–ख्यामनारायण मानन्धर
बौद्धिक जमात र चेतनशील नागरिकहरु राज्यका अमूल्य निधी हुन् । जब राज्यमा राजनैतिक अस्थिरता र सत्तामा स्थायित्व देखिँदैन, तब देशका नागरिकहरुले राज्यबाट शान्ति, सु–व्यवस्था र सु–शासनको अपेक्षा राख्नु व्यर्थ नै हुन्छ । नेपालको सन्दर्भमा इतिहासका विभिन्न कालखण्डदेखि नै राज्य सत्तामा अस्थिरता र आपसी मतभेदहरु रहे । राणाकालिन अवस्था जसलाई जहानिया शासनका रुपमा चित्रित गरिन्थ्यो, पञ्चायती शासन व्यवस्था जसलाई एकात्मक शासन प्रणाली भनेर भनिन्थ्यो । जनचेतनाका आधारहरु स्थापित हुँदै गर्दा तत्कालिन राजनीतिक प्रतिवन्धका बाबजुद पनि जनआन्दोलन कै आधारमा राजतन्त्रात्मक पञ्चायती शासनको अन्त्य भएको सत्य हो । नेपाली जनताहरुले बहुदलिय प्रजातान्त्रिक शासन व्यवस्था अंगिकार गर्दै गर्दा तत्कालिन माओवादीको सशस्त्र युद्ध र नेपालका प्रजातान्तिक राजनीतिक शक्तिहरुको संयुक्त बलिदानी र योगदानलाई नकार्न सकिँदैन । जुन अभुतपूर्व उपलब्धि थियो ।
वि.स. २०६२/०६३ को जनआन्दोलनको उपलब्धिका रक्षार्थ तत्कालिन सयुंक्त संघर्षका मोर्चाहरु वर्तमानमा चुकेका छन् । नागरिकहरुमा राजनीतिक रंग लेपन भएर जिउनु नै पर्ने अहिलेको तीतो सत्य पनि छ । यदि राजनीतिक झोलाले व्यक्तिगत पहिचान स्वीकार गर्न सकेनन् भने युवाहरुले निरन्तर वैदेशिक रोजगारीको यात्रालाई आत्मसाथ गर्नैपर्ने देखिन्छ । वैदेशिक रोजगारी आम युवाहरुको रहर नभएर बाध्यता थियो र वर्तमानमा पनि छ । तर, दुःखद पक्ष फगत मलेसियालगायत खाडीका केही देशहरुमा लाखौंका संख्यामा रोजगारी गर्न गएका श्रमिकहरु वर्तमान राजनीतिक नेतृत्वका मुखारविन्दु बन्नु सिवाय अन्य केही भएन ।
देश र समयका लागि त्योभन्दा गम्भीर र दुरगामी असर पर्ने भनेको शैक्षिक र बौद्धिक जनशक्तिको पलायन हो । यद्धपि सयौंको संख्यामा बौद्धिक जनशक्तिहरु युरोप–अमेरिकालगायत देशहरुमा अध्यानका लागि गएका छन् । तर उनीहरुबाट पुनः स्वदेश फर्केर देश र जनताका लागि आफूले दिन सक्ने योगदान राज्यले गुमाएको छ । अपितु उनीहरुले राज्यको नागरिकतासमेत त्याग गर्ने गरेका छन् । तर, लाखौंका संख्यामा रहेका खाडी मुलुकका श्रमिक युवाहरुले देशको पानी र माटोलाई कहिल्यै भुल्ने गरेका छैनन् ।
अहिले देशमा जनताले स्थायी सरकार र सु–शासनका लागि भनेर निर्वाचनका माध्यामबाट सत्ताको बागडोर दिएर पठाएको नेकपाको बलियो सरकार छ । सत्ताधारी पार्टीको आन्तरिक खिचातानी, सत्तालोलुपता र भागबण्डाको प्रतिशोधको सिकार नेपाली जनता भई दिनुपर्ने परिस्थिति बनेको छ । कांग्रेसलगायतका सत्ता सञ्चालकहरुको तत्कालीन समयको अक्षमता र अकर्मण्यता नै हिजोको परिणति थियो । त्यसैके परिणाम आज जनताले यो सरकारलाई सत्तारोहण गराएका हुन् । एउटा समान्य र जिम्मेवार नागरिकको हैसियतमा आवाजहरुलाई बुलन्द गर्ने अधिकार नेपालको संविधानको वाक स्वतन्त्रता भित्रै पर्दछ । तर, यसरी आवाजहरु मुखरित गरिरहँदा सम्मानित संस्थाहरुमाथिको आक्षेप हो भन्ठान्नु र सामाजिक सञ्जाल कानुन २०७५ ले बाँध्न खोज्नु दुरासयपूर्ण हो ।
सन्दर्भ वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरुको भविष्य र उनीहरुको कार्यक्षेत्रमा वर्तमान प्रधानमन्त्रीले पटक पटक बोलेका बोलीहरुको कटाक्ष हो । म त भन्छु प्रधानमन्त्रीका यी भनाइहरु शान्त तलाउमा पानी परेका समयमा उठेका फोकाहरु हुन, जुन पानीको समाप्तीसँगै फुटेर बिलाउँछन् । वर्तमान सरकारप्रतिको जनअपेक्षा नेपाली जनताहरु विकास र स्थायीत्वप्रतिको आस्था र विश्वास थियो । तर एउटा राष्ट्र प्रमुखले आम वैदेशिक रोजगारमा रहेका युवाहरु र तिनको भविष्यमाथि नजरअन्दाज गर्दैै गैर–जिम्मेवार तरिकाले बोल्नु, दुत्कार्नु वाललकार्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यहाँ अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा राजनीतिक उच्च पद धारण गरेका व्यक्तिले छेपाराले झैं रङ्ग बदल्दै वा सार्वजनिक स्थलबाटै खाडीका युवाहरुको भविष्यलाई समयाअवधि तोकिदिनु दुर्भाग्यपूर्ण छ ।
एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीबाट घोषित मन्तव्यलाई सत्य मान्य हो भने अबको १० वर्ष वैदेशिक रोजगारीको अन्त्य निश्चित प्राय छ । जिम्मेवार व्यक्तिले मलेसिया, साउदी अरब, कतार, कुवेत, दुवईमा नेपाली कामदारहरुले ती देशहरुको चरम श्रमदान गरे, बनाइदिए र उनीहरु विकासको उच्च अवस्थामा पुगे, अबको ८–१० वर्षमा उक्त देशहरुमा थप विकासको आवश्यकता नपर्ने र सबै नेपालीहरु स्वदेश फर्कनु पर्ने भन्ने आशयको अभिव्यक्ति थियो । वर्तमान प्रधानमन्त्री त्यस्ता ज्योतिषि रहेछन र थाहा रहेछ विकासको अन्तिम विन्दु हुन्छ भन्ने ।
हुन त तत्कालिन नेकपा एमालेलगायत अन्य राजनीतिक दलहरुले युवाहरुलाई वैदेशिक रोजगारमा नपठाउने स्वदेशमै रोजगारी दिने भन्ने सबैको घोषणा पत्रको तात्विक आधार थियो । यसरी घोषणा गरिएका घोषित कार्यक्रमहरु इमान्दारितापूर्वक लागु भएको भए आजका दिनमा करिब ४५ लाख युवाहरु खाडीमा श्रम पसिना बेच्न जाने अवस्था आउने थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बकेका अनगिन्ति बकपत्रहरु समाचार र कागजका पानाहरुमा मात्र सीमित देखिन्छन् । वार्षिक करिब ३ लाख युवाहरु वैद्यानिक तवरले रोजगारीका लागि मलेसियालगायत खाडी देशहरुमा जाने गर्दथे । तर कोभिड–१९ का कारण उक्त रोजगारी बन्दप्राय छ, यता नेपालका श्रम बजारमा त्यति नै मात्रामा थप युवाहरु आन्तरिकरुपमा नयाँ रोजगारीको खोजीमा बजारमा छन् । अबका ८–१० वर्षमा हाल विदेशमा कार्यरत युवाहरु जति नै बेरोजगार युवाहरु आउँछन् । तिनको दीर्घकालिन व्यवस्थापन छैन, न त कुनै निश्चित खाका वा योजना नै छ । नेपालमा कति बेरोजगार युवाहरु रहेछन् भन्ने प्रमाण हालैका सत्तापक्ष वा इतर पक्षका राजनीतिक कार्यक्रममा उपस्थित हुने भिडले नै ईङिगत गर्दछ । साथै अबका ८ वर्ष पछि नेपाली युवाहरुलाई खाडीका देशहरुले रोजगारी दिने भन्ने पनि ग्यारेन्टी छैन किनभने नेपाली युवाहरु खाडीमा थ्रीडीका रुपमा परिचित छन् । तर त्यहाँको विकासका आधार र प्रविधिको विकासलाई आँकलन गर्दा अबका दिनमा दक्ष जनशक्ति चाहिन्छ जसका लागि नेपाली युवाहरु सक्षम देखिँदैन । सायद त्यसैले होला प्रधानमन्त्रीबाट वैदेशिक रोजगारीमा रहेका युवाप्रतिको दुत्कार, ललकार वाकटाक्ष त्यो पनि हुन सक्छ ।
वर्तमान अस्वस्थाको यी र यस्ता राजनीतिक खेल नेपाली युवाहरुलाई सत्ताको भ¥याङ नै बनाएका छन् । यहाँ कुनै पक्षहरुबाट कानुनको सार्वमान्य सिद्धान्तलाई स्थापित गरिएको छैन । यो देशको कानुन निरिह जनताहरुमा मात्र परिलक्षित छ । हतकडी र जेल नेल तिनीहरुमा नै छ जसको आवाज पहुँच शुन्य र बन्दप्राय छ । यहाँ साइवर सेनाहरु टोल टोलमा स्थापित गराइएका छन् जसका लागि साइवर कानुन लाग्दैन । तर राज्यको संस्थाको नभई प्रवृत्तिको विरोध गर्दा घरबाटै गिरफ्तारी दिनु पर्ने अवस्था छ । सत्तापक्षकै गुणगान गाइदिनुपर्ने नगरे कानुनको धारा–उपधारा देखाएर तर्साइन्छ । प्रधानमन्त्रीको संसद विघटन गैर संवैधानिक मात्र नभइ अनाधिकृत पनि थियो भन्नेहरुका आवाजहरु थुन्ने प्रयासहरु भए ।
राज्य सत्ता वा प्रतिपक्षका राजनीतिक दलहरु अबका दिनहरुमा सत्ता समिकरण वा आरोप प्रत्यारोपको सौदावाजीभन्दा जनता र युवाहरुका लागि समयमै ध्यान दिएनन् भने यो प्रणाली कै विरुद्धमा सडकमा नआउलान भन्ने छैन । देशमा विकास निर्माण र राजनीतिक स्थायीत्वमा नसोच्ने हो भने यो देशको भविष्य दशकौं वर्ष पछाडि पर्ने र युवाहरु खाडीमा मात्र नभइ छिमेकी भारतले पनि आश्रय दिन नसक्ने अवस्था पुग्ने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies