अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फेरि चर्चामा आएको छ । संसद् अधिवेधवन विजनेश विहीन बनिरहँदा एमसीसी सर्वदलीय छलफलकै विषय बन्न पुगेको हो । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा यो विषय प्रवेश गराएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस लगायत केही दलले पनि समर्थन जनाए । प्रधानमन्त्री ओलीले भने सभामुख अग्निप्रसाद सापकोटाका कारण एमसीसी अगाडि बढ्न नसकेको आक्रोश पोखेका थिए । ओली पहिलेबाटै एमसीसी अगाडि बढाउने र पारित गर्ने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि ओली एमसीसी पारित हुनुपर्ने अडानमा थिए । तर, ओली इतर समूह भने एमसीसी संशोधन गरेर मात्रै पारित गराउन सकिने अडान लिए ।
एमसीसी नेकपा विभाजन हुनुको एउटा प्रमुख कारण बनेको थियो । ओली एमसीसी पारित गराउने पक्षमा थिए भने उनले चाहे जस्तोगरी अगाडि बढ्न पार्टीभित्रै विरोध थियो । गएको वर्ष माघमा एमसीसी अध्ययन गर्न कार्यदल नै बन्यो । उक्त कार्यदलमा पनि ओली पक्षका प्रदीपकुमार ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारे पनि झलनाथ खनाल र भीम रावलले संशोधन नगरी पारित गर्न नसकिने निष्कर्ष बुझायो । तर, यो प्रतिवेदनबारे छलफल नै भएन । बरु, चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी छिराए । सत्तारुढ सांसदहरुको तीव्र विरोध पछि बजेटबाट हटाइएको थियो ।
अहिले फेरि एमसीसी चर्चामा आएको छ । प्रतिनिधिसभा विघटन पछि उर्जामन्त्री टोपबहादुर रायमाझीले अब एमसीसी पारित हुने अभिव्यक्ति दिएका थिए । सरकारका मन्त्रीहरुले पनि एमसीसी पारित गराउन नदिएर सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभा विघटन गरिएको जवाफ दिने गरेका थिए । अहिले एमसीसीको विपक्षमा रहेकाहरु ओलीको साथमा छैनन् । एमाले भित्र पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह छुट्टै छ भने माओवादी केन्द्र अलग पार्टी बनिसकेको छ । यस्तो अवस्थामा फेरि एमसीसी छलफलमा ल्याइएको छ । सरकारका मन्त्रीहरुले भने एमसीसी देशको हितमै रहेको बताउन थालेका छन् । तर, दावीलाई प्रमाणित हुनेगरी तथ्यहरु प्रस्तुत गरेका छैनन् । बरु, विपक्षमा रहेकाहरुको तर्क बलियो छ । उनीहरुले एमसीसी देशको हितमा नभएको बताउँदै आएका छन् । त्यसैले अहिले हतारमा एमसीसी अगाडि बढाउने भन्दा पनि अध्ययन गरेर मात्रै कार्यान्वयनमा लैजानु उचित हुन्छ । त्यसै पनि विवादित परियोजना अगाडि बढाउँदा राम्रो नतिजा आउन सक्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies