
(संसारभरि युद्धबाट पिडित नागरिकका पक्षमा)
हिँउदे झरी ओभाएपछि
घामको उभार बढेको छ आकाशमा ।
रापिंदै गएका बारी, बुट्यानहरु,
र उदात्त उडिरहेका चराहरु देखेपछि
खेत खोस्रिरहेको किसानलाई
माटोको गन्ध पनि मादक लाग्छ
र आफै आफैं रोमान्चित हुन्छ ।
डिलमा उम्रिएको मरौटी झार देखेर
छोरीले “परपरे” भनेको सम्झिन्छ
र मनमनै हाँस्छ आफैंले थाहा नपाउने गरि ।
समयले पुरिएर बग्न छाडेको कुलोलाई, उसले
खोस्रिएर कलकल बग्ने बनाउँछ ।
खेतमा उम्रिएका कुटिलकोसाका लहरालाई
सायद बालापनको स्मृतिले उद्वेलित भएर
त्यसै झाँगिन छोडिदिन्छ ।
घामको अचाक्ली बढ्दै गएपछि
कान पछिल्तिरबाट बगेको पसिनाको धारालाई
पटकपटक गम्छाले पुछ्छ, तर झिँजिइन्न कत्ति पनि
बरु डिलमा राखिएको करुवा उठाउँछ
आकाशतिर फर्किएर मुख बाउँछ
र आँतलाई सिञ्चिन खोज्छ ।
पानीको पहिलो बुँद आँतमा नपर्दै
उसले देख्छ— धुँवाले मडारिँदै गएको छ आकाश ।
त्यही मुस्लोमा निस्सास्एिर
खेतको डिल नजिकै वेपर्वाह खसेको
चरा जस्तो वस्तु पनि देख्छ ।
उसले आफ्नो दृष्टिंलाई नपत्याउन खोज्छ
पिरो हुँदै गएका आफ्नै आँखालाई करूवाको पानीले भिजाउँछ
चिम्सा बनेका आँखा तुँवालो छिचोल्ने गरि गाढेर हेर्छ
र देख्छ आफ्नै खुशीको अवसान ।
कसले हान्यो आकाशमा त्यो अहम्को गोला
जसले अकारण—
जलाइरहेछ मरौटी र कुटिलकोसाका झारहरू,
चुँडिरहेछ जीवनको आशा, र
भत्काइरहेछ जीवनको लय ?