काठमाडौं : नेपाल र इजरायलबीच केयर गिभर वृद्धवृद्धा अशक्तको हेरचाह गर्ने कामका लागि नेपाली कामदार पठाउने सम्वनधी प्रोटोकलमा हस्ताक्षर भएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल तथा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गरे । प्रोटोकल अनुसार इजरायलमा केयर गिभरका काम गर्ने गरी ५ सय नेपाली कामदार जानेछन् ।
लामो छलफलपछि गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गरेका थिए ।
यसअघिको यस्तै प्रकृतिको सम्झौता अनुसार नेपाली कामदार इजरायल जान नपाएका भएपनि अब दुई देशका सरकारी निकायबीचको संलग्नता (जीटुजी) मोडलमा कामदार पठाइने छ । करोडौं लगानी गरेका निजी क्षेत्रका म्यानपावर व्यवसायलाई कामदार पठाउने प्रकृयाबाट बाहिर राखिएको छ ।
प्रोटोकल हस्ताक्षर कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले केयर गिभरका रुपमा नेपालीका लागि रोजगारी खुला गरेकोमा इजरायललाई धन्यवाद दिए । नेपालीलाई इजरायलको कृषि क्षेत्रको सीप र ज्ञान हासिल गर्न कृषि क्षेत्रमा पनि रोजगारीको प्रबन्ध भएमा त्यसले नेपालको कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपालका लागि इजरायली राजदूत खनान गोडेरले इजरायलमा रोजगारीका लागि जाने नेपाली श्रमिकले इजरायली नागरिकले सरह सेवा सुविधा प्राप्त गर्ने प्रतिवद्धता जनाए । उनले लामो समयदेखि रोकिएको नेपाली श्रमिक इजरायल जाने प्रकृया शुरु हुन लागेको र त्यसले आफुलाई खुशी तुल्याएको भन्दै कोभिड–१९ को महामारीका बीचमा पनि दुवै देशका सरकारी अधिकारीहरुले निरन्तर प्रयत्न गरेर प्रोटोकलमा हस्ताक्षर गर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।
विभागका महानिर्देशक दाहालले दुई देशको सरकारी तहबाट नै कामदार आदानप्रदान गर्ने गरी गरिएको सम्झौता कार्यान्वयनका लागि विभागले आन्तरिक कार्यविधि बनाई अनलाइन मार्फत आवेदन दिने व्यवस्था गर्ने र नेपाली र अंग्रेजी दुवै भाषामा आवेदन दिन सकिने जानकारी दिए ।
सरकारले खाडी र मलेसिया रोजगारीमा जाँदा रोजगारदाताले नै जहाज टिकट तथा भिसा शुल्क व्यहोर्नुपर्ने नियम लगाएको छ । तर इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क भने कामदार आफैँले तिर्नुपर्ने छ । इजरायलमा सरकारी संयन्त्र (जिटुजी) मार्फत नै कामदार पठाउने हुँदा पनि सरकारले फ्री भिसा, फ्री टिकट प्रणाली लागू गर्ने अडान लिन नसकेको भन्दै सरकारको आलोचना हुने गरेकोे छ ।
इजरायलले अन्य मुलुकहरुसँग फ्री भिसा तथा फ्री टिकटको सुविधा नदिएकाले नेपाली कामदारलाई फ्री भिसा तथा फ्री टिकटको सुविधा दिन नसकेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । ५ वर्ष करार अवधि रहने इजरायल रोजगारीमा जाने श्रमिकले आउनेजाने खर्च, बीमालगायतका रकम आफैं तिर्नुपर्ने उल्लेख गरिएको छ । हस्ताक्षर कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत डा. शाक्य, मन्त्रालयका सचिव तोयम राया लगायतको उपस्थिति रहेको थियोे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies