-बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा
‘धरतीको मनोरम बगैंचामा बहुरङ्गी सुन्दर फूलहरु फुलेका हुन्छन् । पृथ्वीमा यही फूलमा घुम्ने भमरा र फूलको कहानीको सेरोफेरोमा मानवसभ्यताको रोमाञ्चकारी अद्भुत अदृश्य साम्राज्य रचिएको छ ।’ एउटा भमरा यस्तै सोचिरहेको थियो ।
ऊ ! हृष्टपुष्ट र खाइलाग्दो थियो । उसले धेरै दिनदेखि ढकमक्क फुलेको फूलको बगैंचामा भुन्भुनाउँदै मिठो संगीतको बैंसराग छरिरहेको थियो ।
फूलका थुँगाहरु पनि भमरातर्फ आकर्षित थिए । एकदिन उसले एउटा फूलको बोटसँग उनको फक्रिएको थुँगामा बस्न अनुनय आग्रह गर्यो । दुवैका मनमा एकसाथ प्रेमका रोमाञ्चित लहरहरु छचल्किए ।
फूलभित्र पनि यौवनवयको अव्यक्त प्यास थियो । भमराले डालीडालीमा नाचेर रस चुसिरह्यो । फूलथुँगाबाट प्रतिकार भएन समर्पण भयो । यसैबीच किन हो एकदिन भमरा बिहानी झिसमिसेमै उडेर कतै गयो ।
फूलले केहिदिन त प्रतीक्षागरि तर उसको धैर्यता टुट्यो । अरु भमरालाई आमन्त्रणगरि र आफूमाथि मनोमानी गर्न छुटदिई ।
यसरी भमराहरु क्षणिक खेलवाड गर्न फूलको डाली चहार्थे र अभिष्ट पूराभएपछि उडेर अन्यत्र जान्थे । फूलका डालीडालीमा भमराहरुको मनोरञ्जनात्मक तँछाडमछाड चलिरहेको थियो ।
यतिकैमा एकदिन साँझपख हस्याङ् फस्याङ् गर्दै पहिलो भमरा आइपुग्यो । सामुन्नेको दृश्यदेखेर ऊ ज्यादै दुःखी र खिन्न भयो । फूलको डालीमा अर्कै भमराको राजचलेको थियो ।
पहिलो भमरासँग फूलले प्रश्नगरि ! ‘तिमी कहाँ गएका थियौ यतिका दिन ?’
‘छिट्टै आइहाल्छु भनेर तिमीलाई नौलो सर्प्राइज उपहार लिन स्वर्गको बगैंचासम्म गएको थिएँ । प्रेमका दुश्मन दुष्टहरुले मलाई
घेरामा पारेर बन्दी बनाए । निकैलामो संघर्ष र प्रयासपछि मात्र बाँचेरआउँन सफल भएँ ।’
भमराको शरीरभरि नीलाडाम र चोटैचोट लिएर आएको पहिलो भमराको उत्तर थियो ।
फूलको डालीमा बसेर मुस्कुराउदै गरेको भमरातर्फ देखाउदै पहिलो भमराले फेरि भन्यो ।
‘ति आक्रमणकारी निर्दयी दुष्टहरु मध्ये एउटा महादुष्ट यो पनि थियो ।’
तर फूलको अनुहारमा तत्काल कुनै पश्चाताप र प्रतिक्रियाका तरङ्ग उठेनन् । पहिलो भमरा निराश र निन्याउरो अनुहार लिएर त्यहाँबाट उड्यो ।
पहिलो भमरा गएको केहीदिनपछि नै फूलथुँगा ओइलाउदै गएको देखेर अर्को भमरापनि फूलको डाली छोडेर सधैंका लागि टाढा गयो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies