संसदीय व्यवस्थामै असहमति जनाउँदै भूमिगत राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लवले शनिवार बक्तव्य जारी गरेर वार्तामा बस्न तयार भएको सन्देश दिएको छ । महासचिव चन्दले बक्तव्य मार्फत् वार्तामा बस्न सकारात्मक रहेको जनाएका हुन् । यो समूहलाई सरकारले दुई वर्ष अगाडि प्रतिबन्ध लगाएको थियो । राजनीतिक गतिविधिमै प्रतिबन्ध लगाउने सरकारको निर्णयको त्यसैबेला चर्को विरोध भएको थियो । तर, सरकार आफ्नो निर्णयबाट पछाडि हटेन । प्रतिबन्ध पछि झण्डै एक हजारको संख्यामा यो समूहका नेता तथा कार्यकर्ता पक्राउ ग¥यो । हेमन्तप्रकाश वली, खड्गबहादुर विश्वकर्मा, माइला लामा, उमा भुजेल लगायत उच्च तहका नेताहरुलाई पटकपटक गिरफ्तार गरियो । तर, आवश्यक प्रमाणको अभावमा यी नेताहरु छुट्ने र पक्राउ पर्ने क्रम चलिरह्यो ।
गतिविधिमै प्रतिबन्ध लगाए पछि एघार जनाको त मृत्यु नै भएको छ । केही समय अगाडि मात्रै मोरङका एक शिक्षकको हत्या गरिएको थियो । केही भिडन्तमा र केहीको बम बिस्फोट गर्ने नजानेर मृत्यु भएको छ । नख्खुस्थित एनसेलको कार्यालय अगाडि बिस्फोट गराउँदा एक सर्वसाधरणको समेत मृत्यु भएको थियो । तर, केही समय यताको अनौपचारिक सम्वाद पछि विप्लव बार्तामा बस्न तयार भएको छ । यसलाई सरकारले सकारात्मक निर्णय भनेको छ । अब चन्दले बार्ता टोली बनाउने तयारी गरेको छ । चन्दले वार्ता टोली बनाए लगत्तै सरकारले पनि बार्ता टोली बनाउने भएको छ । तर, त्यसअगाडि सरकारले चन्दका केही अनौपचारिक प्रस्तावअनुसार कदम चाल्ने तयारी गरेको छ । अर्थात्, चन्द समूह वार्ता मार्फत् शान्तिपूर्णं राजनीतिका लागि तयार हुने अनुमान गरिएको छ ।
सरकारले पनि चन्दले अब शान्तिपूर्ण राजनीतितर्फ अगाडि बढ्ने विश्वास गरेको देखिन्छ । अर्थात्, शान्तिपूर्ण वार्ताकै माध्यमबाट राजनीतिक एजेण्डा पूरा गर्न तयार भए र चन्द त्यसका लागि तयार हुनु सकारात्मक हो । यसले संकटपूर्ण बन्दै गएको राजनीतिक परिस्थितिमा थोरै सकारात्मक सन्देश जाने प्रष्ट छ । हिंसा आफैमा निन्दनीय हो । मुलुकले दश वर्षे जनयुद्ध र त्यस अघि र पछिका केही पटक सशस्त्र राजनीतिको मूल्य चुकाइसकेको छ । त्यसैले केही ढिलोगरी भएपनि बार्ता मार्फत् शान्तिपूर्ण राजनीतिक मार्ग कोरिनु स्वागतयोग्य कुरा हो । तर, वार्तालाई सार्थक बनाउनुपर्ने चुनौती भने दुवै पक्षसँग छ । वार्ता सार्थक बनाउनलाई दुवै पक्षले एक हदसम्म अडान त्याग्नुपर्नेछ । सम्झौता आफैमा अडानबाट पछि हट्दै बीचमा आउनु हो । जुन प्रयास सरकार र चन्द तर्फबाट हुँदा नै मुलुकलाई सही मार्गमा लैजान बल पुग्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies