
क्वालालम्पुर : मलेसियाका पूर्वप्रधानमन्त्री दातुक सेरी नजिब रजाकले ५० मिलियन रिंगेट जरिवाना नतिरेसम्म जेलमै रहनुपर्ने महान्यायाधिवक्ता तान श्री मोहम्मद दुसुकी मोक्तारले बताएका छन् ।
महान्यायाधिवक्ता मोक्तारका अनुसार उक्त जरिवाना तिर्नका लागि कुनै निश्चित समयसीमा तोकिएको छैन । तर जरिवाना रकम भुक्तानी नभएसम्म नजिबले जेलमै बस्नुपर्नेछ ।
“जरिवाना नतिरेसम्म दातुक सेरी नजिब जेलमै रहनुहुनेछ,” उनले पत्रकारहरूसँग भने ।
उनले आज यहाँस्थित सेकोलाह केबाङसान पासिर होरमा महान्यायाधिवक्ताको कार्यालयको ‘मदानी एडप्टेड स्कुल’ कार्यक्रम उद्घाटनपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
मलेसियाका पूर्वराजा तथा वर्तमान जोहोरका सुल्तान इब्राहिमको अध्यक्षतामा बसेको संघीय क्षेत्रीय क्षमादान बोर्डको बैठकपछि प्रधानमन्त्री कार्यालयअन्तर्गतको कानुनी मामिला विभागले नजिबलाई सर्तसहित क्षमादान दिइएको निर्णय सार्वजनिक गरेको थियो ।
उक्त निर्णयअनुसार नजिबले ५० मिलियन रिंगेट जरिवाना भुक्तानी गरेको अवस्थामा आफ्नो बाँकी जेल सजाय घरमै नजरबन्दमा रहेर बिताउन पाउने व्यवस्था गरिएको छ । सो व्यवस्था आगामी २३ अगस्ट २०२८ सम्मका लागि लागू हुने उल्लेख छ ।
तर नजिबका कानुनी प्रतिनिधि तान श्री मुहम्मद सफी अब्दुल्लाहले यसअघि आफ्ना मुवक्किलले उक्त जरिवाना तिर्न सक्ने आर्थिक अवस्था नरहेको बताएका थिए । घरमै नजरबन्दमा बस्न पाउने व्यवस्थासँग जोडिएको मुख्य सर्तमध्ये ५० मिलियन रिंगेट जरिवाना भुक्तानी पनि एक हो ।
यसैबीच, नजिबलाई सहयोग गर्न सत्तारूढ दल युनाइटेड मलायस नेसनल अर्गनाइजेसनले ‘नजिब सोलिडारिटी फन्ड’ स्थापना गरेको छ । उक्त कोषमार्फत पार्टीका नेता, सदस्य तथा समर्थकलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ ।
जरिवाना रकम भुक्तानी नभएसम्म नजिबको जेल बसाइ जारी रहने महान्यायाधिवक्ताको पछिल्लो भनाइले उनको घरमै नजरबन्दमा बाँकी सजाय बिताउने सम्भावना तत्कालका लागि अनिश्चित बनेको छ ।