२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

देउवा निकट नेपाली जनसम्पर्क समिति जापानले अधिवेशन गर्ने

Nada
पूर्ण चलाउने
२०८३ मंसिर ७ गते १५:२२
Shares
देउवा निकट नेपाली जनसम्पर्क समिति जापानले अधिवेशन गर्ने

टोकियो : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट नेपाली जनसम्पर्क समिति जापानले आफ्नो सातौं अधिवेशन गर्ने भएको छ । अधिवेशन आगामी नोभेम्बर २९ तारिख आइतबार टोकियोको सिनओकुबोस्थित कुमारी रेस्टुरेन्टमा बिहान ११ बजेदेखि आयोजना गरिने छ ।  

अधिवेशनलाई कांग्रेस नेता डा: शशांक कोइरालाले सम्बोधन गर्ने देउवा निकट नेपाली जनसम्पर्क समिति जापानले जनाएको छ । कार्यक्रममा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत र जनसम्पर्क समन्वय विभागका प्रमुख किरणराज शर्मा न्यौपानेको पनि विशेष सहभागिता रहने जनाइएको छ ।

नेपाली जनसम्पर्क समिति जापान नेपाली कांग्रेस पार्टीको विदेश स्थित संगठन हो । पछिल्लो समय नेपाली कांग्रेसको आधिकारिकता सभापति गगनकुमार थापाले पाएपछि देउवा समूह छुट्टै महाधिवेशनमा होमिएको छ ।

लोकतान्त्रिक मूल्य मान्यता संगठनात्मक एकता तथा प्रवासी नेपालीबीचको आपसी सद्भभाव र सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले अधिवेशन हुन लागेको देउवा निकट जन सम्पर्क समिति जापानले जनाएको छ ।

अधिवेशनलाई सफल पार्न रेशम डंगोलको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन पनि गरिएको समितिका युवा संयोजक सविन शाहीले बताए । रेशम डंगोललाई पार्टीको देउवा पक्षीय संगठनले जापानको संयोजकमा चयन गरी अधिवेशन गर्ने जिम्मेवारी दिएको जापान  संगठनले जनाएको छ ।

नेपाली जनसम्पर्क समिति जापानको अर्को समूहले आफ्नो सातौं अधिवेशन सम्पन्न गरी राजेन्द्रप्रसाद जम्मरकट्टेलको नेतृत्वमा कार्यसमितिको गठन गरिसकेको छ । जम्मरकट्टेलले जापानमा संगठन विभाजित हुनुलाई दुर्भाग्य भएको टिप्पणी गर्दै अझै एकआपसी भाइचारा सहकार्य र सम्बन्ध विस्तार बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

अधिवेशनलाई सफल पार्न जापानका सबै संघ संस्था संगठनका साथै सर्वसाधारणमा संगठनले अनुरोध पनि गरेको छ  ।

No description available.

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर