तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले शुक्रबार ल्होछार भव्यरूपमा मनाएको छ । नेपालीहरूको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री २८६० (डुक ल्हो/मु पुख्री वर्ष) अर्थात सोनाम ल्होछारका अवसरमा ‘ल्होछार कन्सर्ट २०२४’ आयोजना गर्दै मनाइएको हो । कन्सर्ट नेपालबाट कतारसम्म आएका र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै सम्पन्न भएको हो ।
तामाङ जागरण गीत, झाँकी, नृत्यसहित उद्घाटन गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारले उद्युम मच्चाएका थिए । सांस्कृतिक झाँकी, तामाङ सेलो, ताम्बा नाच, लामा नाच, म्हेन्दोमायालगायत विभिन्न नेपाली तथा तामाङ सांस्कृतिक प्रस्तुति रहेको कन्सर्टमा नेपालबाट आमन्त्रित गायक उमङ्ग लामाले केही नयाँ तथा पुराना गीतहरू सुनाए । लामाले काटदिउँला जुँगा जम्मै, हाम्रो जुगको पानी राम्रो, वारी जमुना पारी जमुनालगायतका आधा दर्जन गीत गाए । लगत्तै स्टेजमा चढेकी तामाङ सेलो गायिका रेश्मा बोम्जन तामाङले म्हेन्दोमायालगायतका आफ्ना केही हिट गीतहरू गाइन् ।
जापानको सांगीतिक कार्यक्रम सकेर शुक्रवार मात्र कतार आइपुगेकी चर्चित म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाइबाले म्हेन्दोमाया गीतमा नचाइन् । उनले कतारमा दोहोरीमा आफूलाई जितेर यतै राख्न युवाहरूलाई ठट्यौली पारामा जिस्काउँदै नेपाली गीतहरू समेत गाइन् ।
घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष विकास स्याङ्तानको सभापतित्व तथा कतारका लागि नेपाली सहायक राजदूत तथा मिसन उपप्रमुख कुमार राईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले ऐतिहासिक कार्यक्रममा प्रत्यक्ष सहभागी भएर कार्यक्रमको अवलोकन गर्न पाउँदै खुसी लागेको बताए । उनले भव्य कार्यक्रम आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेकोमा घेदुङ प्रवास समिति धन्यवादको पात्र बनेको बताउँदै ल्होछारको शुभकामना दिए ।
कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रममा शुक्रबार अल अरबी स्पोर्ट्स क्लबको हलमा सम्पन्न भएको हो । सांगीतिक प्रस्तुति अन्तर्गत अन्तिम प्रस्तुति राजेश पायल राईको रहेको थियो । साँझको करिब सवा ६ बजे स्टेज चढेका राईले स्टेजबाट आइ लभ यु कतार भन्दा उनलाई हलको हुटिङ र मायाले भावुकसमेत बनायो । ‘जीवनमा धन सम्पत्ति, जग्गा जमिन जति जोडे पनि छोडेर जाने हो, तर यो माया आफैंले लगेर जाने हो,’ उनले भने ।
राईले दर्शकले दिएको माया र साथ नै आफ्नो साथमा लिएर जान सकिने हुँदा माया नै बाँड्नु र बढाउनु राम्रो हो भन्दै सिमल छाँयाले बोलको गीतमार्फत प्रस्तुति राख्न शुरु गरेका थिए । राईले दर्शन नमस्ते, तिमी सँगै जिउने मर्ने चाहना, म त मर्छु कि क्या हो ठूली, बसमा छैन यो मनलगायत एक दर्जन गीत गाए । राईलाई दर्शकले वान्स मोर गरी नै रहे ।
कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले कार्यक्रमको बारेमा जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई तामाङहरूको पोसाक (तागी) टोपी लगाइ सम्मान गरिएको थियो ।
महासचिव भीम राज स्याङबो तामाङ र उपमहासचिव कमला दोङ तामाङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति लामाले कार्यक्रमको व्यवस्थापन, सुरक्षा तथा स्वयंसेवकका रूपमा खट्ने, सहयोगी, प्रायोजक र उपस्थित सम्पूर्णलाई कार्यक्रम सफलताको श्रेय दिएका थिए ।
लोभलाग्दो कार्यक्रम र व्यवस्थापन
अल अरबी स्पोर्ट्स क्लबको हलमा घेदुङ प्रवास कार्यसमितिलाई साँझ ७ बजेभित्र कार्यक्रमको समापन गर्न दबाब थियो । कतार सरकारबाट अनुमति लिएर आयोजना गरिएको कार्यक्रमको भव्य हललाई तामाङहरूले आफ्नो संस्कार अनुसार धज्र्युले शुद्धीकरण गरेका थिए ।
कार्यक्रममा आमन्त्रित अतिथिसहित प्रत्येक व्यक्तिलाई प्रवेशद्वारमा नै खादा लगाएर स्वागत गरिएको थियो । हलको पोडियमबाहेक ग्राउन्डमा राखिएका सयौं कुर्सी अतिथि र दर्शकले भरीभराउ भएको थियो । करिब २ हजार जना उपस्थित रहेको कार्यक्रममा खाना पानीको समेत व्यवस्था चुस्तरूपमा गरिएको थियो ।
निकै व्यवस्थितरुपमा लोभ लाग्दो उपस्थितिबीच घेदुङ प्रवास कार्यसमितिले सोनाम ल्होछार भव्यरुपमा मनाएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने ल्होछार मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरी मनाउने गरिन्छ । ल्होछारका १२ वटै वर्ष पशु पन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies