
काठमाडौँ : नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकबाट नेपाल आगामी कार्यकालका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन भएको हो ।
एआईआईबीको संरचनाअनुसार बैंकमा एक जना अध्यक्षसहित क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट उपाध्यक्ष रहने व्यवस्था छ । यसपटक नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्ष पदमा चयन भएको छ ।
वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन् ।
बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्ड टेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधार क्षेत्रमा हुने लगानी र पूँजी निर्माण विकासोन्मुख तथा कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि महत्वपूर्ण आधार रहेको बताए ।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । नेपालजस्ता विकासशील मुलुकको विकास आवश्यकता र वित्तीय क्षमता अनुकूल बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने उनको भनाइ थियो ।
वाग्लेले निजी क्षेत्रको लगानी आकर्षित हुने गरी वित्तीय स्रोत परिचालन गर्नुपर्नेमा समेत जोड दिए । स्वदेशी तथा विदेशी निजी पूँजीलाई पूर्वाधार विकासमा सहभागी गराउन बैंकको वित्तीय सहयोग लगानीमैत्री हुनुपर्ने उनले बताए ।
नेपालको एआईआईबीको उपाध्यक्ष पदमा चयनलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थामा नेपालको सहभागिता र भूमिकाको विस्तारका रूपमा हेरिएको छ । आगामी कार्यकालमा नेपालले बैंकको नीति तथा लगानीसम्बन्धी छलफलमा गैर–क्षेत्रीय सदस्य मुलुकको प्रतिनिधित्व गर्नेछ ।