तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपालीहरूको नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको दोस्रो दिन कतारमा चर्चित लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक वसन्त विश्वकर्माले सांगीतिक प्रस्तुति दिने भएका छन् । तनहुँ सेवा समाज कतारले “बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थ” आयोजना गर्न लागेको बृहत् सांस्कृतिक कार्यक्रममा उनीहरुले प्रस्तुति दिने भएका हुन् ।
नेपालबाट आमन्त्रित कलाकारसहित कतारमा स्थापित करिब एक दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । आउँदो बिहीबार बिहान साढे ११ बजेबाट नज्मामा अवस्थित होलिडे इन बिजिनेश पार्क होटेलको ग्राउन्ड फ्लोरको हलमा हुने कार्यक्रमको तयारी लगभग पूरा भएको समाजका अध्यक्ष पदम गिरीले मध्यान्ह दैनिकलाई जानकारी दिए । 'अतिथि कलाकारको स्वागतका लागि आतुर छौं, बाँकी सबै तयारी सकिएको छ,' गिरीले भने । उनले कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशुद्ध मौलिकताले भरिपूर्ण कार्यक्रम हेर्नका लागि आमन्त्रण समेत गरेका छन् । कतारमा स्थापित विभिन्न संस्थाहरु सहयोगी संस्थाका रूपमा रहेको कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिक सञ्चार सहयोगीका रूपमा रहेको छ ।
तनहुँ जिल्लाको चिनारीको रूपमा रहेको कौरा (चुड्का) गीत थप आकर्षणको केन्द्रका रूपमा रहने भएको छ । कौरा लगभग एक शताब्दी अगाडिदेखि नै नवलपरासी, पाल्पा, गोरखाको मनकामनामा नृत्य प्रचलनमा रहे पनि मुख्य उत्पत्ति स्थल तनहुँ जिल्लाको रिसिङ क्षेत्र हो । कौरा नृत्य १९८० सालभन्दा पहिलेबाटै तनहुँ जिल्लाको दक्षिणी भेग रिसिङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको समुदायबाट उत्पत्ति भएको मानिन्छ । मगर जातिबाट उत्पत्ति भएको कौरा चुड्का गीति नृत्य पछि गण्डकी क्षेत्रमा बसोबास गर्ने गुरुङ, दुरा, दरै, ठकुरी, कुमाल, घर्ती, भुजेल आदि जातिमा पनि फैलिएको पाइन्छ । यस क्षेत्रमा माथि उल्लिखित आदिवासी जनजातिका गाउँहरू नजिक–नजिक भएर मिलेर बसेकाले यी जातिका संस्कृतिहरू पनि आपसमा मिसिएको पाइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies