-राजनारायण राई, सोनादा, दार्जीलिङ्ग
रातभरि मुसलधारे पानी परिरह्यो । म झिम्मीक्क सुत्न सकिन । मेरी अन्तरी पनि सुतिनन । मन भरि पिर आज चाहिँ घरभित्रै पुरिएर सकिने रहेछौं भन्ने लागिरह्यो । कति सुत्ने प्रयत्न गर्यौं तर सफल बनेन । ठ्याक्कै आँखामा निन्द्रा आएन । एउटै कुरा त्यतिबेला मनमा बाँचिन्छ कि बाँचिन्न भन्ने मात्र रहिरह्यो । एक घर थियो, पुरानो । अर्को घर मुनि भिर थियो । त्यसैले हो कि नासिन्छ कि त बाँचिन्छ भन्ने भयले उकुस मुकुस लागिरह्यो । यतिकै रात ढल्दै गयो । तर हुरि पानी भने रोकिएकै थिएन ।
भाले बास्न थाल्यो र विस्तारै–विस्तारै मिर्मिरे उज्यालो देखापर्नु थाल्यो । मेरो मनभरि उकुसमुकुस घर वरिपरि चिहाउनु मन लाग्यो । त्यतिबेला विचरी अन्तरी चाहिँ भुसुक्कै निदाएछिन् ।
यतिबेला भने पानी थामिसकेको थियो । हावा मन्द मन्द चलिरह्यो चलिरह्यो केही बेरसम्म । म भने उठेर मुख नधोई, घर वरिपरि घुमे । घर ठिकै छ । छानु पनि ठिकै छ, भान्सा घरको नयाँ तिरपल चाहिँ ह्वाङ्गहुङ्ग बाङ्गबुङ्ग पारिदिएछ । सँगै भान्साघरभित्र सिमसार बनेछ । हतार–हतार पानी फेके । फाटेको तिरपाल दुःख गरि मिलाईवरी भान्साघरमा ओड़ाईदिए । त्यतिबेलासम्म छिमेकीहरू सबै उठी आ–आफ्नै घरहरू जाँचीरहेको थियो ।
ओल्लो घर पल्लो घर सबै ठिकै रहेछ । तर, माथिल्लो गाउँको मनेको घर मुनि पर्खाल धस्कीएर बिजोगै परेछ । तल्लो गाउँको श्यामेको घरमा सिलटुम्बुरको रुखै घर्लप्पै पसेर विपाद गरेछ । धन्न मान्छे बाँचेछ । अरे भनी दुःखद कुरा सुनेर म पनि कुदेर गए । श्यामेको घरतिर साँच्चै हो त रहेछ । आधा रुखले घर थिचिरहेको रहेछ ।
केही क्षणमा गाउँले झुप्पा–झुप्पा पर्छ । सबैजना तल्लो गाउँ र माथिल्लो गाउँ कुदिहिँड़छ । मैले कुरै नबुझे पछि मेरो छेउमा उभिरहेको छिमेकी मामालाई सोधें–‘हन ! मामा किन यति साह्रै कुदेको नि केटाहरू ?’
विचरा मामाले पनि निःस्वार्थ झ्वाट्टै उत्तर दिईहाल्छन् ‘भान्जो ! हिजो रातभरिको हावा पानीले क–कसको कति क्षति भयो यही बिर्चानु, लेखाजोखा गर्नु विभागीय मान्छे र राजनीतिक नेताहरू आएको छन् अरे । र, आ–आफ्नो रिपोर्ट पुराउनु जाँदैछन् । बरू जाऊ भान्जो तिमी पनि यसो कुरा बुझ कतै अलिकति सहयोग मिल्छकी ।’
मलाई त झनक्क रिस पो उठ्यो मामाको कुराले त्यसैमाथि पहिल्यैदेखि राजनीतिकरणले पिल्सिएर घाईते परेको मन आगो बनिहाल्यो । र, रोकिएन मुखको शब्दहरू झोकिएर भन्दै थिए मामालाई– ‘क्या ! त मामा मेरो नाम उनिहरुको डायरीमा हेरोस् न । घर जाँची विचारी गएको चार–चार पटक भयो चार–चार पटक । यि नाप्पेर पाए त ।’ भन्दै आफ्नै अनुहार लोबारे पनि । अझै भन्दै थिए त्यहि पुरानो घर नरहे ओत छैन ।
दुई हात नजोड़े पुग्दैन आफ्नो त । पार्टी र फाउण्ड भनेको त चतुरेहरूको लागि हो मामा । अब घर अथवा सहुलियत पाउनु भनेको हामी गरिबको थोत्रे सपना मात्र हो नि । आजसम्म जति जनाले पायो काखी चेपुवाहरूले पो पायो त । अबको जमानामा केही पाउनुलाई ठुलो ठाली आफ्नो मान्छे हुनु पर्छ क्या त मामा । नत्र आश गरेरै बुड़ो होइन्छ । आश गरेरै मरिन्छ पनि । पाउने त उनिहरुकै मान्छे अघिल्लो लहरमा छ जहिले पनि ।
‘हामी सोझोले उनीहरुबाट पाउने भनेको नै घरभित्रै पुरिएर मरेपछि पाउने सन्तवनाको थुप्रो हो । र मरेपछि एक मुठ्ठी माटो । मुर्दा बनेपछि त क्या त मामा साथ नरूचाउनेले पनि मलामीको लस्कर भई हिड़ीदिन्छन् । अब हामी गरिबीको को साथ छ र ? नपत्याए उमाथि मेरो बुढो घर हेर त जहाँ को त्यही जस्तोको तेस्तै नाप्पेर दियो त तेस्को बाजे । थुईया जिन्दगी हामी कस्तो आसे । हगी मामा ! कति आशे ?’ यति भनेर म गएँ आफ्नै बाटो लुखुर लुखुर मामा भने चुप लागेर ट्वाल्ल परि हेरि पठाउँन् । म गएकै दिशा तिर मेरो शरीर ओझेल नपरेसम्म..।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies