तिम्रो मनमा के छ..., राम साईली.., म बाँचेको के अर्थ..., गाउँ घरमा साईली माईली..., स्वप्निल छायाँ..., पुर्वमा जय होस् किराती... जस्ता दर्जनौं सफल गीतका गायक रुपकुमार राईले हालै ‘सुनैको शिर फुल...’ बोलको गीत सार्वजनिक गरेका छन् । पुर्वी जिल्ला खोटाङमा जन्मिएका गायक राई लामो समयदेखि नेपाली गीत, संगीतको क्षेत्रमा सक्रियरुपले लागिपर्दै आइरहेका छन् । फुटकर गीत दर्जनौ गाएको भएपनि उनले गीति एल्बम मनको देउराली, साक्षी, सामिप्य, राम साईली, रुप आम स्रोतामाझ ल्याइसकेका छन् । गायनमा मात्र नभएर संगीत सिर्जनामा समेत राम्रो परिचय बनाउन सफल राई खोटाङ कलाकार समाजका अध्यक्ष पनि हुन् । गीत, संगीतसँगै समाज सेवामा समेत सक्रिय राई यही वैशाख १८ गते प्रज्ञा भवन कमलादीमा हुने बृहत खोटाङ्गे ‘नव प्रतिभालाई विशेष प्राथमिकता दिइने’ कलाकारहरुको साँगीतिक कार्यक्रम ‘खोटाङ सांगीतिक साँझ २०७८’लाई सभ्य र भब्य बनाउन लागि परेका छन् । नेपाली संगीतको दुनियाँमा आफ्नो पृथक परिचय बनाउन सफल गायक तथा संगीतकार रुप कुमार राईले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीः
पछिल्लो पुस्ताले सांगीतिक क्षेत्रमा नयाँपन दिइरहेको जस्तो लाग्छ तपाईंलाई ?
पछिल्लो समयको नेपाली संगीत नयाँपन भन्दा पनि सिर्जनशील कम, नेपाली मौलिकताको प्रभावबाट प्रभावित गीतसंगीत बढी आइरहेको छ ।
हातहातमा उपलब्ध स्मार्ट फोन र इन्टरनेटले रेकर्डिङ देखि वितरणसम्म विकसित प्रविधिले नेपाली सांगीतिक क्षेत्रको स्वरूप बदलिएको हो ?
पछिल्लो समयको प्रविधिको विकासले समाज संगीतमय छ, राम्रो कुरा हो । तर, वितरण र बजार व्यवस्था शुन्य छ । रेकर्डिङ्गको बारेमा गीतको प्रकृति र सृजनाको स्तर र लगानिको लेबल अनुसारको रेकर्डिङ्ग गर्न सक्ने स्थिति छ भने प्रबिधिको सहजताले कलाकारको मिहेनत र सिर्जनामा ध्यान कम प्राविधि बढी प्रयोग गरेर सस्तो लोकप्रियतामा केन्द्रित छ ।
सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको चर्चा बढी हुनुको कारण ?
सुन्ने गीतले भाब बोल्छ । उत्सुक्ता र कल्पनामा स्रोतालाई बाँधिराख्छ । हेर्ने गीतले भाब उत्सुक्तालाई दृश्यमा देखाइदिन्छ र उक्त दृश्यले अझ आकर्षित गर्दिन्छ । त्यसैले हेर्ने गीत बढी चर्चामा हुन्छ ।
आत्याधिक चर्चा बटुलेका गीत, संगीत पनि केही समय पछि श्रोताले बिर्सन्छन्, के अब कालजही गीत, संगीतको समय सकिएको हो ?
पछिल्लो समय सिर्जना भन्दा पनि सस्तो लोकप्रियता बढ्दै जानुले स्रोताहरुले चाडै बिर्सन्छन । यो हुनुमा बजार व्यवस्थाको मुख्य कारण हो । बजार व्यवस्था व्यवस्थित र सिर्जनाको लेबललाईज गर्ने हो भने कालजयी गीतहरुले स्थान पाउनेछ अनि सिर्जनामा ध्यान पनि बढ्छ ।
गीत, संंगीतले नाम र दाम दुवै दिन थाले पनि यस क्षेत्रमा लागेकाहरुको आर्थिक श्रोतको अर्को बिकल्प नभए दैनिकी चलाउन कठिन हुन्छ भन्छन् तपाईलाई के लाग्छ ?
केही २/४ जना बाहेकले व्यावसायिक रुपमा सफल नहुनुमा बजार अव्यवस्थित र राज्यले सृर्जनाको सम्मान नगर्नाले यो गीतसङ्गीत क्षेत्र अनाथ बच्चा जस्तै छ ।
नेपालमा रियालिटी सोबाट छनोट भई आउने गायन, नृत्य, अभिनयका नवप्रतिभाहरुलाई कस्तो खालको अबसर दिनु पर्छ जस्तो लाग्छ ?
रियालिटी सोबाट आएको प्रतिभालाई पुरस्कार राम्रो र सम्पुर्ण कार्यक्रमबाट आएको फाइदाको पनि केही प्रतिसत दिनुपर्छ, रियालिटी सो प्रतिभा उन्मुख भन्दा ब्यापारको लागि गरिएको देखिन्छ ।
सामाजिक सञ्जालमा फलोअर्स गन्ने, युट्युबमा भ्युअर्स बढाउने होडबाजीले गर्दा नयाँ पुस्ताका गीत, संंगीत क्षणिक हिट हुने र सेलाउने अवस्थाको अन्त्यको लागि के गर्नुपर्ला ?
सिर्जनाको पारदर्शी, सेन्सरबोर्ड र सृर्जनाको लेबलाइज अनि बजार ब्याबस्थालाई सुदृढ गर्दा उक्त अबस्थाको अन्त्य हुन्छ ।
अघिल्लो पुस्ताले गीत, संगीतमा दिएको योगदानलाई पछिको पुस्ताले कसरी लिइरहेका छन् ?
बजार तीव्ररुपमा चर्चा र व्यावसायिकताको प्रतिस्पर्धा छ । यस्तो अबस्थामा अघिल्लो पुस्ता र भोलिलाई सोच्ने फुर्सद छैन अहिलेको पुस्तालाई ।
सदाबहार भनिने सिर्जनाको मुहान सुकेको हो, के लाग्छ ?
मुहान कहिलै सकिन्न, बजार कता उन्मुख छ त्यस्ले निर्धारण गर्छ कतिबेला के मुख्य भन्ने कुरा ।
डिजिटल प्रविधिको युगमा हरेक कुराको स्वाद परिवर्तन भइरहेको जस्तै श्रोताहरुकोे रुचिमा पनि परिवर्तन आएको हो ?
स्रोताको चाहनाले मात्र बजार निर्धारण हुन्न । बजारमा के के पाईन्छ, के के बिक्री गर्ने भन्नेले निर्धारण हुन्छ । त्यहाँ सस्तो र बिकृती निषेध गर्ने हो भने महङ्गै भएपनी ओर्जिनल नै बिक्री हुन्छ ।
अहिले गीत,संगीतको क्षेत्र संख्यासँगै गुणात्मक सुधार पनि भएको देखिन्छ, यो संख्यात्मक विस्तार र सहजतासँगै साधना, समर्पण र सिर्जनशीलताको खाँचो छ जस्तो लाग्दैन ?
सिर्जनशील र मिहेनती चिन्तनशील कलाकारहरु पनि छन् । तर, चर्चा र हाबी अर्कैको भएकोले अर्कै मात्र देखिन्छ ।
तपाईंलाई त पुर्वेली गायक भन्छन्, कस्तो खालको गीत बढी गाउन मनपर्छ ?
म गायक हुँ त्यसैमा खुसी हुन्छु, सबैखाले गीत सुन्न र गाउन मनपर्छ ।
अन्त्यमा एउटा प्रश्न गरिहालुँ, यो खोटाङ कलाकार समाजको जन्म कसरी भयो ?
खोटाङ जिल्लाका पुराना कलाकार बच्चु कैलाश, ठुले राई, शान्तिराम राई, राजेश पायल राई, महेश खडका हुँदै पार्वती राई लगायत ठुलो संख्यामा भएकोले पहिले देखि नै संस्थागत रुपमा संगठित हुनु पर्छ भन्ने विषयमा कुरा उठिरहन्थ्यो । नेतृत्व कसरी ममा आयो भन्दा टिमका साथीहरुले मेरो नाम लिनु भो मैले पनि नकार्न सकिन । खोटाङ कलाकार समाजले समग्र गीतसंगीत र कला क्षेत्रको चिन्त गर्ने र सिर्जनाको बजार ब्यवस्थापनको विषयमा चासो दिने, अध्यायन अनुसन्धान र प्रयत्नहरु गर्ने गर्छ । खोटाङ कलाकार समाज खोटाङमामात्र केन्द्रित रहने, खोटाङ्गेहरु बीचमात्र सिमित हुने बाहिर ननिस्कने भन्ने चाहिँ होइन । नेपाली गीतसंगीत तीव्ररुपमा जनजनको हातहातमा र कानसम्म पुगिरहँदा गीतसंगीतको बजार भने सून्य रहेकोले चिन्ताको विषय बनेको छ, यसलाई गतिशिल दिनका लागि हाम्रो समुह लागिरहेको अवस्था छ । यो वर्षको मेरो पहिलो अन्तर्वार्ता भएकोले सम्पूर्ण संगीत प्रेमि, शुभचिन्तक र लोकप्रिय राष्ट्रिय दैनिक मध्यान्ह परिवारलाई २०७८ को शुभकामना ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies