दिलमाया शाही/मध्यान्ह
जुम्ला : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री नरेश भण्डारीले व्यावसायिक र सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
उनले एसिया इन्टरनेशलन मोडल अंग्रेजी स्कूलले आयोजना गरेको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने,‘पछिल्लो समय यो स्कूलले विद्यार्थीहरु व्यवहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित बनाएको छ, यसबाट जुम्लालाई छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वास दिएको छ ।’
साथै उनले युवा जनशक्ति विदेशतिर पलायन भइरहेको सन्दर्भमा स्कुलका सञ्चालक मनोज बुढाथोकीले स्कूलबाट पर्याप्त कमाई गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताए । ‘यहाँको युवा जनशक्ति खाडी मुलुकहरुमा ‘थ्री डी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन्, यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्न समेत नेपाल बाहिरकै बर्चस्व देखिएको छ ।’
पूर्वमन्त्री भण्डारीले अहिलेको सन्दर्भमा शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भएको बताउँदै अध्ययन गरेपछि सिर्जनात्मक श्रमशक्ति हुनुपर्ने बताए । जसको सुरुवात एसिया इन्टरनेशलन मोडल अंग्रेजी स्कूलले गरेको उनको भनाइ थियो । उनले जुम्ला बिरामी पठाउने क्षेत्र भएकोमा अब विद्यार्थी बोलाएर डाक्टर बनाउनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको बताए । त्यस्तै, कार्यक्रममा एसिया मोडल अंग्रेजी स्कूलका सञ्चालक मनोज बुढाथोकी मगरले मानव मूल्यमा आधारित शिक्षा आजको आवश्यकता भएको बताए । उनले शिक्षाले मानिसको चेतनालाई आकार दिने भनाइ राखेका थिए ।
‘हाम्रो शिक्षा, प्रणाली र शिक्षाको दर्शनले हरेक व्यक्ति र समाजको समग्र चेतनालाई आकार दिने काम गर्छ, यसको लागी अभिभावकले हाम्रो बच्चा कस्तो बनाउने हामी स्वयं कस्तो बन्न चाहन्छौं र समाज कस्तो बनाउन चाहन्छौं ? भन्ने प्रश्नको जवाफ हामीले लिने शिक्षाको दर्शन र शिक्षा प्रणाली भित्र नै हुन्छ’, उनले भने । उनले सो स्कूलले दिने शिक्षा र विद्या व्यापारमुखी नभएर व्यावसायिक र सीपमूलक भएको बताएका थिए । उनका अनुसार नर्सरी देखि कक्षा ८ सम्म पढाइ हुने सो स्कूल आठ वर्षदेखि सञ्चालनमा रहेको छ ।
त्यस्तै, स्कूलका प्रिन्सिपल चन्द्रबहादुर महतले सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउनको लागी सिपमा आधारित शिक्षा दिन थालेको बताए । स्कूलले विभिन्न शिर्षकमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ भने पूर्वमन्त्री भण्डारीले आईटीकक्षा, खानेपानी र फनपार्कको समेत उद्घाटन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies