काठमाडौं : भिजिट भिसामा मलेसिया गई स्वदेश नफर्किएका नेपालीहरु समस्यामा पर्ने भएका छन् । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकाहरुलाई २१ अप्रिल अथात् आगामी बुधबारसम्म देश छोड्न आदेश दिएको छ ।
भिजिट भिसामा गई रोजगारीमा लाग्न नसकेकाहरुले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेश्रो मुलुक गइसक्नुपर्ने छ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेहरुले मलेसियाको कडा अध्यगमन नियमानुसार कारवाही भोग्नुपर्ने छ । मलेसियाले भ्रमणमा जाने विदेशीलाई शुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भिजिटभिसामा गएका विदेशीहरु स्वदेश नफर्किनेको संख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको हो ।
उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेहरुले सामान्य जरिवाना तिरे पुग्ने बताइएको छ भने त्यसपछि पनि मलेसिया बस्नेहरुलाई धेरै जरिवाना तिराउन सक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले पासपोर्ट नभएको भएपनि दूतावासमा आई ३ सय ६० रिंगिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने बताएको छ । मलेसियामा सामान्यतयाः एकचोटी इलिगल बसेको विदेशी नागरिक पाँच वर्षसम्म फर्किन र मलेसिया जान नपाउने व्यवस्था छ ।
शुक्रबारको आफ्नो नियमित फेसबुक कार्यक्रममा मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासहरुले गत जनवरीमा भिजिट भिसामा मलेसिया प्रवेश गरेका तर नेपाल नफर्किएका धेरै नेपाली हुनसक्ने भन्दै मलेसिया सरकारले दिएको अवसरको सदुपयोग गरी स्वदेश फर्किन वा मलेसिया छोडेर तेश्रो देश जान सल्लाह दिएको छ ।
मलेसियामा हाल आवगमन नियन्त्रण आदेश लागू भएको छ । एउटा राज्यबाट अर्को राज्यमा जान त्यहाँको प्रहरीको लिखित आदेश पाउनुपर्छ । तर गैरकानूनी रुपमा बसीरहेका नेपालीहरु पक्राउ पर्ने डरले प्रहरीको आँखा छलेर बस्ने गरेका छन् । कतिपय नेपाली सूचना नपाएर पनि अलमलिएको बताएइको छ । मलेसिया सरकारले अवैधानिकरुपमा बसेका कामदारहरुका लागि भने आगामी जुन अन्तिमसम्म घर फर्किन पाउने बताएको छ ।
मलेसियाले नयाँ कामदारको एप्रभुल दिएको छैन । कोरोना भाइरसका कारण विदमा घर आएका कामदारहरु रोजगारीमा फर्किन आर्थिक र प्रशासनिक दृष्टिले झन्झटिलो मानिएको छ । विदेशबाट कामदार झिकाउन शुरुमा कम्पनीले अध्यागमन कार्यालयमा निवदेन दिनुपर्छ । अध्यागमनले एप्रुभल दिएमा कामदारले आफ्नै खर्चमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्छ । क्वारेन्टिनको खर्च महंगो छ ।
मलेसियामा विदेशी कामदारको न्यूनतम तलब १ हजार २ सय रिंगिट छ । मलेसिया सरकारले क्वारेन्टिइन खर्च ४ हजार रिंगेट तोकको छ । नेपाली कामदारले क्वारेन्टिन बस्नकै लागी कम्तीमा साढे तीन महिनाको तलब खर्च गर्नुपर्ने देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies