२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

ओलीलाई पेलेसँग तुलना गरेको अभिव्यक्तिको सान्दर्भिकता सकियो : कृष्णगोपाल श्रेष्ठ

Nada
२०८३ असोज ६ गते १४:५४
Shares
ओलीलाई पेलेसँग तुलना गरेको अभिव्यक्तिको सान्दर्भिकता सकियो : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं : नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले आफू कुनै पनि दबाब वा प्रभावमा परेर अघि बढ्ने व्यक्ति नभएको बताएका छन् ।

ncell

बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गर्दै आफूले यसअघि दिएको अभिव्यक्तिको सान्दर्भिकता अहिले समाप्त भइसकेको बताए ।

केही समयअघि श्रेष्ठले ‘केपी ओली इज केपी ओली, फुटबलको पेले जस्तै’ भन्दै दिएको अभिव्यक्ति चर्चामा आएको थियो । पछिल्लो समय भने श्रेष्ठ ओलीको आलोचनात्मक धारमा देखिएका छन् ।

ओलीले पेलेसम्बन्धी आफ्नो पुरानो भनाइबारे प्रश्न गरेपछि श्रेष्ठले आफू कसैको ‘पेलान’मा पर्ने व्यक्ति नभएको जवाफ दिएका थिए । उनले आफ्नो पुरानो अभिव्यक्ति निश्चित समयसम्म सान्दर्भिक भए पनि पछिल्लो राजनीतिक परिस्थितिसँगै त्यसको अर्थ नरहेको स्पष्ट पारे ।

श्रेष्ठले आफूले ओलीलाई पेलेसँग तुलना गरेर दिएको अभिव्यक्ति नै फिर्ता लिइसकेको पनि बताए ।

उनका अनुसार एमालेभित्र पार्टीलाई थप एकताबद्ध र जनतामाझ लोकप्रिय बनाउने विषयमा छलफल सौहार्दपूर्ण रूपमा अघि बढिरहेको छ । उनले अघिल्लो बैठकमा आफ्ना धारणा राखेर बाहिरिएको भए पनि बैठक बहिष्कार गरेको भन्ने बुझाइ सही नभएको बताए ।

श्रेष्ठले पार्टीले बदलिँदो राजनीतिक परिस्थितिलाई बुझेर आफूलाई सुधार्न नसके गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए । उनले भने, ‘ग्राउन्डलाई बुझ्न सकेनौँ र आफूलाई सच्याउन सकेनौँ भने हामी सक्किनुपर्छ ।’

गत वर्ष भदौ २३–२४ मा भएको जेनजी आन्दोलनलाई उनले प्रतिगमन नभई क्रान्तिका रूपमा व्याख्या गरे । आफ्नै नेतृत्वमा सरकार रहँदा यति ठूलो आन्दोलन हुनु र त्यसबारे समयमै सूचना तथा जनभावना बुझ्न नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको उनको भनाइ थियो ।

श्रेष्ठले नेकपा जोगाउन नसक्नु पनि नेतृत्वको कमजोरी भएको उल्लेख गर्दै पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर