सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट गौरका विभिन्न पसलबाट किराना सामानहरु खरिद गरी गरुडा र चन्द्रपुरसम्म लैजाँदा सशस्त्र प्रहरीले मालसामानहरु समातेर भन्सारमा बुझाउने कार्यबाट आफुहरु आतंकित बनेको व्यापारिहरुले आरोप लगाएका छन् ।
सदरमुकाम गौर बजारमा रहेका विभिन्न पसलबाट किराना सामानहरु खरिद गरी गौरदेखि चन्द्रपुरसम्म कम मुनाफामा दिएर आफ्नो परिवार पाल्दै आएका व्यापारीसँग गौरदेखि चन्द्रपुरसम्मका विभिन्न वेस क्याम्पसका सशस्त्र प्रहरी तथा विभिन्न युनिटका प्रहरीहरुले महिनाबारी रुपमा रकम लिँदै आएपनि बेला बखतमा सामानहरु बसबाट झारी सिधैं भन्सार कार्यालयमा पु¥याउने कार्यबाट कारोबार गर्ने व्यापारीहरु आतंकित बनेको उनीहरुले दुखेसो पोखेका छन् ।
एक व्यापारीले गौरदेखि चन्द्रपुरसम्म विभिन्न स्थानमा रहेका सुरक्षाकर्मीहरुलाई महिनाका एक लाख ७५ हजार रुपैयाँ रकम बुझाउँदै आएको भएपनि सातापिच्छे बसमा राखिएको चामल, मैदा, तेलसहितका किराना सामानहरु डाँका शैलीमा सशस्त्र प्रहरीले झार्न लगाएर भन्सार कार्यालय पु¥याउने कार्य साह्रै अशोभनिय भइरहेको बताए ।
सशस्त्र प्रहरीले धन पनि लिने धर्म पनि लिने कार्यबाट आतंकित भइ यस्ता व्यापार नगर्ने तर रकम लिने सामान पनि समात्नेविरुद्ध भण्डाफोर अभियान चलाउने ती व्यापारीले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो पीडा सुनाए ।
सीमापारीबाट भन्सार छलेर सामान ल्याउने होइन, पसलबाट किनेर कम मुनाफामा गौरदेखि चन्द्रपुरसम्म विभिन्न पसलमा सामानहरु पुर्याए वापत केही मुनाफाको भरमा आफ्नो जीविकोपार्जन गर्दै आएपनि सुरक्षाकर्मीहरुको कारण जीविकोपार्जन गर्न समेत धौंधौं परेको उनले बताए ।
जिल्लाको भारतसँग जोडिएका विभिन्न नाकाहरु भएर दैनिक लाखौंको राजस्व छलेर मालसामानहरु भित्र्याउने गरिएको छ । उक्त कार्य गरेवापत व्यापारीहरुबाट मोटो रकम लिँदै आएको ती व्यापारीले सशस्त्र प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् ।
त्यति मात्रै नभइ गौर भन्सारको मुख्यद्वार भएर राधेश्याम साहको सामानहरु सजिलै भित्रिएर गोदामसम्म आउने र गोदामबाट दुई वटा पिकअप गाडीमा राखेर कटहरिया, गरुडा, विर्ता, चन्द्रपुरसम्म निर्वाध रुपमा पठाउने गरेपनि तीनको मालसामानहरु नसमात्ने तर गौरबाट किनेर लग्दा सामान समात्ने सशस्त्र प्रहरीको बदनियतपूर्ण व्यवहारबाट आतंकित हुँदै अब उपरान्त व्यापार नगर्ने मनस्थितिमा पुगिसकेको नाम नछाप्ने शर्तमा ती व्यापारीले बताए ।
महिनाबारी रकम १ लाख ७५ हजार बुझाएपनि होली पर्वमा ६५ हजार रकमको विभिन्न सामानहरु किन्न लगाएको तर दुई दिनमै पुनः डाकाशैलीमा गएर बसबाट ५० हजार मूल्य बराबरको सामानहरु झारेर भन्सार कार्यालयमा दाखिला गरिदिएमा कुन व्यापारीले घाटा सहेर काम गर्छ भन्दै उनले प्रश्न गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies