-शुभनारायण कामती/मध्यान्ह
सिरहा : शास्त्रीय संगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएर पनि ओझेलमा परेका मिथिलाका साधक जगदेव कामत नेपालकै संगीत क्षेत्रको सबैभन्दा ठूलो र गरिमामय पुरस्कारबाट विभूषित भएका छन् । आजिवन शास्त्रीय संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा परस्कार –२०७५ बाट उनलाई विभूषित गरिएको हो ।
पछिल्लो समय पक्षाघातले पीडित भई सांगीतिक क्षेत्रबाट टाढिन बाध्य जगदेव प्रसिद्ध गायक एवं संगीतकार गुरुदेव कामतका जेठा दाजु तथा प्रारम्भिक गुरु हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा बुधवार काठमाडौँस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ एक लाख एक रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरिन् ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट कामतका साथै नाट्य विधातर्फ श्यामदास वैष्णव, संगीत विधातर्फ प्रेमध्वज प्रधान, रंगमञ्च विधातर्फ ओममणि शर्मा, नृत्य विधातर्फ हनी श्रेष्ठ र लोकसंगीत विधातर्फ प्रेमदेव गिरीले समेत जनही एक लाख एक रुपैयाँको प्रज्ञा पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार समर्पण समारोहमा परम्परागत तथा शास्त्रीय संगीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय संगीत साधक कामतको सांगीतिक योगदानबारे चर्चा गरे ।
यसैगरी नाटककार श्यामदास वैष्णवको योगदानबारे नाट्य विभाग प्रमुख प्राज्ञ निशा शर्मा, बरिष्ठ गायक प्रेमध्वज प्रधानबारे संगीत विभागका प्राज्ञ मेघराज शर्मा ‘मञ्जुल’, अभिनेता ओममणि शर्माबारे संगीत विभाग प्रमुख प्राज्ञ अशोक राई, नृत्य निर्देशक हनी श्रेष्ठबारे नृत्य विभाग प्रमुख प्राज्ञ नमूना शर्मा र लोकगायक प्रेमदेव गिरीबारे लोकसंगीत विभाग प्रमुख प्राज्ञ हरिदेवी कोइरालाले प्रकाश पारे ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को सभापतित्व तथा सदस्य सचिव श्यामप्रकाश तमोटको सञ्चालनमा आयोजित पुरस्कार समर्पण समारोहमा उपकुलपति हरिहर शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको विविध पक्षमा प्रकाश पारेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
को हुन् जगदेव कामत ?
सिरहा जिल्लाको पोखरभिण्डा गाउँमा आजभन्दा ७५ वर्षअघि बुवा रामजी कामत र आमा बौआबती देवी कामतको ज्येष्ठ सन्तानको रूपमा जन्मिएका जगदेवमा सानै देखि संगीतप्रति औधि आकर्षण र रुझान थियो । तर घरको दयनीय आर्थिक अवस्थाले गर्दा उनले विधिवत संगीतको शिक्षा आर्जन गर्ने मौका पाएनन् । गाउँमा विद्यालय नभएकोले बाहिर कतै गई पढ्ने वातावरण र सुविधा समेत उनलाई प्राप्त हुन सकेन । तर गीत–संगीतप्रतिको रुझानले गर्दा स्थानीय रूपमा हुने नाटक र नाचमा उनले जोड दिँदै गए ।
चाँडै उनी लोकप्रिय ‘गबैया’तथा ‘हारमोनियम–मास्टर’ का रूपमा स्थापित हुँदै गए । त्यो यस्तो समय थियो जति बेला गायक र वाद्यवादकहरूले शास्त्रीय संगीतको जानकारी राख्नु गौरवको कुरा मानिन्थ्यो । यो गौरव उनलाई गाउँकै शास्त्रीय संगीतमा निष्णात एक जमीन्दार वृजदेव रायबाट संगीतको शिक्षा पाएर प्राप्त भयो । ध्रुपद् गायनका लागि सिंगो भारत वर्षमै प्रसिद्धि प्राप्त अमता (दरमंगा) घरानाका शिष्य बृजदेवले संगीतलाई पेशा नबनाए तापनि उत्सुक र जाँगरिला युवाहरूलाई सिकाउने काम गर्दथे । यसको लाभ लिने भाग्यशाली मध्ये जगदेव समेत थिए ।
समय क्रममा जगदेवको पारिवारिक भरणपोषण गर्ने माध्यम पनि नाटक, रामलीला र नाचहरूमा गायन तथा वाद्यवादन नै हुन गयो । यस क्रममा उनको नाटक, नाच र रामलीला टोली जहाँ जहाँ पुग्थ्यो, त्यस ठाउँको वा वरपरका गुणी संगीतीज्ञहरूको साहचर्य प्राप्त गर्ने र संगीत सिक्ने मौका उनी गुमाउँदैनथे । यही सांगीतिक तिर्खा र अभ्यासले उनलाई संगीत क्षेत्रमा निरन्तर खार्दै लग्यो ।
सांगीतिक यात्राका क्रममा अहिलेका कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूलाई उनले प्रत्यक्ष परोक्ष संगीत सिकाउने काम पनि गरे । त्यसमध्ये भाइ गुरुदेव कामतको त औपचारिक गुरु नै उनी भए भने प्रसिद्ध गायक अभिनेता मुरलीधर पनि आफूले जगदेवबाट यथेष्ट लाभान्वित हुने मौका पाएको बताउँछन् । मुरलीधरका अनुसार उनीहरूले ग्रामीण मञ्चहरूमा हारमोनियम वादनमा जगदेव जत्तिको दक्षता भएको कलाकार नेपालको तराई मधेशमा मात्र नभई वरपरको भारतीय क्षेत्रमा पनि पाउन मुश्किल थियो । जगदेवका भाइ प्रसिद्ध गायक एवं संगीतकार गुरुदेव कामत दाइको शास्त्रीय संगीतमा दह्रो पकड रहेको स्वीकार्छन् । गुरुदेवका अनुसार जगदेव विलम्बित, बडा खयाल जस्ता दुरूह प्रकृतिका गायनमा पनि सिद्धहस्त थिए ।
गाउँदै बजाउँदै कालान्तरमा उनी संगीत प्रशिक्षणमा पनि संलग्न भए । प्रारम्भमा वरपरका भारतीय शहरहरूमा संगीत शिक्षण गर्दै आएका जगदेव पछि भाइ गुरुदेव कामतको अनुरोधमा काठमाडौँ आएर संगीत सिकाउने काममा लागे । तर घरायसी जिम्मेवारीहरूले गाउँभन्दा धेरै टाढा बस्न अनुकूल नभएपछि उनले आफ्नो कर्मथलो घरपायक ठाउँ उदयपुर जिल्ला गाईघाटलाई बनाए । गाईघाटमै सक्रिय रहँदाका बखत उनी पक्षाघातले पीडित भए । यसरी हाल सांगीतिक यात्रामा विराम लाग्नुका साथै आर्थिक लगायतका संकटबाट सक्त जुध्नुपरिरहेको छ । तर अझै स्वस्थ भएर संगीतमा लाग्ने तिर्खा भने उनमा बाँकी नै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies