२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

दमक–चिसोपानी सडक : ठेक्का लाग्यो, काम भएन

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते १७:०५
दमक–चिसोपानी सडक : ठेक्का लाग्यो, काम भएन

इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुननन्द मार्ग) निर्माण सुरु भएको ३ दशक बित्यो, अबौँं लगानी भइसक्यो । तर, सडक निर्माण अझै पूरा भएको छैन । 

स्थानीयवासीले पटक–पटक माग र दबाब गरे पनि सडकको अवस्था अझै दयनीय छ । ३३ किलोमिटरको यो सडकको अहिले रतुवा नदीको तिरैतिर ट्रयाक खोलिएको छ । जहाँ हिउँदमा धुलो र वर्षामा हिलोले यातायात र जनजीवन दुवै अस्तव्यस्त बनाइरहेको छ । सडक कालोपत्र नहुँदा बर्खामा मुस्किलले दमकदेखि चिसोपानीसम्मको यात्रा गर्नुपर्ने बाध्यता छ । 

दमक–चिसापनी सडक झापा र इलामलाई जोड्ने महत्वपूर्ण पहुँच मार्ग हो । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले दैनिक आवतजावत गर्ने र कृषि उत्पादनलाई बजासम्म पु¥याउने यो सडक निर्माण ढिलाइले स्थानीयवासी आक्रोशित छन् । 

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्व संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता नपाउँदा नेतृत्वको आलोचना हुँदै आएको छ ।

सो सडक निर्माणमा सरकारले लगानी नगरेको भने होइन । पटक–पटक गरी अबौंँ लगानी भइसकेको छ । तर, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम नगरेकाले सडक निर्माणले पूर्णता पाउन नसकेको सडक डिभिजन दमकले जनाएको छ । ३३ किलोमिटर दुरी कालोपत्र गर्ने गरी ठेक्का लगाएको पनि ७ वर्ष बितिसक्यो । तर, काम भने आधा पनि भएको छैन । ट्रयाक चौडा र कालोपत्र गर्ने गरी सडक डिभिजन दमकले तीन खण्डमा ठेक्का लगाएको थियो । 

३ वर्षमा काम पूरा गर्ने गरी लगाएको ठेक्काको म्याद पटक–पटक थप्दासमेत ठेकेदार कम्पनीले काम नगरेपछि सडक अलपत्र परेको छ । पहिलो खण्ड अन्तर्गत दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन २९ गते सम्झौता गरेको थियो । 

२२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । रतुवा नदीको भित्ता काटेर ट्रयाक खोलिसकेको सडक कालोपत्र मात्र गर्ने सो निर्माण कम्पनीको जिम्मा थियो । 

तर, ४ पटक म्याद थपिँदासमेत कालोपत्र सकिएको छैन । अन्तिम पटक थपिएको म्याद २०८० साल असार मसान्तसमा सकिएको थियो । अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका डिभिजन प्रमुख श्यामकुमार यादवले बताए । अन्तिम पटक थपिएको म्याद दुई वर्ष अघि नै सकिएको हो ।

अहिले दैनिक जरिवानामा काम गरिरहेको छ । पछिल्लो पटक कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ, तर निर्णय गरिएको छैन,’ डिभिजन प्रमुख यादवले भने, ‘बिचबिचमा कालोपत्रको काम गरिरहेको छ ।कामको प्रगति बढाउनुहोस् भनेका छौँ । काम गर्ने सुनिश्चितता भए म्याद थप हुन्छ, नभए जरिवानामा नै काम गर्छ ।’

दोस्रो र तेस्रो खण्डमा भने गत वर्षदेखि नै काम ठप्प छ । करिब आधा मात्र काम सकिएको सो खण्डमा सडक अस्तव्यस्त बनेको छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर सडक चौडा गर्ने र कालोपत्र गर्ने ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दुवै खण्ड सडक कालोपत्र गर्ने गरी २०७६ फागुन २ गते ठेक्का लागेको थियो ।

दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड  ५९ करोड १५ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेको थियो । दुवै खण्डको म्याद २०७९ फागुन २ गते नै सकिएको थियो । तर, म्याद थप गर्दा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत मात्र सकिँदा काम रोकिएको हो । 

यी दुवै सडक खण्डको विषयमा अदालतमा मुद्दा परेपछि थप कुनै काम निरन्तर अगाडि सकेको छैन । डिभिजन प्रमुख यादवका अनुसार सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी–गणपति जेभीले काम नगरेपछि २०८० फागुनमा कार्यालयले ठेक्का सम्झौता रद्द गरेको थियो ।

कार्यालयले ठेक्का सम्झौता रद्द गरेपछि सरकारले बैङ्क ग्यारेन्टी‘ जफत ग¥यो । सो निर्णयको विरुद्धमा विपक्षी लुम्बिनी–गणपति जेभीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । तर उच्च अदालतले रिट खारेज गरिदिएको डिभिजन कार्यालयले जनाएको छ । 

तर, त्यसअघि नै लुम्बिनी–गणपति जेभीले जिल्ला अदालत झापामासमेत अर्को मुद्दा दर्ता गरेको र अन्तिम किनारा नलागेकाले कुनै काम अघि बढ्न नसकेको डिभिजन प्रमुख यादवले बताए । ‘जिल्ला अदालत झापामा समेत साविकको ठेक्का सम्झौता यथावत् कायम गरिपाउँ भनी मुद्दा हालेको छ,’ उनले भने, ‘त्यो न्यायिक प्रक्रियामा छ,  न्यायिक प्रक्रिया नटुङ्गिएसम्म केही गर्न सकिँदैन ।’

यो सडक निर्माणको सुरुवात २०४९ मा डा. गोपाल कोइराला नेतृत्वको समितिले गरेको थियो । पछि विभिन्न समिति निर्माण गरी काम अगाडि बढाइएको थियो ।

सडक निर्माणको काम अलपत्र बनेपछि स्थानीयले भने सास्ती खेप्नुपरेको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा यात्रा गर्न निकै कष्टकर बनेको माङसेबङ गाउँपालिका–३ का सजन राईले बताए । 

नागरिकहरूलाई आवतजावतमा सहजताका लागि माङसेबुङ गाउँपालिकाले आफ्नै लगानीमा मर्मत सम्भारको काम गर्दै आएको छ । गत वर्ष १५ लाख रुपैयाँ खर्च गरेर सडक मर्मत सम्भार गरेको माङसेबुङले यो वर्ष भने व्यवसायीलाई जेसिभी उपलब्ध गराएर सहयोग गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

ADV

सम्बन्धित खबर

Advertise