-रेशमराज पौडेल
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे तीन लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अवधिमा ३ लाख ४३ हजार ४ सय ११ जनाको श्रम स्वीकृति भएको छ । नेपाली कामदारका परम्परागत श्रम गन्तव्य मुलुकहरूमा आर्थिक मन्दी, प्राकृतिक प्रकोप वा राजनीतिक उथलपुथल नभएको अवस्थामा चालु आर्थिक वर्षको अन्त्यसम्म ७ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारी जाने छन् । जुन अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीको हाराहारीको आँकडा हो । मुलुकमा आन्तरिक रोजगारी सिर्जना हुने लक्षण नदेखिएको अवस्थामा आगामी आर्थिक वर्षमा पनि न्यूनतम रूपमा वार्षिक सात लाखभन्दा बढी नेपाली रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता यथावत छ ।
वर्षेनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी नआउने, तर उनीहरू रोजगारीमा जोडिने प्रक्रियाका लाग्ने खर्चको आधिकारिक रूपमा स्पष्टता नहुँदा आगामी वर्षहरूमा पनि कामदारको लागत सहित शोषणको प्रश्न अनुत्तरित नै रहने देखिएको छ। नेपालका वैदेशिक रोजगार व्यवसायीहरूको छातासंस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न वैदेशिक रोजगारको लागत निर्धारणका लागि सरकारमाथि निरन्तर दवाव दिइरहेको छ । तर त्यसमा सरकारले आँटका साथ कुनै निर्णय लिन सकिरहेको छैन ।
संघले वैदेशिक रोजगारलाई मर्यादित गराउन कामदारलाई बास्तबिक लागत खर्चमा पठाउन ‘खर्च शीर्षक’ निर्धारण गरी व्यवसायीको सेवा शुल्क परिमार्जन गरेर कामदारलाई बास्तबिक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने अडान राख्दै आएको छ । रोजगारदाताबाट व्यवसायीको निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने तर रोजगारदाता कम्पनीले लागतखर्च नदिएको खण्डमा व्यवसायीले कामदारबाट सेवा शुल्क लिनुपर्ने र कामदारले निर्धारित खर्च व्यहोर्ने व्यवस्था भए मात्र लागत खर्च पारदर्शी भई वैदेशिक रोजगारका क्षेत्रमाथि सामाजिक तथा राजनीतिक पक्षबाट उठ्ने र उठीरहेकम प्रश्नहरूको निराकरण हुने संघको निरन्तर भनाइ रहँदै आएको छ ।
संघका अनुसार वैदेशिक रोजगार प्रक्रियामा एकजना कामदारको अभिमुखीकरण तालिम वापत ७ सय, राहदानी बापत ५ हजार, यातायात खर्च ९ हजार, भिसा शुल्क ७ हजार, सामाजिक सुरक्षा कोषबापत २३ सय ५०, कल्याणकारी कोष बापत १५ सय, इन्स्योरेन्स बापत औषतमा ४ हजार र सेवा शुल्क कामदारले मलेसिया र खाडीमा पाउने न्यूनतम १ महिनाको तलब करिब ४५ हजार रुपैयाँ, हवाई टिकट अनुमानित ४० हजार, विज्ञापन खर्च एक हजार र फोटो २ सय ५० गरी न्यूनतम १ लाख ३२ हजार ७ सय खर्च हुने आंकलन छ । तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा राज्यमन्त्री टेकबहादुर गुरूङले फ्रि भिसा फ्रि टिकटको निर्णय लिएदेखि नै कामदारको लागतबारे विषय फरक–फरक समयमा फरक–फरक शैलीमा छलफलको केन्द्रमा छ । सरकार परिवर्तनसँगै मन्त्रालयमा आउने मन्त्रीले यो समस्याको समाधान खोजे पनि ठोस प्रगति देखिएको छैन ।
पछिल्लोपटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामदारको लागत खर्च निर्धारणका विषयमा आफूलाई नेपालका निजी क्षेत्रका व्यवसायीका निकट उभ्याएका छन् । सार्वजनिक कार्यक्रम नै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपाली कामदारका धेरै प्रतिश्पर्धी रहेकोे धारणा राख्दै स्रोत मुलुकले फ्रि भिसा फ्रि टिकट हुँदैन भनेको अवस्थामा नेपाल एक्लैले ग्यारेन्टी गर्न नसक्ने अवस्थामा नेपालले आफ्नो निर्णयमा पुनर्विचार गर्न ढिलाइ गरिरहेको टिप्पणी गरेका छन् ।
राजनीतिक मात्रै नभएर प्रशासनिक क्षेत्रबाट समेत श्रम गन्तव्य मुलुकबाट फ्रि भिसा, फ्रि टिकट अन्तरगत सबै मागपत्र नआउन सक्ने विषयमा कन्भिन्स भएको देखिन्छ । श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी पनि मन्त्री भण्डारीले जस्तै धारणा राखेका छन् । एक सार्वजनिक कार्यक्रममा उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय रूपमा कम्पनीहरूले पारदर्शी भर्ना प्रक्रियाअनुसार कामदार माग गर्छन् । तर सबै माग फ्रि भिसा, फ्रि टिकटका हुँदैनन् । कतै हवाई टिकट दिएको हुन्छ । कतै हुँदैन ।’
नेपालको अर्थतन्त्र चलायमान बनाउन विप्रेषणको प्रमुख भूमिका रहेको छ । देशको अर्थतन्त्रको कूल ग्राहस्थ्य उत्पादनमा करिब ३० प्रतिशतभन्दा बढीको योगदान विप्रेषणको छ । विप्रेषणको उपभोग नेपालका करिब ६० प्रतिशत घरधुरीहरुले गरेका छन् । गत आर्थिक वर्ष २०७९–०८० मा मात्रै १२ खर्बभन्दा बढीको रेमिट्यान्स संस्थागत माध्यमबाट भित्रिएको छ ।
नेपालको बैदेशिक रोजगारीको इतिहास निकै पुरानो हो । तर नेपालमा माओवादी सशस्त्र द्वन्द्व शुरुवातसँगै वैदेशिक रोजगारमा जानेको सख्या ह्वात्तै बढ्यो । चुनौती त्यसयता बढेका हुन् । हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको तथ्यांक हेर्ने हो भने करिब ५० लाख देखिन्छ, तर पछिल्लो जनगणनाको तथ्यांक अनुसार भारत बाहेक करिब ३० लाख नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा काम गरिरहेको देखिन्छ । वैदेशिक रोजगारीबाट नेपालमा विप्रेषण भित्रिएसँगै विदेश गएका नेपालीहरूको ज्ञान, सीपमा वृद्धि हुनुका साथै जीवनशैली, सभ्यता र व्यवहारमा समेत परिवर्तन भएको छ ।
विदेशको आर्जनले गाउँ बस्तीहरुका झुपडीहरूको परिवर्तित स्वरुप देखिनुका साथै व्यापकरुपमा भौतिक सुधार भइरहेको छ । विदेशमा सिकेको सीप र रकम उपयोग गरी स्वदेशमै आयमूलक व्यवसाय गर्ने संस्कृतिको विकास पनि भएको छ । समग्रमा विदेशमा गएकाहरूमा आर्थिक सवलीकरण बृद्धि हुँदै गएको पाइन्छ । त्यसैले मुलुकको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेकोे वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन निजी क्षेत्रबाट करीब एक दशक अघिदेखि उठ्दै आएको कामदारको लागतको परिभाषा र सोही परिभाषामा आधारित भएर सेवा शुल्क निर्धारण भएमा वैदेशिक रोजगारका क्षेत्रमा रहेकोे आर्थिक शोषणको विद्यमान असन्तुष्टिमा कमी आइ नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाएको प्रतिवद्धता अनुसार वैदेशिक रोजगारको क्षेत्रमा सुधारको अपेक्षा गर्न सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies