-बाबुकाजी कार्की
सिकाइ कोक्रोदेखि कात्रो अझ गर्भाधारणदेखि मृत्युपर्यन्तसम्म आजीवन चलिरहने प्रक्रिया हो । विभिन्न माध्यम र किसिमले जीवनोपयोगी ज्ञान र सीप हाँसिल गरेर समाजमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन आवश्यक ज्ञान र सीप अनौपचारिक र औपचारिक माध्यमबाट आर्जन गर्नुपर्ने हुन्छ । आजको २१औं शताब्दीमा विज्ञान र प्रविधिको तीव्र गतिमा विकास र विस्तार भइराखेको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी समृद्धि ल्याउन औपचारिक शिक्षाका विषयवस्तु कतिपय सन्दर्भमा बासी भइसक्छन् । आफूमा भएका मौजुदा ज्ञान सीपलाई निरन्तर अद्यावधिक गरी सफल जीवन जीउन व्यवस्थित र सर्वसुलभ साक्षरता शिक्षाको विकास र विस्तार गर्नुको विकल्प छैन ।
साक्षरता मानवको सशक्तिकरण र समृद्धिको प्रस्थान विन्दु हो । जीवनमा उन्नतिको खुड्किला पछ्याउने दीप तथा चढ्ने बैशाखी हो साक्षरता । साक्षर र शिक्षित व्यक्तिको जीवनपयोगी साधनस्रोतमा सहज पहुँचको सुनिश्चितता हुन्छ । व्यक्तिको अन्तरनिहित प्रतिभा आविष्कार गरी सक्षमता र सफलता र्हांिसल गर्ने कुन्जी एवम जतिखर्च ग¥यो त्यति बढ्ने सर्वश्रेष्ठ पूँजी साक्षरता हो । साक्षरता व्यक्तिको सशक्तिकरणको स्तरोन्नतिका लागि भिटामिन र गरिबी, रोग, भोक, रुढीबादी एवम अन्धविश्वास लगायतका पछौटेपनबाट सुरक्षित राख्ने एण्टिवायोटिक हो । साक्षरताले मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो उघार्द छ । विज्ञान र प्रविधिको द्रुत गतिमा भएका ज्ञान एवम् सीपसँग साक्षात्कार गर्दै प्रविधि र समृद्धि भित्र्याउन कम्तीमा पनि साक्षर हुनुको विकल्प छैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियानलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमका सञ्चालन गर्दै आएको छ । औपचारिक र अनौपचारिक शिक्षाबाट विभिन्न कारणले विमुख भएका जनसमुदायलाई समेट्ने गरी वैकल्पिक शिक्षाका माध्यमहरु ऋपनाउन थालिएको छ। त्यस्तै उनिहरुमा भएको मौजुदा योग्यताका परीक्षण गरी निरन्तर शिक्षातर्फ आकर्षण गर्न राष्टिय योग्यता प्रारुपको थालनीको आधार तयार गरिदै छ। त्यस्तै विद्यालय शिक्षामा रहेको पाठ्यक्रमका विषयवस्तुलाई आवश्यकताका आधारमा समायोजन गरी वैकल्पिक माध्यमबाट पठनपाठनका लागि समेत अध्ययन सामग्री उत्पादनले तीब्रता पाएको छ ।
सामाजिक रूपान्तरण गरी देश विकास गर्न त्यस देशको साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो । साक्षरता प्रतिशत र देश विकासको गति सामनुपातिक हुने यथार्थता हो । राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार नेपालमा गरिवीको रेखामुनि अझ २५.४ प्रतिशत जनता छन। तर युनडिपीको प्रतिवेदनले ६५ प्रतिशत भएको दावी गरेको छ । अशिक्षाले गर्दा गरिबी र गरिबीले गर्दा अशिक्षाको निरन्तर चलिरहने दुष्चक्रलाई तोड्न साक्षरता निर्विकल्प अस्त्र हो ।
वि.स.२००७ सालमा नेपालको साक्षरता २ प्रतिशत थियो । प्रजातन्त्रको अभ्युदय पश्चात् विभिन्नरूपमा साक्षरता कार्यव्रmम सञ्चालन हुँदै आएको पाइन्छ । तर ७ दशक भन्दा लामो अवधि खर्चिंदा पनि बर्षको १ प्रतिशतका दरले पनि साक्षरतामा प्रगति भएको देखिंदैन् । महिला र पुरूष बीचको साक्षरता खाडल २२ प्रतिशत छ । यस्तो न्यून साक्षरता प्रतिशत भएको मानविय साधनस्रोतबाट देश विकासमा उल्लेख्य योगदानको अपेक्षा गर्न सकिन्न् । सदिआँैदेखि समाजलाई गाँजेर बसेको निरक्षरतालाई चुटकीको भरमा निर्मूल पार्न पनि सकिन्न ।
साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतीहरुको सामना गर्न नपर्ला भन्न सकिन्न । निरक्षरहरूको साक्षरता कक्षामा अनियमितता तथा निरक्षरले बीचैमा कक्षा छाड्ने नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्दै उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला ? चिन्ता र चिन्तनको बिषय हो । साक्षरताको विषयवस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सीपमा समयसापेक्षरूपमा परिमार्जन र परिष्कृत गर्दै पेशागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो । साक्षरतालाई निरक्षरले अपनाइ आएको पेशामैत्री बनाएर कहरले नभई रहरले पढ्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । साक्षरताले नाना, छाना र खाना सुनिश्चित गर्न टेवा पुगोस । सहभागीले दैनिकीमा भोगेका समस्या र चुनौतीलाई सम्बोधनका लागि दक्षता आर्जन गर्ने खालका विषयवस्तुले साक्षरता प्रति उनीहरूको चाहना र विश्वास बढाउन सक्दछ ।
साक्षरताको ज्ञान र सीप कैंचीका दुईधार जस्तै हुन एउटा धार वोधो(भुत्ते) भएमा अर्को जतिसुकै धारिलो भएपनि निरर्थक हुन्छ । साक्षरतालाई सीपसँग जोड्ने कार्यक्रम सुरूआत गरिनु पर्दछ । साक्षरता कार्यव्रmमलाई सशक्त व्यापक र प्रतिफलमुखी बनाउन सार्वजनिक सरकारी अवधारणा अनुसार विकेन्द्रितरूपमा सञ्चालन गर्ने नीति आवश्यक देखिन्छ । निरक्षरताको कारण बाट आइलागेको अन्धविश्वास र पछौटेपन यथाशक्य छिटो छिमल्न प्रत्येक नागरिक साक्षर हुदै शिक्षित हुनुको विकल्प छैन्। साक्षरता कार्यक्रम र अभियानलाई सरकार र सरोकार पक्षको जवाफदेहीपूर्ण सहकार्यको खाचो पर्दछ। नेपाललाई निरक्षरतामुक्त राष्ट्र बनाउन संघ, प्रदेश र स्थानीयतहका सरकारको जवाफदेहि र जिम्मेवारी तोकिनु पर्दछ। साक्षरता शिक्षालाई उपलब्धिमूलक बनाउन परम्परागत विधि र विषयलाई समयानुकुल परिमार्जन र परिष्कृत गर्दैै लानु बुद्धिमानी ठहर्छ। अब निरक्षरहरू पढ्न साक्षरता कक्षामा आउनु पर्छ भन्ने पुरातन सोचलाई तोड्दै साक्षरता कक्षा नै निरक्षरसम्म जानु पर्छ । सोही मान्यताको आधारमा निरक्षर महिला, दलित, पिछडिएको जातजाती र सिमान्त एवम् विपन्न वर्गको पहिचान गरी माग र आवश्यकताको आधारमा मात्र कक्षा वितरण गरिनु पर्दछ । साक्षरता कक्षा वितरण व्यवस्थालाई समावेशी सहभागितामुलक एवम् विकेन्द्रीकृत गर्दै साक्षरता कक्षा सञ्चालनमा संलग्न हुने स्वयम्सेवक, स्थानीय निरीक्षक र व्यवस्थापकीय पदाधिकारी आदिको चयन निरक्षरता उच्च प्रतिशत भएको समूहका योग्यता पुगेका स्थानीय महिला, दलित, पिछडिएका जातजातीलाई नै रोजगारीको प्राथमिकता दिइने नीति लाभदायक हुन्छ नै । मातृभाषामा आधारभूत शिक्षा हासिल गर्न पाउने संवैधानिक व्यवस्थालाई प्रत्याभूति गर्दैजाने नीति अनुरूप नेपाली लगायत अन्य मातृभाषामा समुदायको माग अनुसार पाठ्यक्रम र पाठ्पुस्तक विकास गरि पठनपाठनको व्यवस्था गरिनु पर्दछ ।
समाजमा वर्षौ देखि जरा गाडेर बसेको निरक्षरतारूपी अभिशापलाई छिमल्न सवै संघ, सस्था र व्यक्तिको सामुहिक सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, समीक्षा र स्वामित्व (सात स ) अपरिहार्य हुन्छ । विदेशी अनुदानमा नभई स्वदेशी धनमा सञ्चालित साक्षरता अभियानलाई सफल पार्न सबैका लागि साक्षरता अभियान र साक्षरता अभियानका लागि सबै भन्ने सदवाक्यलाई व्यवहारमा उतार्ने अठोट गरेमा सबै खाले पछौटेपनको कारक निरक्षरताको दलदलबाट नेपालीलाई उद्दार गर्न सकिएला ।
(लेखक शिक्षा मन्त्रालयका पूर्वउपसचिव हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies