
काठमाडौं : नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सीप सिकेर जाने प्रवृत्तिमा खासै सुधार हुन सकेको छैन । वैदेशिक रोजगार विभागबाट अघिल्लो वर्षको भदौ महिनाको तुलनामा यस वर्षको भदौ महिनामा गएका नेपाली श्रमिकको सीपको स्थिति हेर्दा खासै परिवर्तन देखिँदैन ।
विभागका अनुसार गत वर्ष भदौमा ६७ हजार ९७२ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाँदा १९ हजार १३५ जना अदक्ष श्रमिक गएका थिए । उक्त संख्या उक्त महिनामा वैदेशिक रोजगारीमा गएका कुल कामदारको २८.१५ प्रतिशत हो । यस वर्षको भदौमा ६० हजार ४२ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाँदा १६ हजार ५८ जना अदक्ष श्रमिक गएका छन् । यो संख्या भदौमा वैदेशिक रोजगारीमा गएका कुल कामदारको २६.७४ प्रतिशत हो । प्रतिशतको फरक २ प्रतिशतभन्दा बढी देखिँदैन ।
अदक्षको तुलनामा दक्षता हासिल गरेर जानेको संख्यामा पनि उल्लेख्य सुधार आउन सकेको छैन । यस वर्षको भदौमा ६० हजार ४२ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाँदा ३४ हजार १६७ जना र अघिल्लो वर्ष भदौमा ६० हजार ४२ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाँदा ३७ हजार ७० जना श्रमिक सीपयुक्त अवस्थामा रहेका थिए । यस वर्ष भदौमा सीप सिकेका कामदारको प्रतिशत ५६.९० र अघिल्लो वर्ष भदौमा ५४.५३ प्रतिशत देखिन्छ ।
नेपाली सीपविहीन अवस्थामा वैदेशिक रोजगारीमा जाने धेरै कारण रहेका छन् । त्यसमध्ये वैदेशिक रोजगारीमा जाने युवायुवतीहरूसम्म प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच नपुग्नु, उपलब्ध तालिमहरू बजारमुखी नहुनु, मलेसिया र खाडीलगायतका मुलुकबाट आउने रोजगारीको अवसर तथा निर्माण र अन्य क्षेत्रमा अधिकांश अदक्ष कामदारको माग आउनु तथा पारिवारिक आर्थिक समस्या टार्न छोटो प्रक्रियाबाट बिनासीप विदेश जान बाध्य हुनुजस्ता प्रमुख कारण रहेको देखिन्छ ।
नेपालबाट दक्षता हासिल गरेर जाने क्रम नभएको भने होइन । गत भदौको तथ्यांक अनुसार उच्चदक्ष १३ महिलासहित ८० जना, व्यावसायिक सीप भएका ५२ जना महिलासहित २७१ जना, अर्धदक्ष ९४९ महिलासहित ९ हजार ४६६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
दक्ष कामदारको तुलनामा कम तलब पाउने श्रमिकले समस्या भने धेरै व्यहोर्नुपर्ने श्रमिकहरू बताउँछन् । उनीहरूका अनुसार कामको तुलना वा सम्झौता गरिएको भन्दा कम तलब पाउनु, समयमै तलब नपाउनु, बिनाकारण तलब कट्टा गरिदिने, ‘थ्री–डी’ भनिने फोहोर, खतरनाक र अपमानजनक काममा संलग्न हुँदा दुर्घटनाको जोखिममा पर्ने, कोचाकोच रूपमा बस्नुपर्ने, स्वस्थकर खाना र पानी अभाव मात्रै नभएर बिरामी पर्दा उचित उपचार नपाउने समस्या भोग्नुपर्ने हुन्छ ।
रोजगारदाता वा एजेन्टले पासपोर्ट आफ्नो नियन्त्रणमा लिइदिँदा इच्छाअनुसार काम छोड्न वा स्वदेश फर्कन नपाउनेदेखि कतिपय रोजगारदाताले भिसा नवीकरण नगरिदिँदा अवैधानिक भई पक्राउ पर्ने वा जेल जाने खतरा रहने गरेको पनि उनीहरूको भनाइ छ ।