२०८२ असोज १७ गते शुक्रवार / Oct 03 , 2025 , Friday
२०८२ असोज १७ गते शुक्रवार
Ads

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड हुँदा ३९ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असोज १२ गते १२:०२
तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड हुँदा ३९ जनाको मृत्यु

एजेन्सी : भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३९ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । 

मृतकमध्ये आठ जना बालबालिका रहेका छन् ।

करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौं समर्थक सहभागी भएका थिए । भिड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन् । अत्यधिक गर्मीका बीच घण्टौं ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार विजयले आफ्नो अभियान गाडीबाट र्‍यालीलाई सम्बोधन गर्दा कम्तीमा ३० जना बेहोस भएका थिए । उनीहरूलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। अवस्था गम्भीर हुँदै गएपछि विजयले भाषण बीचमै रोकेका थिए, तर केही समयपछि फेरि निरन्तरता दिएका थिए । अन्ततः विशाल भीडमा असामान्यता देखिएपछि भाषण पूर्ण रूपमा रोकिएको थियो ।

दुर्घटनाको केही घण्टापछि विजयले सामाजिक सञ्जाल ‘एक्स’ मा दुःख व्यक्त गर्दै लेखेका छन्, “मेरो हृदय टुक्रिएको छ । म अवर्णनीय पीडा र दुःखमा छु जुन शब्दले व्यक्त गर्न सकिँदैन ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनालाई ‘गहिरो दुःखदायी’ भन्दै शोक प्रकट गरेका छन् । “मेरा विचारहरू ती परिवारहरूसँग छन् जसले आफ्ना प्रिय गुमाएका छन् । म सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,“ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

तमिलनाडुमा फिल्म स्टारहरूलाई विशेष सम्मान दिइन्छ र उनीहरूको लोकप्रियता राजनीतिमा समेत प्रभावशाली देखिन्छ । विजयले सन् २०२४ मा अभिनयबाट अवकाश लिएर आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए । उनले आगामी चुनावमा उम्मेदवारी दिने योजना स्पष्ट नगरे पनि उनको राजनीतिक यात्रा सुरु भइसकेको छ ।

ADV

सम्बन्धित खबर

Advertise