सुर्यप्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : २०६६ सालदेखि निर्माण शुरु भएको सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको १९७ किलोमिटरमध्ये हालसम्म १८ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ ।
यो सडकको धेरै खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको सडक योजना प्रमुख अन्जु परियारले बताएकी छन् । करिब ८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ४० देखि ४५ करोड बजेट विनियोजन हुने गरेकोमा आर्थिक वर्ष २०८०/२०८१ मा मन्त्रालयले १७ करोड मात्रै बजेट विनियोजन गरेको थियो भने गत वर्षको भन्दा ५२ प्रतिशत बजेट घटेर आएको कारण काम गर्न परियोजनामा बजेटको समस्या भएको योजनाका लेखा प्रमुख योगेश पन्थिले बताए ।
निर्माण गर्न लागेको १३ वर्षको अवधिमा झण्डै ३ अर्ब रुपैयाँ खर्च भएको सालझण्डी–सन्धिखर्क सडक योजना प्रमुख परियारले मध्यान्हलाई बताइन् ।
यो सडक अन्तर्गत पर्ने १० पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छन् भने बाग्लुङ जिल्लामा पर्ने बौलाहा बाँसे खोला र दोवल खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति अन्तिम चरणमा रहेको योजना प्रमुख परियारले बताइन् । सडकमा पर्ने ८ वटा पुलहरु निर्माण सम्पन भइसकेका छन् । सन्धिखर्कमा विवाद भएका कारण ५ सय मिटर कच्ची सडकको काम रोकिएपनि अन्यत्र कुनै रोकावट नभएको कारण काम निरन्तर चलिरहेको योजना प्रमुख परियारले बताइन् ।
सुरुमा यही सन्धिखर्कको विवादले गर्दा काममा ढिलाइ भएको थियो । पछि टुक्रा–टुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले दु्रत गति लिन शुरु गरेको योजनाका इन्जिनियरहरु बताउँछन् ।
सालझण्डी–ढोरपाटन सडक योजना कार्यालयको प्रमुख इन्जिनियर परियारले बजेटकै कारण निर्माण कार्यले गति लिन नसकेको दाबी गरिन् ।
अहिले परियोजना अन्तर्गत पाँच वटा ठेक्काको काम भइरहेको छ । ४ वटा बहुवर्षे ठेक्का हुन् सबै ठेक्कामा भुक्तानी दिने बजेट कार्यालयसँग नभएको र निर्माण व्यवसायी समेत पैसा नभएपछि काम गर्न उत्साहित नभएको कार्यालका लेखा प्रमुख पन्थीले गुनासो गरे ।
सन्धिखर्क माटे भण्डार ७ किलोमिटर सडक र पुर्कोट अर्खाबाङ १९ किलोमिटर सडक गरी २६ किलोमिटर सडकको काम बिरुवा–पुस्पा बिल्डर्स कम्पनी अर्घाखाँचीले काम द्रुत गतिमा अगाडि बढाएको भएपनि काम अनुसार बिल भुक्तानी नपाउँदा काम गर्न अप्ठ्यारो परेको बिरुवा पुष्पा विल्डर्सका सञ्चालक इन्जिनियर मनोज बन्जाडे मध्यान्हसँग गुनासो गरे । यो काम कालोपत्रेको काम हो भने कञ्चन खोला, रुपन्देहीदेखि– खुसार्ने, पाल्पा सम्म १३.५ किलोमिटर, खुसार्ने पाल्पादेखि पटौटी अर्घाखाँचीसम्म २२ किलोमिटर र बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्काहरुको काम भइरहेपनि निर्माण व्यवसायीलाई थप बजेट आएपछि मात्रै भुक्तानी दिने कार्यालयका योजना प्रमुख परियारले बताइन् ।
बहुवर्षे ठेक्कामा जति काम निर्माण व्यवसायीले गर्न सक्छन् त्यति रकम कार्यालयले दिनुपर्ने हुन्छ । कार्यालयमा बजेट अभाव भएपछि निर्माण व्यवसायीलाई काम गर्न ताकेता लगाउन नसकिने भएकाले काम गर्न दबाब दिन कठिन हुने साइटमा खटिएका कर्मचारीहरु बताउँछन् ।
पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने तयारी भएको भएपनि अझैँ केही समय लाग्ने योजना प्रमुख परियारको भनाइ छ ।
खासगरी यो सडक ५ जिल्ला रुपन्देही–पाल्पा अर्घाखाँची गुल्मी बाग्लुङ जिल्लालाई प्रत्यक्ष सहयोग पुर्याउने गौरवको सडक योजना भएपनि सरकारमा रहने उच्च तहका नेताहरुले ध्यान नदिएको कारण सडकमा बजेट अभाव भएको यहाँका जनताहरुको बुझाइ छ ।
यी ५ जिल्लामा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उद्देश्यले सडक निर्माणको काम थालेपनि सरकारको बेवास्ता, नेताहरुको दुरदृष्टि नपुग्दा सडकलाई आवश्यक पर्ने उचित बजेट पर्न नसकेको स्थानीय बताउँछन् ।
यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न निकै छोटो दुरी र सहज हुने युवा व्यवसायी पुष्पा निर्माण सेवाका सञ्चालक इन्जिनियर मनोज बन्जाडे बताउँछन् ।
यस्तै, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने छन् । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने र अर्घाखाँचीको व्यापार व्यवसाय समेत चलाएमान हुने अपेक्षा गरिएको छ । सडक योजनाको काम हेर्न कार्यालय प्रमुख परियारसहितका प्राविधिकहरु दैनिक फिल्डमा खटिएका छन् भने सडकमा बजेट अभावको गुनासो बोकेर मन्त्रालयमा पुग्दा पनि कुनै सुनुवाइ नहुने गरेको कार्यालयका कर्मचारीहरु गुनासो गर्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies