–हेमराज अधिकारी
रिजालले पारी घरे अन्तरेको मराउमा गरुड पुराण भन्दै थिए । जीवात्माले प्राप्त गर्ने घोर नरक र उसका शुभ अशुभ कर्मको विवरण श्री गरुड पुराणमा उल्लेखित भएअनुसार पण्डितले फलाक्दै गए । जेठो छोरो प्रतिष्ठित नेता थियो । कान्छो खेतीपाती गर्ने सरल र सोझो थियो । जेठोले पण्डितको कानमा सुटुक्क भन्यो ।
“रिजाल गुरु ! मेरा बाबु कुन लोकमा जान्छन्, त्यो तिमी हामी कोहीले बुझेका छैनौँ । कुरा राम्रो बुझ्नु । तिमीलाई दान दक्षिणा दिने म हो । त्यसै पनि घुँडा दुखेर पलैंटी कस्नु हुँदैन । मुखमा खैनी चेप्नु नपाएर बिजोग भएको छ । पाठ राख्छौ कि कसो ?”
“हजुर ! यो मराउमा यस्ता कुरा गर्नुहुन्न सर । शास्त्रले चुरोट खैनीलाई वर्जित गरेको छ । हाँस्नु, किचकरिनु र थुक्नु नजिकै गर्नु बेसन सुर्तीको । साक्षात् त्यो पशु हो छ, धन्य बिचरो मान्छे भयो मूर्तिको ।”
“ए पण्डित ! मर्यादा नाघ्ने कुरा गर्छौ ? छिटो पाठ राख् । मेरा जनता आउनेजानेलाई भेट्नु पर्छ । म शौचालय पुगेर आएँ ।”
जेठो खैनीको डिब्बा बोकेर शौचालय पस्यो । कान्छाले स्वेच्छाले पाठ सुन्दै पितृलाई स्मरण गरिरह्यो । जेठो उसको धर्म कर्ममा विश्वास कहीँ कतै थिएन । लोके कृतिको आधारमा समाजलाई देखाउन आडम्बर मात्र गर्दै थियो ।
बेलुकी सायंकालको कर्म सकेर नेताको गाली खाँदै रिजाल घर फर्के । नेतालाई जनता र सत्ताकै सुर्ता थियो । साँझैदेखि सुगर र प्रेसरको चापले नेता ओछ्यानमै साह्रै भए । अस्पताल नलगी नहुने भयो । अस्पतालमा पुर्याएर नेतालाई भर्ना गर्नुपर्यो । भोलिपल्टको काम कान्छाले एक्लै गर्यो । आउनेजानेले कुरा गर्न थाले ।
“होइन यो त महा पापी हो नि । बाबुलाई जिउँदो छउन्जेल एक आँखाले देख्नु सकेन । कहाँ राम्रो हुन्छ ? यो चैँ कलियुग हो । छ्याक्छ्याक्ति देख्नु पाइन्छ ।”
“ठिकै हो सम्धी ! सँगैमा कान्छालाई शान्ति छ । बिचरा बाबुलाई उसैले त स्याहारसुसार गर्यो । जेठो त जहिल्यै त्यसको जनता, राजनीति, आडम्बर ! उस्तै परे यो बाबुको काम नसकी जान्छ । मुलङ्खरे! आकाशबाट झरेको !”
अर्को बिचमा प्याच्चै बोल्यो ।
“मान्छेलाई परेको बेलामा जे सुकै भन्नु हुँदैन साथी हो ! उसलाई अहिले परेको छ । धेरै सोच्नुपर्छ !”
“के परेको छ ? यो मुलाले हाम्रो गाउँमा साह्रो गाह्रो पर्दा कसलाई के सहयोग गरेको छ ? कसको घरमा यो आएको छ ? पैसा र जनताको रगतपसिना चुस्नु पायो भने भयो यसलाई ! न बाबु न आमा । न इष्ट न मित्र ।”
आँगनको पल्लो छेउमा लौरो टेकेर थरर् कामिरहेको जेठाले आउने जानेको कुरा सुन्यो । नसुने झैँ भित्तो समाएर सुमुसुमु भित्र पस्यो । रिजाल पनि काम्दै भित्र पसे ।