नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन् । सोमवार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद् बैठक दिउँसो एक बजेबाट अन्त्य गर्ने सिफारिस गरिएको थियो । सरकारको सिफारिस पछि राष्ट्रपति कार्यालयले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ । संसदीय प्रचलनअनुसार, अधिवेशनको अन्त्य मध्य रातबाट लागू हुने भएपनि यसपटक दिउँसो एक बजे संसद् अधिवेशन अन्त्य गरिएको छ । सरकारको यो निर्णय प्रति सभामुख अग्निप्रसाद सापकोटाले असन्तुष्टि जनाएका छन् । सभामुख सापकोटाले आज दिउँसो एक बजे बैठक बोलाएका थिए । तर, प्रधानमन्त्री ओलीले एक दिन अगाडि नै संसद् अन्त्य गरेको छ । यसरी हठात् कुनै परामर्श बिना सरकारले पहिलो पटक अधिवेशन अन्त्य गरिएको होइन ।
प्रधानमन्त्री ओलीले आफूलाई अप्ठ्यारो पर्नासाथ अधिवेशन अन्त्य गरिदिने मात्रै नभएर विघटन गर्ने कदम समेत चालिरहेका छन् । अघिल्लो वर्षको हिउँदे अधिवेशन कोरोना महामारीको कारण देखाएर अन्त्य गरिएको थियो । तर, वर्षे अधिवेशन भने आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने भयका कारण संसद् बैठक नै चलिरहेका बेला अधिवेशन अन्त्य गरिएको थियो । गएको वर्ष १७ असारमा संसद् अधिवेशन अन्त्य गरिदा राष्ट्रियसभा बैठक चलिरहेको थियो । सरकारको निर्णय राष्ट्रियसभामा पुगेपछि अध्यक्ष गणेशप्रसाद तिम्सिनाले पढेर सुनाएका थिए । गएको ५ पुसमा त प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद् विघटनको निर्णय गरेका थिए । तर, सर्वोच्च अदालतबाट पुनस्र्थापना भएको संसद् पनि बिना परामर्श अन्त्य गरिएको छ ।
संघीय संसद्कै जस्तो सिको प्रदेशसभाहरुले पनि गर्न थालेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वासको प्रस्ताव आउने थाहा पाए लगत्तै प्रदेशसभा बैठक अन्त्य गरिदिएका थिए । तर, फेरि त्यहाँ विशेष अधिवेशन बोलाइएको छ । यसबाहेक अन्य प्रदेशसभाको अवस्था पनि उस्तै छ । अर्थात्, राजनीतिक कलहको असर संसदमा परिरहेको छ । जबकी, संसद् भने राजनीतिक किचलोको कारण बन्धक बन्नु नहुने अंग हो । संसद् जनप्रतिनिधिहरु सम्मिलित कानून निर्माणको थलो समेत भएकाले अधिकतम सहमतिको प्रयत्न गरिनुपर्ने हो । केही मुलुकमा संसद्लाई लोकतन्त्रको मन्दिर समेत भनिने छ । तर, केही समय यता संसद्लाई लोकतन्त्र हरण गर्ने र संसदीय गरिमा समेत ध्वज्जी उडाउने गरिएको छ । यसले प्रणालीमा समेत संकट निम्त्याउन सक्ने खतरा देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies