तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा (कतार) : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले 'नेपाली कला संस्कृति संरक्षण र पहिचान एनआरएनए दोस्रो पुस्ताको अभियान' भन्ने मूल नाराका साथ 'ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेसन – २०२१’ पहिलो संस्करणको आयोजना गर्ने भएको छ ।
संस्करणमा सहभागी हुन डिजिटल अडिसनबाट भिडियो पठाउने मिति ३० अप्रिलसम्म बढाइएको एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले जानकारी दिए ।
आइडलको तयारी अन्तिम चरणमा पुगे पनि सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति ७ दिन थप गर्दै ३० अप्रिल सम्म पुर्याइएको उनले बताए ।
साथै पुरस्कार राशी पनी बढाएर ७ लाख रुपैयाँ पुर्याइएको छ भने दोस्रो पुरस्कार चार लाख, तेस्रो पुरस्कार दुई लाख, चौथो पुरस्कार एक लाख र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । आइडलको निर्णायकहरूमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।
यस्तो छ सहभागिता सम्बन्धी नियम
सार्क मुलुक बाहेकका गैर आवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगितामा सहभागी हुन पाइने छ । विश्वभरका ६ वटा क्षेत्रीय समितिहरुबाट सहभागिता रहनेछ । प्रत्येक क्षेत्रीय समितिबाट कम्तीमा १२ जना प्रतियोगीहरु सहभागी हुन पाउनेछन् भने उपलब्ध भएसम्म समितिले अधिकतम प्रतियोगीहरुलाई सहभागी गराउन सक्नेछ ।
यस्तो छ प्रतियोगी छनोट प्रक्रिया
१. डिजिटल राउण्ड
प्रत्येक प्रतियोगीहरुले डिजिटल अडिसनका लागि गीत अनुसारको नेपाली पोषाकसहित आफ्नो नाम, आफु रहेको राष्ट्रको नाम, गीतको बोल, ओर्जिनल गीतका सर्जक तथा गायक–गायिकाको नाम उल्लेख गरी ३ मिनेट सम्मको सम्पादन नगरिएको सफा र प्रष्ट नेपाली भाषाको भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषद्लाई पठाउनु पर्नेछ ।
प्रत्येक राष्ट्रिय समन्वय परिषद्ले उक्त भिडियो क्षेत्रीय समितिलाई छनोटका लागि पठाउने र प्रत्येक क्षेत्रीय समितिले छनोट भएको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना rycmiddleeast@nrna.org, rcmiddleeast@nrna.org मा पठाउनु पर्नेछ ।
प्रत्येक क्षेत्रीय समितिले कम्तीमा १२ जना प्रतियोगी पठाउनु पर्ने र उपलब्ध भएसम्म समितिले अधिकतम प्रतियोगीहरुलाई सहभागी गराउन सक्नेछन् । आयोजक कमिटीले प्राप्त प्रतियोगीहरुको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने छ ।
डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मुल्यांकन गर्दै पहिलो चरणमा प्राप्त प्रतियोगी मध्येबाट ५० जना प्रतियोगीहरुलाई मात्र छनोट गरी ओपनिङ राउण्डमा लैजाने छ । छनोट भएका ५० जना प्रतियोगीहरुको नामावली मे ५ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिहरुलाई जानकारी गराउनेछ ।
२. ओपनिङ राउण्ड
ओपनिङ राउण्डलाई ३ चरणमा बाँडिने छ । जस अन्तर्गत अन्तरा, सारेगम र पियानो राउन्ड रहने छन् । अन्तरा राउण्डमा डिजिटल राउण्डबाट छनोट भएर आएका ५० जना प्रतियोगीहरुले प्रवेश पाउने छन् भने यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिए पश्चात यस राउण्डबाट १० जना प्रतियोगीहरु बाहिरिनेछन् । बाँकी ४० जना प्रतियोगीहरुले ओपनिङको सारेगम राउण्डमा प्रवेश पाउनेछन् ।
सारेगम राउण्डमा अन्तरा राउण्डबाट छनोट भएर आएका ४० जना प्रतियोगीहरुले प्रवेश पाउने छन् भने यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिए पश्चात थप १० जना प्रतियोगीहरु बाहिरिनेछन् । बाँकी ३० जना प्रतियोगीहरुले पियानो राउण्डमा प्रवेश पाउनेछन् । पियानो राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन् । यो राउण्ड भर्चुअल मार्फत १४ मे २०२१, नेपाली समय अनुसार विहान ११ बजे शुरु हुनेछ ।
३. गाला राउण्ड
गाला राउण्डलाई ३ चरण- प्रथम दोस्रो र तेस्रो राउण्डमा विभाजन गरिएको छ । प्रथम गाला राउण्डमा प्रवेश गरेका ३० जना प्रतियोगी मध्ये ५ जना प्रतियोगीहरु बाहिरिने छन् भने बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउण्डमा प्रवेश पाउनेछन् । दोस्रो राउण्डमा प्रवेश गरेका २५ जना प्रतियोगी मध्ये दोस्रो गाला राउण्डबाट ५ जना प्रतियोगिहरु बाहिरिने छन् भने बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउण्डमा प्रवेश पाउनेछन् ।
तेस्रो गाला राउण्डमा प्रवेश गरेका २० जना प्रतियोगी मध्ये तेस्रो गाला राउण्डबाट ५ जना प्रतियोगिहरु बाहिरिने छन् भने बाँकी १५ जना प्रतियोगी ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन् । यो राउन्ड १५ मे २०२१, नेपाली समय विहान ११ बजेबाट शुरु हुनेछ ।
४. ग्राण्ड फिनाले
२१ मे २०२१, नेपाली समय विहान ११ बजेबाट शुरु हुने ग्राण्ड फिनाले राउण्डलाई ३ चरणमा विभाजित गरिएको छ । जसमा फाइनल राउण्डको अन्तिम चरणबाट ग्राण्ड फिनालेमा प्रवेश पाएका १५ जना मध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरु बाहिरिने छन् भने दोस्रो चरणमा प्रवेश पाएका १० जना मध्ये थप ५ जना दोस्रो चरणबाट बाहिरिने छन् । फिनालेको दोस्रो चरणबाट अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरुलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी विजेता घोषणा गरिने छ ।
निर्णायक मण्डलले प्रत्येक राउण्डमा सार्वजनिक पपुलर मतलाई ४० प्रतिशत आधार मान्दै ६० प्रतिशत निर्णयाधिकार मात्र प्रयोग गरी निर्णय सुनाउने व्यवस्था गरिएको एनआरएनए मध्यपुर्व संयोजक प्रवीण गुरुङले जानकारी दिए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरुलाई गीति एल्बममा गीत गाउने अवसर दिइने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies