–डा. दिबाकर वशिष्ठ
पुँजी बजारलाई अन्तराष्ट्रिय स्तरमा अर्थतन्त्रको ऐना मानेर यसको विकासमा सरोकारवाला निकाय अहोरात्र खटेको देखिन्छ किनकी पुँजी विकासको साधन हो । शेयर बजार पुँजी बजारको एक अभिन्न अङ्ग पनि हो । शेयर भनेको त लगानीको हिस्सा वा हिस्सेदार बन्नु हो । हामीकहाँ यसको सही व्यवस्थापन र दण्डहीनताको कारण अर्थतन्त्र सकारात्मक हुँदा शेयर बजार घट्ने र नकारात्मक हुँदा बढ्ने गरेका उदाहरण प्रसस्त छन् । मूलत उत्पादनमूलक क्षेत्रमा शेयर बजारको हिस्सा कमजोर भएको कारण पनि यसले समग्र अर्थतन्त्रको प्रतिनिधित्व गर्न चुकेको देखिन्छ । हरेक कम्पनीहरू पब्लिक जानुपर्ने देखिन्छ । पब्लिकमा गएकै कारण भारतलगायत विभिन्न देशका व्यवसायिक कम्पनीले उन्नति र प्रगति गरेका छन् ।
दीर्घकालीन अवधि एक वर्षभन्दा बढीको लागि लेनदेन गरिने बजारलाई पुँजी बजार वा शेयर बजार भन्ने गरिन्छ । यो दुई प्रकारको हुन्छ । प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा कम्पनी वा संस्थाबाट प्रथम पटक निष्कासित शेयर, ऋण पत्र आदि पर्दछन् भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भइसकेको शेयरहरूको किनबेच हुने गर्दछ । नेपालमा दोस्रो बजारको कारोबार वि.सं. २०५० माघदेखि भएको हो । हाल नेपालमा धितो पत्र बोर्डमा सूचीकृत कम्पनीको संख्या तीन सयभन्दा बढी छन् ।
दीर्घकालीन लगानी गर्ने वित्तीय संस्थाहरूदेखि लिएर औद्योगिक लगानीका लागि शेयर पुँजी परिचालन गर्ने धितोपत्र बजार र ऋणपत्र बजारसमेत यस परिभाषाअन्तर्गत पर्दछन् । वित्तीय साधन जस्तै ऋणपत्र, शेयर, राष्ट्रिय बचतपत्र, सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनी, सरकार, व्यवसायिक गृह मुद्रा तथा पुँजी बजारका अभिन्न अङ्ग हुन् । वाणिज्य बैंकले अल्पकालीन लगानीको अतिरिक्त दीर्घकालीन लगानी ऋण तथा शेयर सहभागिता गर्न सक्छ । त्यस्तै, दीर्घकालीन पुँजी प्रवाहका लागि स्थापित विकास बैंकहरूले छोटो अवधिको सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन् । संस्थागतभन्दा उपकरणगत प्रकृतिको आधार मुद्रा बजारमा अल्पकालीन निक्षेप, ट्रेजरी बिल, अल्पकालीन व्यवसायिक कर्जा, ओभरड्राफ्ट, टी.टी. आदिको उपयोग हुन्छ भने पुँजी बजारमा दीर्घकालीन निक्षेप, स्थिर पुँजीका लागि कर्जा, शेयर लामो अवधिका सरकारी ऋणपत्रहरू तथा लामो अवधिका ऋण जस्ता उपकरणको प्रयोग हुन्छ ।
पुँजी बजार अर्थतन्त्रको ऐना हो । किनभने यसले बचत परिचालन, दीर्घकालीन लगानी प्रर्वद्धन, लगानीको गुणस्तरमा वृद्धि, तरलता व्यवस्थापन, बचतको सदुपयोग गरी देशमा उद्योग र वाणिज्य क्षेत्रको विकास गर्दछ । नेपालमा पुँजी बजारभन्दा बित्तिकै शेयर बजारको बाहुल्यता देखिन्छ, जहाँ विभिन्न संघ संस्थाको शेयरको खरिद–बिक्री भन्ने बुझिन्छ । तर, विडम्बना नेपालको शेयर बजारलाई व्यवस्थित र भरपर्दो बनाउनको लागि विभिन्न नियम कानुन बनेको र अनुगमनकारी निकायको रूपमा धितोपत्र बोर्डसमेत रहेको भएता पनि कानुनको एकातर्फ उचित कार्यान्वयनको अभाव छ भने अर्कोतर्फ धितोपत्र बोर्डको अनुगमन पर्याप्त देखिँदैन ।
त्यसो त शेयर बजार वा पुँजी बजार सम्बन्धी जनचेतनाको स्तरलाई हेर्ने हो भने कुल जनसंख्याको करिब २० प्रतिशतलाई मात्र शेयर र यसको किनबेच, महत्वबारे थाहा होला भन्ने अनुमान गर्न सकिन्छ । डिम्याट, धितोपत्र दलाल, आश्वा जस्ता कुराहरूको पर्याप्त जानकारी बिना शेयर कारोबार असम्भव छ । शेयर बजारको मुख्य केन्द्र काठमाडौं रहेता पनि सूचना प्रविधिको विकासको कारण देशका सबै अधिकांश ठाउँबाट यसको कारोबार सम्भव छ । देशका निकै सीमित ठाउँमा धितोपत्र दलालको कार्यालय रहेको भएयता पनि हाल शेयरको बिक्री तथा क्रय अनलाइनबाट नै गर्न सकिने व्यवस्था छ ।
हाल शेयर बजारमा करिव ६० लाख व्यक्ति वा संस्था आबद्ध रहेको देखिन्छ । शेयर भनेको केहो ? यसको मूल्य कसरी निर्धारण हुन्छ ? कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? शेयर किन किन्ने ? शेयर कतिबेला बिक्री गर्दा नाफा होला ? शेयरको मूल्य किन घटबढ भइरहन्छ ? शेयरको घटबढले अर्थतन्त्रलाई कस्तो प्रभाव पार्दछ ? भन्ने प्रश्नहरूको उत्तर खोज्न निकै कठिन छ । यसको उत्तरको राम्रो ज्ञान भएन भने शेयरबाट उचित प्रतिफल पाउन सकिँदैन र देशमा पुँजी परिचालन पनि सम्भव छैन ।
हाल अधिकांश कम्पनीको शेयर न्यूनतम मूल्यमा झरेको अवस्था छ तर, ति कम्पनीको नाफा भने राम्रो देखिन्छ । तथापि, पछिल्लो समय आर्थिक मन्दीको कारण अधिकांश कम्पनीको नाफामा गिरावट देखिन्छ तथापि नाफा बढ्दा पनि शेयरको मूल्य किन बढ्दैन ? र, नाफा घट्दा कम्पनी कमजोर अवस्थामा हुँदा पनि शेयरको मूल्य एकाएक किन बढ्दछ ? एकातर्फ यो कुरा अनुत्तरित देखिन्छ भने अर्कोतर्फ सरोकारवाला निकाय चिरनिद्रामा छ । यसको विश्लेषण गर्न सक्ने सक्षम व्यक्तिको नेपालमा कमी छ वा जनस्तरमा यसको ज्ञान छैन । यसबारे अनुसन्धान जरुरी छ ।
हामी शेयर किनबेच गर्दा कम्पनीको अवस्था, वासलात, नाफा–नोक्सान हेर्दैनौ । मूल्यसूची र कसैको लहै लहै जस्ता हल्लाको भरमा शेयर कारोबार गरिरहेको अवस्था छ । हाल नेपालको शेयर बजार केही सीमित व्यक्तिले चलाएको जस्तो देखिन्छ । इनसाइड ट्रेडिङको बिगबिगी छ । कृत्रिम अभाव, अवैध चलखेल अर्थात् कार्टेलिङ आदिको कारण नै शेयर बजार स्थिर हुन सकेको छैन । कम्पनीहरूको नेटवर्थ र नेटवर्क एवम् नाफा बढेको र कम्पनी पनि सुदृढ भएको हुँदा शेयरको कारोबार र मूल्य बढेको हो भन्ने कुराको पुष्टि कहिले हुने ? पुँजी बजार आन्तरिक अर्थतन्त्र चलायमान बनाउने प्रमुख साधन भएको हुँदा यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।
शेयर बजार संकुचन हुनाको कारण हेर्दा, आर्थिक मन्दिको कारण सूचीकृत कम्पनीको शेयर मूल्य घट्दै जानु, घरजग्गा कारोबारमा भइरहेको मन्दी, बैंक वित्तीय संस्थाले शेयर किन्न दिने ऋणमा अझै पनि पर्याप्त नीतिगत सुधारको कारण हिचकिचाहट, बैंक निक्षेपको ब्याजदरमा अस्थिरता, धेरै बैंक वित्तीय संस्थाहरूले राइट र बोनस शेयर दिइसकेकोले अब शेयर संख्या बढ्दैन भन्ने भावना, लगानी योग्य वातावरणको अभाव, बैंकहरू प्रति जनमानसमा नकारात्मक हल्ला फैलाउनु, लघुवित्त प्रति अनास्था, सहकारी संकटग्रस्त हुनु, बीमा कम्पनीको आम्दानीमा कमी, आर्थिक संकटले लगानीकर्ताहरूको शेयर बिक्री गर्ने प्रवृत्तिमा बढोत्तरी भएकोलगायत छन् । यसरी देशको अर्थव्यवस्थामा भइरहेको घटना र परिघटनालाई मध्यनजर गर्दै यसबारेमा जनचेतना जगाउने वा सम्बन्धित कर्मचारीलाई तालिमको आवश्यक पर्दछ । देशको अर्थव्यवस्थामा पुँजी बजार वा शेयर बजारको भूमिका लाई हेर्दा औद्योगिक र आर्थिक विकास हुने, रोजगारी सिर्जना गर्ने, बजारमा तरलता र पुँजीको उपलब्धतामा सघाउने, सर्वसाधारण र कम्पनीहरूलाई लगानीप्रति आकर्षित गर्ने, पुँजी पलायन रोकिने, सरकारको वित्तीय नीतिलाई सहयोग हुने, लगानीको गुणस्तरमा वृद्धि हुने, दीर्घकालीन लगानी प्रबर्द्धन हुने हुँदा यो अर्थतन्त्रको ऐना हो ।
पुँजीबिना व्यवसायको कल्पना अधुरो हुन्छ । पुँजी संकलन र लगानीको मुख्य स्रोत नै पुँजी बजार वा शेयर बजार भएको हुँदा यसलाई निरुत्साहित गर्नु हुँदैन । हाल शेयर बजारमा देखिएका चुनौतीहरूमा निक्षेप तथा कर्जाको ब्याजदरमा उतारचढाव, शहरी क्षेत्र र सीमित क्रियाकलापमा केन्द्रिकृत हुने प्रवृत्ति, कृषि घरेलु उद्योग तथा ग्रामीण अर्थतन्त्रमा लगानी गर्न नचाहने प्रवृत्ति, सेवा विस्तार गर्नुभन्दा संकुचित हुने प्रवृत्ति, दीर्घकालीन कर्जा प्रवाह गर्न नचाहने र अनुत्पादक कर्जा प्रवाहमा जोड, लगानी गरिएको कर्जाको अनुगमन कमजोर र बैंकिङ्ग क्षेत्रप्रतिको नकारात्मक कोलाहल, खराब कर्जा अनुपात बढ्नु र कालोसूचीको संख्यासमेत वृद्धि हुनु, पुँजी बजारमा राजनीतिक नियुक्ति र हस्तक्षेप, कमजोर व्यवस्थापन, ग्रामीण विकास बैंकहरू ठूलो सेवा विस्तार गर्न सक्ने अवस्थामा नरहेको, कर्मचारी सञ्चयकोष, बीमा संस्थान, नागरिक लगानी कोष आदि पुँजी बजारमा निर्णायक संस्थाहरू बैंकहरूको मुद्दती निक्षेप र राष्ट्रिय बचतपत्र खरिदमै केन्द्रित रहने प्रवृत्ति, वित्त कम्पनीहरू दीर्घकालीन निक्षेप संकलन गरी हायर पर्चेज, लिजिङ्ग, दीर्घकालीन औद्योगिक कर्जा तथा शेयर मार्केटमा सहभागिता देखाउने कार्यका लागि स्थापना भएपनि तिनको निक्षेप समग्र बैङ्किङ प्रणालीको सीमित प्रतिशत मात्र हुन आदि रहेको छ ।
साथै, नेपाली ऋणपत्र बजारमा सीमित प्रकारका ऋणपत्र र शेयर मात्र उपलब्ध, निजी क्षेत्र ऋणपत्र जारी गरेर वित्तीय साधन जुटाउन अभ्यस्त नहुन, शेयर बिक्री प्रबन्ध देशव्यापीरूपमा हुन नसक्नु, पब्लिक लिमिटेड कम्पनीको रूपमा उद्योग व्यवसाय सञ्चालन गर्न नरुचाउने प्रवृत्ति हुन, स्थापित पब्लिक लिमिटेड कम्पनीले पनि शेयर पुँजीको सट्टा ऋणभार साधन पूर्ति गर्ने प्रवृत्तिले सूचीकृत संख्या कम हुनु, सूचीकृत कम्पनीहरूको पनि वासलात समयमै प्रकाशित नहुनु, पोर्टफोलियो लगानी शुरु नहुनु, नियामकहरूबीच समन्वयको अभाव, धितोपत्र बजारमाथि उपयुक्त सुपरीवेक्षणको कमी रहेको छ ।
मुलुकको आर्थिक रूपान्तरणको लागि विज्ञान र प्रविधिमा भएको द्रुततर विकासलाई आत्मसाथ गर्दै यस क्षेत्रले अर्थतन्त्रको प्रणालीगत विकासमा कोशेढुंगाको रूपमा कार्य गरेको छ । शेयर बजार सम्पत्तिको सुरक्षा, बैङ्किङ र गैरबैंकिङ क्षेत्रको लागि स्रोत संकलनको वैकल्पिक माध्यम हो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि जिम्मेवार नेतृत्व तहबाट यसको विकासमा यथोचित कदम चालेको देखिँदैन । शेयर बजारसँग सम्बन्धित निकायले साना लगानीकर्ताको हित र ऋणमा सहज पहुँच पुगोस् भन्ने धारणका साथ भाषणभन्दा काम बढी गर्नुपर्ने बेला आएको छ । शेयर बजार सम्बन्धी समस्याको समाधानमा पटक–पटक पहल हुँदा पनि सरकार र नियमनकारी क्षेत्रबाट समस्याको सम्बोधन नहुँदा शेयर बजार निरन्तर ओरालो लागेको छ यसबाट विगतमा करिव ४५ खर्ब पुगेको शेयर बजारमा हाल तिव्र गिरावट देखिन्छ ।
त्यसो त नीति परिवर्तनको असर र प्रभाव शेयर बजारमा के पर्यो त भन्ने बारेमा अनुसन्धान र खोज नहुनुलाई सरोकारवाला चिरनिद्रामा रहेको भन्न सकिँदैन र ? जस्तै चार करोड र १२ करोडको ऋण सीमा नीतिले कति साधारण लगानीकर्ता लाभान्वित भए सायद कसैसँग जवाफ नहुन सक्छ । देशमा नेता र नीति धेरै भयो तर, कार्यान्वयन जहाँको त्यही छ अनि द्रुत आर्थिक विकासको कल्पना कसरी गर्ने ? मुद्रास्फिति बढ्दो छ, उपभोग्य वस्तुको मूल्यवृद्धिमा तात्विक सुधार छैन । अनुगमन पर्याप्त र भरपर्दो एवम् निष्पक्ष छैन दण्डहीनता मौलाएको छ । यसबाट पनि देशको राजस्व अर्थात् आर्थिक स्रोतको संकलन कमजोर हुँदै गएको छ भन्नुमा कसैको बिमति नहोला ।
(डा. वशिष्ठ बैकिङ्ग क्षेत्रका जानकार हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies