उदयपुर : उदयपुरमा माटोको ढिस्कोले परिँदा एक महिलाको मृत्यु भएको छ । आइतबार त्रियुगा नगरपालिका–३ चाँप बगरटोल बस्ने अन्दाजी २४ वर्षीया रमिला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गेरुवाई खोलामा घर लिप्ने प्रयोजनका लागि माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा उनी पुरिएकी थिइन् । स्थानीयको सहयोगमा उद्धार गरिएको भए पनि घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।