मुलुकमा संवौनिक र राजनीतिक संकट निम्तिए पछि चर्चामा आएको अर्को शब्द हो– सेटिङ । त्यसो त सेटिङ शब्द नेपाली राजनीतिमा नौलो होइन । विशेषगरी भ्रष्टाचारका सन्दर्भमा सेटिङको चर्चा हुने गरेको थियो । भ्रष्टाचार गर्न दलहरु बीच, कर्मचारी संयन्त्र बीच महासेटिङ र राष्ट्रिय सहमति नै जुट्ने गरेको चर्चा हुने गरेको थियो । अहिले फेरि संसद् विघटन गर्ने असंवैधानिक कदमका पछाडि सेटिङको आशंका गरिएको छ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका अंगहरुबीच सेटिङ मिलाएको विपक्षीहरुले आरोप लगाउने गरेका छन् । विशेषगरी सर्वोच्च अदालत, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा सरकारको सेटिङ हुनसक्ने भन्दै विभाजित नेकपाका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।
यदि, आरोप जस्तै सेटिङ नै हो भने त्यो संविधानको बर्खिलाप हो । संविधानको सर्वोच्चता रहेको मुलुकमा शक्ति पृथकीकरणको सिद्धान्त अपनाइएको छ । विशेषगरी संवैधानिक अंगहरु स्वतन्त्र हुनुपर्छ । यसले मुलुकमा शक्ति सन्तुलन कायम हुन्छ । सर्वोच्च अदालतले कार्यकारी निकायलाई संविधान मान्न बाध्य तुल्याउनेछन् । विवादित निर्णयहरु कानून सम्मत् सच्याउने पनि सर्वोच्च अदालतले नै हो । त्यसै मानवअधिकार आयोग, अख्तियार, निर्वाचन आयोग लगायतले स्वतन्त्र ढंगले काम गर्नुपर्छ । त्यसैले संवैधानिक नियुक्ति सरकार नभएर संसदले गर्ने गरेका छन् । संवैधानिक निकायको सिफारिस गर्न समेत कार्यकारी निकाय, व्यवस्थापिका, न्यायलय र विपक्षी दलका प्रमुखको समेत सहभागिता रहन्छ । तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर ओलीले व्यवस्थापिका प्रमुख र विपक्षी दलका नेता नभए पनि नियुक्ति नरोकिने बाटो खोलेका छन् ।
यस्तो बेला सेटिङ भएको हुनसक्ने आशंका गलत हुँदैन । तर, यदि सेटिङ रहेनछ भने चाहिँ यस्ता आरोप र अभिव्यक्तिले राज्य संरचना कमजोर बनाउनेछ । सर्वोच्च अदालतको निष्ठालाई हलुका रुपमा लिइनेछ र समग्रमा न्याय निरुपणको विषय कमजोर हुनेछ । यसले कानूनी राज्यको सिद्धान्तलाई सघाउ पुर्याउँदैन । त्यसो हुँदा यस्ता शब्दहरु प्रयोपमा ख्याल गरिनुपर्छ । होइन यदि आरोप सही छन् भने कार्यकारी निकाय सच्चिनुपर्छ । संविधानको भावना बिपरीत गरिने कार्य र लगाइने आरोप समेत गलत हुन जान्छ । यसतर्फ गम्भीर भएर सोच्न ढिलाइ गर्न हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies