प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल रामपुर क्याम्पसमा नाटक मञ्चन कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा रहेको साहित्यिक क्लबको आयोजनामा कार्यक्रम भएको हो ।
युवावर्गलाई राजनीतिको नाममा मुर्दाबाद र जिन्दाबादको दोसाधमा उभ्याएर बेरोजगार बनाएको र युवा विदेशिन बाध्य पारिएको चित्रलाई दर्शाउँदै 'देश र राजनीति' शीर्षकमा नाटक मञ्चन गरिएको हो । सत्तालाइ चुनौती दिँदै उज्जवल मार्ग देखाउने हेतु राज्यको नीति लागू गरी राजनीतिको वास्तविक अर्थ बुझाउनुपर्नेछ भन्ने नाटकको सार रहेको थियो ।
उक्त नाटक अञ्जली घिमिरेले लेखेकी हुन् । घिमिरेकै परिकल्पना र निर्देशनमा रहेको नाटक 'देश र राजनीति' हेरिरहँदा दर्शक पनि निकै गम्भीर मुद्रामा देखिन्थे । नाटकमार्फत देशको वास्तविक अवस्थालाई देखाउने प्रयास गरिएको थियो । घटना, पात्र र परिवेशमार्फत हालसम्म भइरहेको सत्ताको हानथापलाई नाटकमार्फत देखाउँदा नाटक रुचीकर बनेको लेखिका एवम् निर्देशक घिमिरे बताउँछिन् ।
आफ्नो शक्ति र स्वार्थका लागि हुने आपसी टकराव, संघर्ष र लुछाचुँडी तथा यसको युवामा पर्ने प्रभावलगायतका विषयवस्तु नाटकमा रहेको थियो । नाटकमा देशमा भइरहेका गतिविधिलाई दर्शकले नजिकबाट बुझ्न पाएको आयोजकले बताएको छ ।
देश बिर्सिएका कयौं युवावर्गलाई स्वदेश फर्किएर कर्मठशील बनेर आफ्नै देशमा मिहिनेत र संघर्ष गर्नुपर्छ भन्ने उद्देश्यलाई आत्मसात गर्दै कार्यक्रमको आयोजना गरिएको हो । लेखिका घिमिरे भन्छिन्, 'अस्तव्यस्त जनजीवनलाई नियाल्दा चिसो पसेको छ देशप्रेमी हुँ भन्नेहरुको हृदयमा । देशका लागि प्रस्फुटित हुन नसकेका लाखौं भावनाहरु नाटकद्वारा मञ्चन गरी देशप्रेमको वास्तविक अर्थ बुझाउन सफल भयौं ।'
कार्यक्रममा मन्तव्य राख्दै क्याम्पसका प्रमुख हेमबहादुर थापाले क्याम्पसमा रहेका विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई क्याम्पसले सधैं उचित स्थान दिने बताए । विद्यार्थीको प्रतिभा उजागर गर्न आफूहरु लागिपरिरहेको उनको भनाइ थियो । औपचारिक कार्यक्रममा साहित्यिक क्लबका संरक्षक एवम् यदुलाल पन्तको अध्यक्षता, क्याम्पस प्रमुख हेमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने साहित्यिक क्लबकी प्रमुख अञ्जली घिमिरे (सुप्रियाञ्जली)को स्वागत एवम् सुशीला गाैतमको सञ्चालनमा कार्यक्रम क्याम्पसको हलमा सम्पन्न भएको हो ।
नाटकमा समावेश कलाकारहरुमा अमरिता हिताङ्ग (काका), सुप्रीयान्जली घिमिरे (बा र शोभा छोरी), सलिना घर्ती मगर (छोरा), सुशीला गौतम (रमिला र वकिल), प्रतीक्षा क्षेत्री (नेता), प्रतीक्षा थापा (आमा र पागल चन्द्रे), रोशन जङ्ग क्षेत्री (सिपाही) र लक्ष्मी पराजुली (नरेन्द्र र सिपाही) रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies