२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँ : चिरिबाबु महर्जन

Nada
२०८३ असोज १७ गते १३:४६
Shares
ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँ : चिरिबाबु महर्जन

काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् ।

ncell

शनिवार ललितपुरमा ज्यापु समाजले आयोजना गरेको कार्यक्रममा महर्जनले पुनर्निर्माणका लागि बाँकी रहेका अधिकांश सम्पदाको कामसमेत अन्तिम चरणमा पुगेको बताए ।

महानगरपालिका र ज्यापु समाजको सहकार्यमा ललितपुरको संस्कृति, संस्कार तथा मूर्त र अमूर्त सम्पदा संरक्षणको काम भइरहेको उनले बताए । अधिकांश मूर्त सम्पदाको संरक्षण तथा पुनर्निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै उनले अमूर्त सम्पदाका क्षेत्रमा भने अझै केही काम गर्न बाँकी रहेको बताए ।

बजेट अभावका कारण विगतमा रोकिएका अमूर्त सम्पदासम्बन्धी कार्यक्रमलाई समेत अघि बढाउने तयारी भइरहेको महर्जनले जानकारी दिए ।

उनले भने, ‘ललितपुर महानगरपालिका र ज्यापु समाजको सहकार्यमा यहाँका संस्कृति, संस्कार, सम्पदा तथा अमूर्त सम्पदाको संरक्षण गरिरहेका छौँ। अधिकांश सम्पदाको काम सम्पन्न भइसकेको छ । केही सम्पदाको काम ९५ प्रतिशतसम्म पूरा भएको छ । अब बजेट अभावका कारण रोकिएका अमूर्त सम्पदाका काम पनि सुरु गर्न लागेका छौँ ।’

महर्जनले ज्यापु समाजले निर्माण गरेका भौतिक संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार ज्यापु समाजको भवन १६ हजार ५०० वर्गफिट र वृद्धाश्रम भवन २३ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण भएको छ ।

११० शय्या क्षमताको वृद्धाश्रम हाल सीमित क्षमतामा मात्रै सञ्चालन भइरहेको भन्दै उनले आगामी ६ देखि १२ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्न ज्यापु समाजलाई आग्रह गरे । वृद्धाश्रम २४ घण्टा सञ्चालनका लागि महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको उनले बताए ।

वृद्धाश्रममा पानीको समस्या समाधान गर्न ‘डिप ट्युबवेल’ निर्माणका लागि समेत बजेट व्यवस्था गरिएको महर्जनले जानकारी दिए । वृद्धाश्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न महानगरपालिका आवश्यक सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर