२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ

shivam cement
मध्यान्ह
२०८२ असोज ३१ गते ०७:४५
सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ

मुस्ताङ : झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।

राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ ।

समुद्री सतहको करिब तीन हजार मिटरभन्दा माथि उचाइको भिरालो स्थान चाखोपानी खोलाको भिरको थुम्कोमा सिमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा इन्द्रप्रसाद थकाली बताउँछन् ।

सुरुआती चरणमा यहाँ सिमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई बस्ती बसालेर स्थानान्तरण गरेको अगुवा उनको भनाइ छ ।

त्यस समय यहाँ बस्ती बसालेर सिमाना रक्षाका खटिएका समूहलाई दुःख, बिरामी हुँदा झारफुक गर्ने र दैवी तथा प्राकृतिक प्रकोपबाट मुक्त गराउन पूजापाठका लागि ठिनीका राजाले त्यहीका झाँक्री फोपे समूहलाई पनि चिमाङ गाउँमै स्थानान्तरण गरेका अगुवा थकालीको भनाइ छ । त्यसपछि यहाँ ठिनीका राजाको सिमाना कुर्न ध्याकल र झाँक्री फोपेको संयुक्त बस्ती बसेको बताइन्छ ।

यहाँको चिमाङ गाउँ राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकबाट कालीगण्डकीपारि अग्लो स्थानमा अवस्थित रहेको कृषि गाउँका रूपमा परिचित छ । यहाँ सुरुआती चरणमा ३५ घरपरिवारको बसोबास रहेकामा पछिल्लो समय यो बस्ती मिश्रित बस्तीका रूपमा परिणत भएको छ ।

सीमारक्षाका लागि त्यस समय बसेको चिमाङ बस्तीका एकतिहाइ घरपरिवारले बस्ती छाडिसकेको चिमाङका अगुवा इन्द्रप्रसाद थकाली बताउँछन् ।

उनका अनुसार यहाँका कतिपय घरपरिवार वैकल्पिक व्यापार व्यवसाय र रोजगारीका लागि पोखरा–काठमाडौँलगायत सहरमा पलायन भएका छन् ।

गाउँमा कृषिबाहेक अन्य सम्भावना नरहेको र भौगोलिक रूपले समेत विकट स्थानमा रहेकाले बस्तीमा पुराना मानिसको सङ्ख्या घट्दै गएको छ ।

त्यसो त यहाँको पुरानो बस्ती चिमाङमा स्थानीय घरपरिवारले बस्ती त्यागे पनि रुकुम, धादिङ र म्याग्दीबाट मानिस यहाँ आएर बस्न थालेका छन् । यहाँ स्थानीय दलित समुदायको पनि करिब पाँच(छ घर रहेको उनको भनाइ छ । तीन गाउँले थकाली समुदायका रूपमा यहाँको घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ र चिमाङ गाउँ रहेका छन् ।

यहाँको चोखोपानी खोला नजिकै भिरालो पाखोमा बसेको चिमाङ गाउँमा परम्परागत पुराना सांस्कृतिक घरहरूको बनावट निकै लोभलाग्दो र आकर्षक देखिन्छन् । निलगिरि हिमालको फेदैमा अवस्थित घना जङ्गलको मुनि चिमाङ गाउँ अवस्थित छ । यो गाउँ थकाली समुदायको सांस्कृतिक गाउँका रूपमा समेत परिचित छ ।

भौगोलिक जटिलता भएको स्थानमा त्यस समय ठिनीका राजाले बस्ती बसालेका भए पनि त्यहाँ बसोबास गर्नेहरूको दैनिकी निकै कष्टकर नै थियो । नागरिकको आधारभूत सेवा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र प्रशासनिकलगायतका सेवा निकै असहज थियो । गाउँसम्म पुग्ने सडक, सञ्चार, विद्युत् र कालीगण्डकी नदीमा पुल नहुँदा यहाँका नागरिक विभिन्न प्रकार सास्ती भोग्न बाध्य थिए ।

गाउँका पुराना परम्परागत गुजमुज्ज घर पनि वर्षौँवर्षदेखिको घामपानीका असरले जीर्ण बन्दै जान थालेका छन् । परम्परागत घरको संरक्षण गर्न चासो नपुगेकै कारण कतिपय घरको अवस्था दयनीय रहेको छ

पछिल्लो समय यस गाउँको स्वरूपमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको छ । गाउँमा आधारभूत तह ९१–५० सम्मको शिक्षा उपलब्ध गराउन विद्यालय खुल्यो । तर यहाँ बस्ती विस्थापित हुने क्रम, जन्मदर घट्दो हुनु र केही हुनेखानेले सुगम विद्यालयमा पढाउनेलगायत कारण यहाँका विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम छ ।

त्यसैगरी, यहाँको चिमाङ गाउँमा स्थानीय नागरिकको स्वास्थ्य सेवाका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ । सेवाबाट चिमाङका नागरिकले साधारण उपचार गाउँमै पाएको अगुवा इन्द्रबहादुर थकालीको भनाइ छ ।

उनका अनुसार गाउँमा विद्युत्, सञ्चार, सडकलगायत सेवाको पहुँच विस्तार भएकाले चिमाङमा सम्भावना ढोका खुलेको उनले बताए । हालै कालीगण्डकी नदीमा पक्की पुल बनेको र गाउँसम्म जाने कच्ची सडक विस्तार भएकाले गाउँसम्म मोटर पुग्न थालेको छ ।

जलवायु परिवर्तन र वन्यजन्तुको आतङ्कले चिमाङ गाउँका स्थानीयलाई निकै हैरानी बनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ बगैँचा व्यवस्थापन गर्ने समयमा हिउँ नपर्दा कृषि उत्पादनमा प्रतिकूल असर पुगेको अगुवा थकाली बताउँछन् ।

यहाँ स्याउलगायत अन्नबालीलाई पर्याप्त चिस्यान चाहिने र अनुकूल समयमा हिउँ नपर्दा उत्पादन कम हुने अन्नबालीमा विभिन्न रोगकीराको सङ्क्रमण देखिएको उनले बताए ।

त्यसैगरी, चिमाङका किसानले मेहेनतले गरेको खेती पनि संरक्षित वन्यजन्तु हिमाली कालो भालुले रातिको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको छ । यहाँका किसानले स्याउ र अन्य अन्नबाली जोगाउन रातिको समय थाल, टिन र ढ्याङ्गो ठटाएर भालु धपाउने काम गर्दै आइरहेका छन् ।

यहाँ किसानले उत्पादन गरेको अन्नबाली जोगाउन वैज्ञानिक रणनीति अख्तियार गर्नुपर्ने अगुवा थकालीले सुझाए । यहाँ केही वर्षअघि भालु धपाउने यन्त्र प्रयोग गरिएको भए पनि त्यो सफल नभएको उनले बताए ।

एक्यापले यहाँको खेतीयोग्य जमिनमा तारबार लगाएको भए पनि भालुको आतङ्क नरोकिएको उनको भनाइ छ ।

यहाँको प्राचीन बस्ती चिमाङ पर्यटकीय गन्तव्यका रूपमा पनि निकै सम्भावना बोकेको गाउँका रूपमा लिने गरिएको छ । चिमाङ गाउँबाट धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, मानापाथी हिमाल र निलगिरि हिमाल निकै मनमोहक र आकर्षक देखिन्छ । त्यसैगरी यहाँबाट कालीगण्डकी करिडोर, स्याउ बगानदेखि स्याङ, मार्फा, छैरो, टुकुचे, कोवाङ र नाउरीकोटलगायत आधा दर्जन गाउँ सुन्दर देखिन्छ ।

चिमाङ गाउँ जङ्गल सफारीका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । गाउँबाट केही माथिसम्म जङ्गल सफारीका लागि पदमार्ग निर्माण भएको छ । गाउँमाथिको जङ्गलमा गुफा अवस्थित छ । यहाँ राउण्ड अन्नपूर्ण चक्रीय पदमार्ग रहे पनि पछिल्लो समय पदमार्गमा पर्यटक हिँड्न छाडिसकेका र पदमार्ग पनि जीर्ण बन्दै जान थालेको छ ।

गाउँमा रहेका पुराना घरहरू अहिले जोखिममा छन् । जलवायु परिवर्तनका कारण वर्षा धेरै हुन थालेपछि भिरालो सतहमा अवस्थित यहाँको चिमाङ गाउँ जोखिममा रहेको अगुवा थकालीले बताए । ‘पहिलापहिला त ठिकै थियो, अहिले त बढी पानी पर्न थालेको छ, वर्षाले भिर नै भासियो भने त बस्ती नै नरहने पो हो कि भन्ने चिन्ता छ’, उनले भने ।

गाउँका पुराना परम्परागत गुजमुज्ज घर पनि वर्षौँवर्षदेखिको घामपानीका असरले जीर्ण बन्दै जान थालेका छन् । परम्परागत घरको संरक्षण गर्न चासो नपुगेकै कारण कतिपय घरको अवस्था दयनीय रहेको उनले बताए ।

सरकारले सांस्कृतिक मौलिकता झल्काउने यस प्रकारका पुराना घर जोगाउन अनुदानका कार्यक्रम ल्याउन सकेमा राम्रो हुने उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise