काठमाडौं : वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपाली कामदार फिर्ता आएका छन् । क्रोएसिया प्रवेश भिसामा अत्यन्तै छोटो अवधिको कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाइएको हो ।
उनीहरूलाई चार दिन अनुसन्धानमा राखेर नेपाल फर्काएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी अञ्जन न्यौपानेले कामका लागि क्रोएसिया पुगेका उनीहरूको भिसा छोटो अवधिको देखिएपछि त्यहाँका अध्यागमन अधिकारीले शंकास्पद भन्दै पठाएको बताए ।
उनीहरू व्यक्तिगत प्रयासमा गएका हुन् वा म्यानपावर कम्पनीबाट भन्ने विषयमा सोधखोज नगरएको पनि न्यौपानेले मध्यान्ह दैनिकलाई बताए । ‘अन्यायमा परेको भए उनीहरू आफैंले सम्बन्धित निकायमा उजुरी गर्लान्, हाम्रो अनुसन्धानमा अध्यागमनसम्बन्धी कसुर नदेखिएकाले सहजरूपमा छोडिएका हौं,’ उनले भने ।
फर्किनेहरूमा अमितकुमार विश्वकर्मा, लक्ष्मण मगर, गीता सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, अतित तामाङ, पल्सीन लिम्बू, मनिषा कार्की सुब्बा, शंकर सुनुवार र उपेन्द्रप्रसाद वली रहेका छन् । उनीहरू फ्लाई दुबईको विमानबाट मंगलबार काठमाडौं आइपुगेका थिए ।
उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोएसियाका लागि उडेका थिए । क्रोएसियामा विदेशी कामदारहरू मुख्यतया निर्माण, आतिथ्य र यातायात क्षेत्रमा कार्यरत छन् । ती क्षेत्रमा नेपालीसहित फिलिपिन्स र भारतबाट उल्लेखनीय मात्रामा कामदार पुगेका छन् ।
क्रोएसियामा काम गर्न गैर–ईयू मुलुकका कामदारहरूलाई सामान्यतया कार्य अनुमति र आवास अनुमति दुवै चाहिन्छ । रोजगारदाताहरूले प्रायः विदेशी कामदारलाई काममा राख्नु अघि स्थानीय उम्मेदवारहरूको अभाव प्रमाणित गर्न अनिवार्य गरिएको छ । कामदारको योग्यता, सीप र कामसँग सम्बन्धित अनुभवको प्रमाण पनि अनिवार्य गरिएको छ ।
सन् २०२१ जनवरी १ तारिकदेखि काम र बसोबास अनुमतिका लागि कोटा प्रणाली खारेज गरिएको छ । धेरै कम्पनीहरूले विशिष्ट पेशाहरूमा श्रम अभाव पूरा गर्न विदेशी कामदारहरूको द्रुत आयात योजनाअन्तर्गत विदेशी कामदार भर्ना गरिरहेको बताइएको छ ।