेण्डर परिवर्तन’को लविङमा लागेको आरोप लाग्यो । अहिलेका मन्त्रीले शुरुमा देखाएको प्रतिवद्धता मन्त्रालयबाट बाहिरिँदासम्म कायम राख्न सक्नु पर्छ । नेपालका मन्त्रीका लागि यो कठिन विषय हो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies