सन्दिप वि.क.
माओले सन् १९५७ मा भनेका थिए, ‘युवाहरू हो, यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो । तर अन्तिममा यो देश तिमीहरूको नै हो ।’
हुन पनि माओले भनेझैँ देश युवाहरूको नै हो । र, देश बनाउने जिम्मा पनि युवाहरूको नै हो । देशको हरेक राजनीतिक आन्दोलन होस् या परिवर्तनको इतिहास । जहाँ युवाहरूको भूमिका अग्रस्थानमा छ ।
नेपालको गौरवमय इतिहासको पाना पल्टाएर हेर्दा वि.सं. १९९६ को राणाविरोधी आन्दोलन, वि.सं. २००६, वि.सं. २०१५, वि.सं. २०३६, वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०५२ देखि सञ्चालित सशस्त्र जनयुद्ध र मुख्यतः वि.सं. २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको योगदान अतुलनीय रह्यो ।
यी नै युवाहरु आज नेपालको राजनीतिमा पनि होमिएका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा ४२ प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका युवा उम्मेदवार थिए, कुल निर्वाचित मध्येबाट (२१ देखि ४० वर्ष उमेर समूह) करिब ४१ प्रतिशत युवा निर्वाचित भए । जुन सकारात्मक पक्ष हो ।
नेपालको राजनीतिमा युवाको सहभागिताका विषयमा युएनको पछिल्ला प्रतिवेदनमा नीति निर्माण, निर्णयात्मक भूमिका, निर्णय कार्यान्वयन, प्रतिफलको न्यायोचित वितरणमा युवाको क्रमिक रूपमा प्रतिनिधित्व सुनिश्चित हुँदै गएपनि त्यसले अपेक्षित नतिजा भने ल्याइ नसकेको र अझै चुनौतीपूर्ण अवस्था रहेको देखाएको छ ।
सरकार, संसद् र राजनीतिक दलका केन्द्रीय कमिटीमा निवार्चित युवा प्रतिनिधिको अनुपात निकै कम छ । सकसपूर्ण आरोह अवरोहकाबीच नेतृत्वमा पुगेकाहरूले सन्तोषजनक कार्यसम्पादन गर्न सकिरहेका छैनन् ।
तर स्वतन्त्र रुपमा आएका युवाहरुले भने देशमा तरंग ल्याइदिएका छन् । ठूला भनिएका राजनीतिक दल, ठूला नेताहरू पनि छन् । तर काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले नेपालीहरूप्रति धेरै आशा र विश्वास रहेको छ । बालेन, हर्क र गोपालको सामु अन्य दल र नेताहरू सबै फिक्का देखिएका छन् ।
आजभोलि दलहरू र तिनका नेताभन्दा बालेन, हर्क र गोपालहरू विशेष चर्चामा रहेका छन् । एउटा सामान्य स्थानीय सरकार प्रमुखहरू जो दलहरूको सहयोग र समर्थनविनै आज चुनाव जितेर आमनेपालीको आकर्षण बढ्दै जानुले दलीय राजनीतिप्रतिको विकर्षण रहेको स्पष्ट बुझ्न सकिन्छ ।
आजभोलि जताततै उनीहरूकै सकारात्मक चर्चा छ । संघीय सरकारको असहयोगका बाबजुद पनि बालेन, हर्क र गोपालहरूले हरेक दिनजस्तो केही न केही नयाँ काम गरेर देखाएका छन् ।
काममा विश्वास राख्नेहरूले अरूले के भन्छन् भन्ने चिन्ता गर्दैनन् बरू आफूले के गर्नुपर्ने हो । आफ्नो नगरको प्राथमिकता के हो भन्नेमा जनताको प्रतिनिधिको हैसियतले बढी चिन्तित देखिन्छन् । त्यहीँ चिन्ताले सार्वजनिक चासोको विषयलाई सम्बोधन गर्दैछन्, बालेन, हर्क र गोपाल ।
बालेनले मेयरको जिम्मेवारी सम्हालिरहँदा काठमाडौं शहर फोहरले अस्तव्यस्त थियो । जताततै फोहरका थुप्राहरूले गर्दा काठमाडौं दुर्गन्धमय थियो । तर अहिले केही हदसम्म फोहोरको समस्या समाधान भएको छ ।
सिंहदरबारले सहयोग गरेन भनेर बालेनले एकपटक पाठ पढाउन भनेर निकै दिन सिंहदरबारको फोहोर नै उठाएनन् । मेयर बालेनले आफ्नो ध्यान सडक वा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घर टहराहरू भत्काउने अभियान चलाए । यसमा बोलनले जनताको व्यापक साथ र समर्थन पाए ।
मेयर बालेनले नदी र नदी सभ्यतालाई मानव अतिक्रमणबाट बचाउन भनेर बाग्मती किनारको सुकुम्बासी बस्ती हटाउने प्रयत्न गरे तर उनी यसमा सफल हुन सकेनन् । मेयर बालेनले टुकुचा खोतलेर निकाले । तर यसमा अदालतले बालेनलाई साथ दिएन ।
शिक्षाको क्षेत्रमा पनि बालेनले सकारात्मक काम गरेका छन् । छात्रवृत्ति वितरणमा महानगरपालिकाको हस्तक्षेप र निष्पक्ष वितरणले धेरै विद्यार्थीहरूले लाभ लिन सफल भएका छन् । स्वास्थ्य क्षेत्रमा पनि महानगरले केही जनपक्षीय निर्णय गरेको छ ।
रोजगारीको क्षेत्रमा नयाँ रोजगार सिर्जना गर्न रोजगारीका लागि सीप तालिम दिने र केहीलाई रोजगारी पनि दिने काम पनि महानगरले गर्दै आएको छ ।
उता धरानका मेयर हर्कले धराने जनताको खानेपानीको समस्यालाई उच्च–प्राथमिकतामा राखे । झण्डै ४२ किलोमिटर टाढाबाट पानी ल्याएर आफ्ना नागरिकलाई खानेपानीको व्यवस्था गरे । जुन एउटा उदाहरणीय काम हो । मेयर हर्कले आफूले जिम्मेवारी सम्हालेयताको सबैभन्दा ठूलो उपलब्धि नै श्रम अभियान र त्यसमार्फत् धरानमा उपलब्ध खानेपानी भएको बताउँदै आएका छन् । हर्कले धरानमा श्रम अभियान र अर्को लागुऔषधविरोधी अभियान पनि सँगसँगै अगाडि बढाएका छन् ।
अर्का धनगढी उपमहानगरका मेयर गोपाल हमाल निर्वाचित भएको केहि समयमा नै सिंगो देशकै ध्यान आफूतर्फ तान्न सफल भए । मेयर हमालले धनगढी उपमहानगरको रुप बदल्ने गरी काम गरिरहेका भन्दै देशभरि नै उनको प्रशंसा भयो ।
उनी साहसी मेयरका रुपमा पनि चिनिन थालेका छन् । अतिक्रमण मात्रै होइन सार्वजनिक प्रयोगका पूर्वाधार निर्माणका लागि उनको तदारुकताले वाहवाही पाइरहेको छ । यसरी मेयर बालेन, हर्क र गोपालले उहारणीय काम गरेर अन्य नगर, गाउँपालिका, वडालाई एउटा पाठ सिकाएका छन् ।
नजर ८४ तर्फ
यतिबेला धेरै नेपालीहरूको ध्यान अब हुने २०८४ को आमनिर्वाचनतिर गएको छ । दलहरुप्रतिको वितृणाका कारण कतिपयले पूर्व राजा ज्ञानेन्द्र साह राजनीतिमा प्रत्यक्ष आइदिए हुन्थ्यो भन्ने गरेका छन् भने कतिपयले बालेन साहले दल खोलिदिए हुन्थ्यो भन्नेहरूको पनि कमी छैन । जनताहरु बालेनको नेतृत्वमा हर्क साङ्पाङ र गोपाल हमाल जस्ता स्वतन्त्र मेयरहरू एकै ठाउँमा भएको हेर्न चाहेका छन् ।
उसो त मेयर हर्क साम्पाङले नयाँ राजनीतिक शक्ति गठन हुन सक्ने आशयहरु पनि दिँदै आएका छन् । केही महिनाअघि काठमाडौंमा मेयर बालेनसँग भेट गरेपछि मेयर साम्पाङले पार्टी खोल्ने तयारीमा लागेको संकेत दिएका थिए ।
भेटपछि साम्पाङले फेसबुकमा तस्बिर राख्दै लेखेका थिए, ‘जित हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन् विशाल बन्छौँ धन्दै नमान !’ यसपछि साम्पाङले अर्काे स्टाटस लेखे, ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies