–सुमन तिमिल्सेना
पुसको यो बिहान साह्रै जाडो छ । तुवाँलो उठेर वातावरण धुमिल भएको छ । सडकमा कि त हामी जस्ता साग, गोलभेडा, लसुन, प्याज आलु बेच्नेहरू छन्, कि त क्याम्पस जान हिँडेका विद्यार्थीहरू छन् । यात्रु कुरिरहेका गाडी त्यस सम्बद्ध मजदुरहरू पनि छन् ।
म कराइरहेछु, “पचासमा तीन मुठ्ठा साग ! ककनीको साग हजुर लैजानुस हजुर ! सस्तो हजुर !”
नेपालटार पुलनेर एकजना अधबैंसे महिला देख्छु । उनको पहिरनले झल्काउछ उनी शहरिया हुन् । यस्तो लाग्थ्यो उनको गाउँ छोडेको दर्जनौं वर्षहरू बितिसके । अधबैंसे महिला मेरा नजिक आएपछि सोध्छिन्, “तपाईंको घर कता हो ? चिने जस्तो लाग्यो नि हौं भाई ।”
“नुवाकोट हजुर”, म जवाफ दिन्छु ।
“भाइको नाम रमेश हो ?” अधबैंसे महिलाले मलाई चिनेकोमा चक्कित पर्छु ।
सोध्छिन्, “तुफानलाई चिन्नु हुन्छ ?”
“अहो ! कमरेड तुफानलाई नचिन्ने को होलान् र हाम्रो भूगोलमा ?” म एकै सासमा भन्छु । फेरि कराउँछु, “सयमा तीन मुठ्ठा !”
“म तुफानको श्रीमती”, उनी भन्न थाल्छिन्, “तपाईंले तरकारी बेच्नुहुन्छ भनेर तुफानलाई थाहा छ ? श्रममा जोडिनु राम्रो हो भनेर उनी मलाई भनिरहन्छन् । म पनि श्रम जोडिएको छु रमेश । बुढाले अति गरेपछि एउटा सानो बोर्डिङतिर जोडिएको छु ।”
“अनि मेरोबारे के भन्नुहुन्छ तुफान कमरेडले ?”, मलाई जिज्ञासा लाग्छ ।
“जनयुद्धताका तपाईंको घरमा सेल्टर बसेको कुरा सुनाउनु हुन्छ । डाँडागाउँ भिडन्तताका तपाईंकै परिवारको कारण बाँचेको कुरा पनि सुनाउनु हुन्छ । तपाईं पनि विद्यार्थीमा राम्रै मान्छे हुनुहुन्थ्यो रे ! अस्ति संसदमा उहाँ युद्धबाट पीडित भएकोहरूको पक्षमा दुई मिनेट बोल्नु भयो । सुन्नु भयो नि ?”
महिलाले लामो बेलिबिस्तार लगाएपछि म झस्किन्छु । जनयुद्धलाई विर्सिसकेकाहरूले युद्धको बारेमा संसदमा के बोले होला भनेर मनमनै सोच्छु ।
कराउँछु, “पचासमा तीन मुट्ठा हजुर !”
“भाइ व्यस्त जस्तो लाग्यो, मलाई छ मुठ्ठा राख्दिनु”, उनी मेरो उसैगरी बोल्छिन्, “नगरपालिका उप मेयर हाम्रै पार्टीका हुन । यसरी सडक अबरुद्ध नगर्नुस् । बरु सटर लिएर काम गर्नु । कानुन कडा छ ।”
“म भन्छु हुन्छ हजुर सकेसम्म सटरमा नै तरकारी बेच्ने सोचेको छु”, मलाई उनको आदर्श सुन्न फुर्सद थिएन । मलाई झ्याउ लागिरहेको थियोे ।
उनी साग लिएर बिदा हुन्छिन् । म तुफान, हुरी र आगो बलेको त्यो समयमा पुग्छु । ममा एकप्रकार क्रान्तिकारी भाव उपन्न हुन्छ ।
–––
जंगलको छेउको एकान्तमा थियोे हाम्रो घर । खुशीराम पाख्रीनको गीतमा आउने ‘कालो बनको बिचैमा भरियाको गाउँ’ भन्न सुहाउने एउटा सानो बस्ती थियोे हाम्रो । हाम्रो देशको शासन व्यवस्थाले पछाडि पारेको बस्ती थियोे । क्रान्तिकारीहरूको आधार इलाका थियोे हाम्रो गाउँ । बुवा पन्चायतकालदेखि नै मशालको कार्यकर्ता हुनुहुन्थ्यो । मोहन वैद्य ‘किरण’ उल्का राम्रा नेता हुन् भनेर मैले बाकै मुखबाट सुनेको हुँ । बा जनयुद्धमा सहभागी त हुनु भएन, चुनावहरूमा भोट पनि हाल्नु भएन, स्थानीय राजनीतिक दलको आँखामा बा भूूमिगत राजनीति दलकै कार्यकर्ता दरिनु भयो । बासँग संसदीय राजनीति गरिरहेका दलका नेताकार्यकर्ता रिसाए । पटक–पटक स्थानीय प्रशासनले उनलाई तारिखमा मात्र बोलाएनन्, यातनासमेत दिइरहे । सबैलाई थाहा थियोे, हाम्रा बा ग्रामीण गाउँका एक किसान हुन् । यति चाहिँ हो, अरु किसानमा भन्दा उहाँमा राजनीतिक चेतना अब्बल थियो । एउटा किसानमा राजनीतिक चेतना हुनु, अपराध पनि थिएन । नेपाल अधिराज्यको संविधान, २०४७ ले व्यक्तिलाई पूर्ण राजनीतिक अधिकार दिएको कुरा पनि सत्य थियोे ।
तुफान बाका कार्यकर्ता थिए । बा मसालको गाविस इन्चार्ज हुँदा तुफान पार्टीको समर्थक थिए । बा भन्थे तुफान इमानदार मान्छे हुन् । वैचारिक, सांस्कृतिक र राजनीतिरूपमा तुफानलाई दाग लगाउने ठाउँ नै छैन ।
तुफानको सेल्टर थियोे हाम्रो घर ।
मंसिरको कुनै दिन म विद्यालयबाट फर्किदै थिए । डाँडागाउँको प्रहरी चौकीमा बम पड्केको भयानक आवाज आयो । डरको कारण मेरो मुटु जोडले धडकिन थाल्यो । वातावरण कुहिरोले ढाकिएको थियोे । अँगेरीको बोटमा बसेका भगेराहरूलाई जाडोले सताउन थालेको थियो । सल्लाका रुखमा बसेका मलेवाहरू झोँक्राएका थिए । शीतले वातावरणलाई कक्र्याएको थियोे । कागहरू जोड जोडले कराएरहेका थिए ।
चौकीभन्दा एक किलोमीटर पर रहेको ममा छट्पटी बढ्न थालेको थियो ।
मैले बालाइ सम्झे । आमालाई सम्झे । तुफानलाई सम्झे । मामाघरमा रहेको बैनीलाई सम्झे ।
घरमा आउँदा बा थिएनन् । आमाको अनुहार खडेरीले सुकाएको डाँडा जस्तै उदास थियोे । मलाई हेर्दै आमाले भन्नुभयो, “कान्छा तेरा बा केही महिना काठमाडौं बस्ने रे, यता बस्न डर भयो । बसन्तलाई पनि मार्यो रे ! अनि तुफान पनि घाइते छन् रे ! आजको देखेको सपना पूूरा भो कान्छा । मेरो सपना सुल्टा हुन्छन् कान्छा”, आमाले बोल्दा उनका ओठमा थरथराहट थियोे ।
झम्के साँझमा आमाले चामलको पिठोको खोले पकाउनु भयो । गहुँको पिठोको खुल्ले रोटी पनि पकाउनु भयो । मतिर हेर्दै भन्नुभयो, “कान्छा जाउ कालो ढुंगाको ओढारमा । बाहरू त्यतै छन् ।”
साँझ ढलेर रातको उन्माद चढ्दै थियोे । हामी जंगलको बाटो हिँडदै थियौं । अन्धकार रातमा हिँड्दा पनि खासै असजिलो लागिरहेको थिएन । किनकि आमालाई जंगलको गोहो थाहा थियोे । हामीले बत्ति बोकेका थिएनौं । बत्ती बोक्नु यो संकटकालको समयमा काल निम्ताउनु हो भनेर मेरो अनपढ आमालाई थाहा थियो ।
एउटा ओढारमा कमरेड तुफान घाउ दुखेर कराइरहेका थिए । तुफानको चित्कारले वातावरण नै दारुण भएको अनुभुति हुन्थ्यो । उनको घाउबाट बगेको रगत देख्दा मेरो मुटु काम्यो ।
आमाले तत्काल ‘अपुतो र तीतेपाती’ खोज्नु भयो । मेरो अनपढ आमालाई थाहा थियोे, अपुतो यस्तो औषधि हो, जसले घाउमा रगत बग्न दिँदैन । अपुतो कुटेर लगाएपछि अलि सन्चो महशुस गरे तुफानले । बालाई समेत भनेर ल्याएको खोले एकै गाँसमा बुत्याए पनि । ७२ घण्टापछि पाएको थोरै अन्नको तरानले पनि उनी झुपुक्क निदाए । ओढारमा जाडोको तिब्रता कायम थियोे । रात ढल्कँदै गर्दा जाडो झन् बढेको थियो ।
संकटकालको यस्तो दारुण क्षणमा तुफानलाई आफ्नो घाउ पाक्छ भन्ने डर थियो । त्यो रात चिसो झोक्काहरूलाई सहँदै हामी ओढारमै निदायौँ । त्यही रात तुफानलाई एक घण्टा टाढाको ओढारमा लुकाउनु भयो बाले । त्यसपछि बा पनि गायव हुनु कालो बनको बिचैमा रहेको भरियाको गाउँबाट ।
भोलिपल्ट बिहानै प्रशासनले हाम्रो घरमा छापा हान्यो । आमाका कोखामा केही लात हानेपछि प्रशासनका हाकिमहरूले आफ्नु पुरुषार्थ उचाईमा पुगेको ठाने । मलाई चाहिँ एउटा अनपढ र उपेक्षित महिलामाथि हानिएको लातहरू प्रति घृणाभाव पैदा भयो । आज पनि मेरो त्यही मान्यता छ, अबलाहरूमाथि हुने जुनसुकै प्रहार पनि घृणित हो हिंसाको पराकाष्ठा हो ।
मलाई दशैंमा भेडालाई घिच्याए झैं घिच्चाइयो । प्रशासनले मलाई क्रान्तिकारीका भैराटे भन्दै चौकी पुर्याए । मेरो कोखामा लात हानियो, छातीमा लात हानियो, दाँत झर्ने गरी हानियो, आँखै फुट्ने गरी हानियो, सोधियो, “जिल्लाका वरिष्ठ नेता तुफान फटाहा कहाँ छ भन ?” जति लात खाएपनि भने मलाई थाहा छैन भनिरहे । वास्तवमा मलाई तुफान कहाँ छन् भनेर थाहा थिएन । यातनासहित मलाई हिरासतमा जाकियो, निरन्तर यातना दिने क्रम जारी रह्यो ।
दिउँसो अनौठो घटना घट्यो । मेरो विद्यालयका सारा विद्यार्थी र शिक्षकहरूले चौकी घेरे । स्थानीय मानव अधिकारवादीहरूले चासो दिए । नारा लाग्यो, “निर्दोष विद्यार्थीलाई रिहा गर !” मानिसहरूको घुइँचो र विरोधको वातावरणले मलाई हिरासतबाट रिहा गरियो । म यातनाले शिथिल भएको थिएँ । मनमा डरको भूूकम्प गएको थियोे ।
भोलिपल्ट मलाई फेरि क्रान्तिकारी साथीहरूले ओढारमा बोलाए । एकजना कमान्डरले मलाई पटक–पटक गालामा थपड लगाए, अरु केहीले लात पनि बर्साए । प्रतिक्रियावादी सत्ताका भरौटेहरूसँग मिले पार्टी कडारूपमा प्रस्तुत हुने भनेर बेलुकीपख छोडियो । भर्खरै पार्टीमा जोडिएका ती कमरेडहरूलाई यस्तै गतिविधि गर्दा आफ्नो क्रान्तिकारी व्यक्तित्व उचाइमा पुगेको महशुस हुन्थ्यो सायद । उनीहरू मलाई सवक सिकाएकोमा प्रफुल्ल देखिए ।
आमाले कुखुरा पालेर मलाई र सानी बैनीलाई हुर्काउनु भयो । बैनी त धेरै जस्तो मामाघर नै बसी । बुबा हिमाञ्चलतिर कृषि फर्ममा काम गर्नुहुन्छ भनेर चिठीमार्फत थाहा भयो । संकटकालको समयमा आमाले खेतपातिभन्दा धेरै तारिख धाएर बिताउनु भयो । समयक्रममा प्रहरी नजर हाम्रो घरमा कम पर्न थाल्यो । आमाले तारिख धाउन नपर्ने वातावरण पनि बन्यो ।
तुफानहरूको टोली पÞmेरि पनि हाम्रो घरमा आउन थाले । अन्नको अभाव उस्तै थियोे । कहिलेकाहीँ उनीहरू चामल दाल लग्थे । कटेरामा पकाएर खान्थे र फर्किन्थे । मलाई कमरेड तुफानले चिनियाँ उपन्यास ‘चम्किलो रातो तारा’ उपहार दिएका थिए । विद्यार्थी संगठनमा जोडिदिएका थिए । ममाथि भएको आक्रमणप्रति उनले दुःख व्यक्त गरेका थिए । तुफान मलाई अरु नेताभन्दा राजनीतिक, व्यवहारिक र वैचारिक लाग्थ्यो ।
आमा बिरामी हुनुहुन्थ्यो । स्थानीय प्रशासन दिएको यातनाले ढाडको हड्डी भाचिएकोले उनलाई झरी बादलमा काम गर्न असजिलो हुन्थ्यो । राती आमाले ऐया ऐया भन्दा मलाई असह्य पीडा हुन्थ्यो । मलाई आमाको व्यक्तित्व, क्षितिज जस्तै फराकिलो लाग्थ्यो । युद्धग्रस्त क्षेत्रमा आमाले गरिरहेको युद्ध मलाई भव्य लाग्थ्यो । युद्ध कहिलेकाहीँ हतियारबिहीन पनि हुन्छ । जस्तो आमाले यो संकटकालमा बाँचेको जिन्दगी युद्धभन्दा कम थिएन ।
जसै खारा आक्रमणपछि पार्टीको मुल नेतृत्व शान्ति सम्झौतामा आउने भयो । अहिलेको ठोस स्थितिको ठोस संश्लेषण यही हो । तुफानले यसो भनेको एक महिनापछि बृहत शान्ति सम्झौता भयो । मुलुकमा पÞmेरि चुनावको वातावरण छायो । हाम्रो क्षेत्रमा कमरेड प्रखर अत्याधिक मत ल्याएर विजय भए । तुफान त्यो चुनावी मोर्चाको प्रमुख कमान्डर थिए । बा पनि घर आएका थिए । धेरै पछि बाले चुनावमा झण्डा बोके । अन्ततः प्रखरमा उहीँ संसदीय नेताहरूमा हुने गुण विकास भयो । उनी पनि बालुवा तस्करीदेखि अनेकौं काण्डमा स्खलित भए । प्रतिक्रियावादी सत्तामा पुगेपछि प्रखर त्यस्तै हुनु स्वाभाविक हो, बा भनिरहन्थे ।
म काठमाडौं आएँ । उत्कृष्ट अंकसहित उच्च शिक्षा हासिल गरेँ । विद्यार्थी राजनीति पनि गरे । क्रान्तिकारी विद्यार्थी आन्दोलनप्रति सधैँ सम्मान र आदर रह्यो । बुर्जुवा शिक्षाको उकालो चढेपनि म जीवनको मोर्चामा हारेँ । जीवनको मोर्चा संकटग्रस्त भइरह्यो ।
एकदिन मैले निर्णय गरे, “म कतार जान्छु ।” बाले गाउँबाट गैरी ओढारको खेत बेचेर पैसा पठाए । मैले बालाई भनेको थिएँ, “तपाईंको बुढेसकालमा म साहारा जसरी पनि बन्छु बा !” पैसा भएपछि राजनीति गरौंला । हामी पनि नेता बनौला । समाजले हामीलाई असल भन्ला ।
मेनपावरले भनेजति पैसा बुझाएर म कतार पुगेँ । कतार पुगेको चौथो महिनामा नै म एउटा घरमा रंग लगाउने क्रममा लडे । झण्डै ७२ घण्टा बेहोस अवस्थामा पुगेँ । मेरो देब्रे हात छिन्यो । खुट्टाको हड्डी पनि भाँचियो । आर्थिक संकटले गर्दा उपचारमा निकै कठिनाई भयो । मलाई पर्नसम्म पिर पर्यो ।
कमरेड तुफानकै मित्र राममणी कतार दूतावासमा कार्यरत थिए । बाले पटक–पटक तुफानलाई अनुरोध गरेपछि, तुफानले एक लाख तीस हजार पैैसा लिएर, बाले बाँकी रहेको जमिन बेचेर मलाई नेपाल झिकाउनु भयो ।
त्यसपछि ममा जीवनप्रति झन् जोस जाग्यो । बिद्रुप राजनीतिभन्दा तरकारी बेच्ने पेशा महान् हो भनेर म काठमाडौंमा तरकारी बेँच्न थाले । म सुकुम्बासीबाट मुक्त हुनु थियोे । बाआमाको जीवनमा लागेको गहिरो घाउ पुर्नु थियो मलाई । जीवनको युद्धमा घाइते भएपनि शाहसको यात्रामा म कसरी घाइते हुन सक्छु र ?
क्रान्तिकारी नेताहरू फेरिएका थिए । उनीहरू कानुन, नैतिकता, इमानदारीता र शैक्षिक डिग्रीको कुरा गर्न थालेका थिए । कमरेड तुफान शहरका महँगा रेस्टुरेन्टमा भेटिन थालेका थिए । सुकिला मुकिलाहरूसँग उनको नित्य भेट हुन थालेका थियो । उनले कालो वनको बिचैमा रहेको भरियाहरूको गाउँ बिर्सिसकेका थिए । उच्च मध्यम वर्ग क्रान्तिको सहयोगी शक्ति हो भनेर उनी टेलिभिजनमा बोलिरहेका हुन्थे, पत्रपत्रिकामा लेखिरहेका हुन्थे । निम्न वर्गका मान्छेको लागि क्रान्ति चाहिने भएपनि दैनिक आवश्यकताका कारण उनीहरू त्यसैमा भुलिने हुँदा क्रान्ति मध्यम वर्गले मात्र गर्छ भनेर सार्वजनिक बोलेको सुनिन्थ्यो । स्पष्ट थियोे, तुफानको मध्यम वर्ग तुफानको लागि भोट दिनेहरू थिए । तर, उनलाई सबैभन्दा धेरै भोट हामी जस्तै मान्छेले दिएका थिए । जो मध्यम वर्ग हुन सकेका थिएनन् ।
मेरो एउटा हात छिनेको थियोे । मलाई अपाङ्ग भन्नेहरू थुप्रै थिए । मलाई अपाङ्ग भनेपनि अपाङ्ग नाउँमा सहानुभूति जनाएको मन पर्दैन थियोे । कैयौँ सपाङ्ग भनिनेहरूले भन्दा धेरै श्रम मैले नै गरिरहेको थिएँ ।
जब चिसो वातावरण आउँदथ्यो । हड्डी दुखेर खपिनसक्नु हुन्थ्यो । जुनसुकै युद्धमा घाइते भएपनि घाउहरूको काम दुख्नु हो ।
–––
म टोलाइरहेको थिए । महानगरको नगर प्रहरीले जबरजस्त मेरो सबै तरकारी ट्रकमा लोड गरे । एकजनाले प्रहरीले जोडले मेरो खुट्टामा हिर्कायो । मलाई पीडाले नराम्रोसँग घोच्यो । अहो एघार बजिसकेको रहेछ । यसरी टोलाउँदै चिया खाँदै नबसेको भए ११६० घाटा हुँदैन थियोे । मेरो जग्गा किन्ने सपनामा एउटा इट्टा थपिने थियो । थुक्क रमेशे ।
एकैछिन सांसद तुफानले संसदमा भाषण गरे, “फुटपाथ व्यवसायी उपर महानगरले चलाएको अभियान क्रान्तिकारी छ । सुन्दर शहर निर्माणमा यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ । फुथपाथमा सामान बेचेर शहरको सौदर्य बिगार्नु पनि अपराध हो ।”
हिजो गाउँको ओढारमा खोले खाएर हुर्केकाहरूले सुन्दर शहर निर्माण गर्ने भाषण गरेपछि सुकिला मुकिलाहरू मुकाममा खुशी छाएको थियोे । म चाहिँ तरकारीको गाडा फिर्ता हुन्छ भनेर महानगरको छिँडिमा कर्मचारीलाई पर्खिरहेको थिएँ । जीवनमा असफल एउटा हुनु कुरा हो । सानो असफलताबाट जीवनबाट हार मान्नु हुन्न मेरो मान्यता हो । यस्तो भावना हामी जस्ता मजदुरमा सधैँ जिवित हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies