मुलुक अहिले पनि विश्वव्यापी कोरोना महामारीको प्रकोपबाट मुक्त हुन सकेको छैन । बरु, उल्टै महामारीको त्रासदी बढेको छ । छिमेकी मुलुक भारतमा दैनिक झण्डै लाखको हाराहारीमा संक्रमण पुष्टि हुन थालेकाले नेपालमा महामारीको भय देखिएको छ । तर, महामारी विरुद्धको सरकारी अभियानबारे भने शुरु बाटै विवाद देखिएको छ । विशेषगरी स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको चर्चा पहिलेबाटै चल्दै आएको छ । जुन समयमा स्वास्थ्य सामग्री खरीदबारे प्रश्न उठेको थियो, त्यसबेला महामारी एक मनोवैज्ञानिक प्रकोपको अवस्थामा थियो । सरकारले गएको वर्ष चैत दोस्रो साताबाट महामारीको रोकथाम गर्न देशब्यापी लकडाउन गर्दा आम नागरिक जुन त्रासको अवस्थामा थिए । त्यही शृङ्खलामा स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको भन्दै तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विवादमा आएका थिए । यो विवादमा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारलाई समेत मुछेर हेरिएको थियो ।
तर, प्रधानमन्त्री ओलीले भने स्वास्थ्य सामग्री खरीदमा कुनै अनियमितता नभएको प्रष्टोक्ति दिदै आएका छन् । जबकी, पार्टी विभाजन अगाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरुले समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको बताउने गरेका थिए । गएको २८ कात्तिकमा पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमा त स्वास्थ्य सामग्री खरीद प्रक्रियाको भ्रष्टाचारमा संलग्नलाई स्वयम् पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली नै संरक्षण गर्न लागेको उल्लेख गरेका थिए । तर, यो विषय अझै अन्त्य भएको छैन । बरु, प्रतिनिधिसभा बैठकमै स्वास्थ्य सामग्री हृदयेश त्रिपाठीले स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको स्वीकार गरेका छन् । यसले प्रधानमन्त्री ओली र मन्त्री त्रिपाठीको अभिव्यक्ति बाँझिएको मात्रै छैन । मन्त्री त्रिपाठीले अनुसन्धान भइरहेको पनि संसद्लाई जानकारी दिएका छन् ।
मन्त्री त्रिपाठीले तीन अर्व ८२ करोडको स्वास्थ्य सामग्री खरीद गरिए पनि त्यो अहिलेसम्म प्रयोगमा नआएको बताएका छन् । कोरोना रोकथाम गर्न अहिलेसम्म पाँच वर्ष १७करोड खर्च भएको जानकारी दिदै तीन अर्वको स्वास्थ्य सामग्री खरीद नभएको प्रष्टोक्ति दिएका छन् । स्वास्थ्य सामग्री खरीदका क्रममा पीसीआर, किट, गाउन, औषधि उपकरण लगायतमा खर्च भएको पनि बताएका छन् । तर, स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको र छानबिन भइरहेको मन्त्रीले बताउनुले प्रधानमन्त्रीमाथि भने नैतिक प्रश्न खडा भएको छ । किनभने, आफ्नै क्याविनेटका मन्त्रीले भ्रष्टाचार भएको बताउनु र छानबिन प्रक्रिया भइरहको बताउनुले तत्कालीन स्वास्थ्य मन्त्रीमाथि भनै नैतिक प्रश्न खडा भएको छ नै, स्वयम् प्रधानमन्त्रीलाई पनि विश्वासनीयता कायम गर्नुपर्ने दबाव बढेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies