२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

नवलपुरका बाढी प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्न माग

Nada
२०८३ असोज १२ गते १३:३४
Shares
नवलपुरका बाढी प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्न माग

काठमाडौँ : अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ । 

ncell

बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद खनालले नारायणीको बहाव उच्च हुँदा अमलटारी, सेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको र सिंगो सुस्ता गाउँ नै डुबानको चपेटामा परेको जानकारी दिए । स्थानीय प्रशासनले २३५ घरधुरीका ११ सय नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि पानीको सतह घटेपछि पनि विस्थापितहरू अझै घर फर्कने अवस्था नरहेको उनले बताए । 

सांसद खनालले भने, ‘नदी तटीय क्षेत्रमा बाढी र डुबानले पुर्‍याएको क्षतिको गम्भीर समीक्षा गर्दै सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस् । साथै, यसको दीर्घकालीन समाधानका लागि विगतमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन तत्काल ऊर्जा मन्त्रालयबाट झिकाई कार्यान्वयन गर्न जरुरी छ ।’

बाढीका कारण कालीगण्डकी करिडोरमा पुगेको क्षति र बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे तथा पक्की पुलमा भएको क्षतिले नागरिकको आवतजावत ठप्प भएको उनले बताए । यसका साथै बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोले पुर्‍याएको क्षतिप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए । प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्व तयारी र विस्तृत अध्ययनको खाँचो रहेको खनालको भनाइ छ ।  

ताजा खबर

सम्बन्धित खबर