तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : ‘राई ईज किङ’ अर्थात राजेश पायल राईले खोटाङ जिल्लाको अति न्यून वर्गको परिवारमा जन्मेको मान्छे काठमाडौं आउनु, गीत संगीतमा प्रवेश गर्नु फलामे गेट जस्तो गाह्रो रहेको स्मरण गर्दै विगत ३५ वर्षदेखि नेपाली गीत संगीतमा दर्शकको मायाले टिकेको बताएका छन् । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयोजना गरेको कलाकार सम्मान कार्यक्रममा उनले दर्शकहरूको आशीर्वाद नै आफ्नो सम्पत्ति रहेको, दर्शकको साथले आफू नेपाली गीत संगीतमा बिकिरहेको र आफू मारेर जाँदा पनि माया लिएर जाने बताएका हुन् ।
आफ्नो बिचार राख्ने क्रममा राईले ‘पहिचान कहिल्यै दोस्रो नहुने’ बताए । उनले आफू किराती भए पनि तामाङको कार्यक्रममा आउन पाउँदा खुसी लागेको बताए । शुक्रबारको ‘ल्होछार कन्सर्ट– २०२४’ आफ्नो पपुलारीटिले नभइ घेदुङको मेहनत र दर्शकको मायाले सफल भएको उनको भनाइ थियो । राईले आफूले सकारात्मक सोच राख्न सके जीवनमा धेरै सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे । आफ्नो धर्म र संस्कृति, रीतिरिवाज जहाँ रहे पनि जोगाउन लाग्नुपर्ने र त्यसका लागि घेदुङ धन्यवादको पात्र बनेको उनले बताए ।
उक्त कार्यक्रममार्फत राईका अलावा तामाङ सेलो गायिका रेश्मा बोम्जन तामाङ, म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाइबा र गायक उमङ्ग लामा सम्मानित भएका थिए । मायाको चिनोसहित सम्मान गरिएको कार्यक्रममा कलाकारलाई पारिश्रमिक पनि बन्द खाममा उपलब्ध गराइएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै गायक तामाङले कार्यक्रममा निमन्त्रणा गरेर कतारसम्म ल्याउन सहयोग गर्ने घेदुङलाई धन्यवाद प्रकट गरे भने म्हेन्दोमाया गायिका वाइबाले गत सालको कार्यक्रममा आउन नसके पनि यो पटकको प्रयास सफल भएको भन्दै घेदुङ कतारले दिएको माया, सम्मान, सद्भाव सदैव मनमा राखिरहने बताइन् । दोस्रो पटक कतार आएकी मनमायाले पनि आयोजकलाई धन्यवाद ज्ञापन गरिन् ।
ल्होछार कार्यक्रमका लागि संगीतको दुनियाको बादशाहलगायत अन्य कलाकारहरूले संस्थागत निम्तोलाई सहर्ष स्वीकार गर्दै कतारसम्म आएर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विशेष साथ दिने कलाकारसहित कतारमा स्थापित विभिन्न संघ–संस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, स्थानीय कलाकारलाई घेदुङ कतार कार्यसमितिका अध्यक्ष विकास स्याङ्तानले धन्यवाद ज्ञापन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies