–लेखराज रेग्मी
नेपाली क्रान्तिकारी आन्दोलनमा एउटा वर्ग सधैँ अग्रमोर्चामा रहने गरेको छ । सोही वर्गको एउटा हिस्सा पक्षधरतामा त देखिन्छ तर, सधैँ सर्वनाशको मनोभ्रान्तिबाट पीडित पनि रहन्छ । यो दोस्रो हिस्सा नेकपा गठनपछि अत्यन्त बेगवान ढंगले संगठित भयो र प्रतिबन्धसँगै किनारामा बसेर सिट्टी बजाउने उक्साउने तर, आफू भने संगठित आन्दोलनमा प्रवेश नगर्ने ठाउँमा रह्यो । महाधिवेशनहरूमा पुष्पलाल श्रेष्ठलाई कमजोर पार्ने पक्षमा यसको ठूलो योगदान छ । यसै वर्गको अर्को एउटा हिस्सा सधैँ पुष्पलालको पक्षमा रह्यो ।
जीविका जुटाउने समस्याका कारण एकाध व्यक्तिहरू बाहेक नेतृत्व तहसम्म नपुगे पनि २००८/००९ सालतिर चलेका किसान आन्दोलनमा आधारभूत वर्गसम्म पहुँच बनाउन ठूलो योगदान ग¥यो । यो वर्ग शहरिया बुद्धिजीबी तथा ग्रामिण मध्यम किसानको तप्का नै हो । यसको एउटा हिस्सा सधैँ शान्त वातावरणमा क्रान्तिकारी बन्ने र उथलपुथल हुँदा सर्वनाश देख्ने रोगलाई आलोचनात्मक चेत बुझ्ने गर्छ ।
अर्को हिस्सा शान्त वातावरणमा प्रायः मौन रहन्छ र आफ्नो इलमपातमा बढी केन्द्रित हुन्छ तर, जब आन्दोलनको आँधिबेरी आउन थाल्छ, अप्रत्यासित ढंगले आन्दोलनमा कुद्छ, कतिपय स्थितिमा अराजक पनि बनिदिन्छ । यिनै एउटै वर्गका दुई हिस्सा चरित्र र भूमिकामा नेपाली आन्दोलनको उतार–चढाव भरपर्ने गरेको छ । यही वर्ग नै नेपाली राजनीतिको चुनावी वा सडक संघर्षमा परिणाम प्रभावित गर्ने हैसियत राख्छ । माओले यसलाई निम्नपुँजीपति वर्ग भनेर परिभाषित गरेका छन् । नरोदवादीहरूबारे आफ्नो उग्रवादी कम्युनिज्म एक बाल व्याधीमा लेनिनले पनि यही वर्ग खासगरी शहरी निम्नपुँजीपति वर्गको चर्चा गरेका छन् ।
रूस र चीनलगायत युरोपेली देशहरूमा मजदुरहरूको संगठनको रूपमा कम्युनिष्ट पार्टीलाई लिइएको छ । तर, दक्षिण एसियामा खासगरी नेपालमा कम्युनिष्ट पार्टीको आधारभूत वर्गमा शहरिया निम्नपुँजीवादी बुद्धिजीवि वर्ग र कार्यकर्ता स्रोत रहने गरेको छ । वर्ग संघर्षको अभ्यास ग्रामिण मध्यम किसानको संलग्नता र एकहदसम्म स्थानीय नेतृत्वमा चल्ने गरेको छ । तर, हामी यो तथ्यलाई नजर अन्दाज गर्छौं र नेपाली क्रान्तिको स्वरूप या त कृषि क्रान्ति नै हो भन्ने मान्यतालाई जब्बर पक्रन्छौं वा निम्नपुँजीपति वर्गलाई नै सर्वहारा अग्रदस्ताको ट्याग लगाइदिन्छौ । धेरै गोलमालको कारण यहीँबाट सुरू हुन्छ र यहीँ आएर समापन हुने गर्छ ।
सर्वहारा अग्रदस्ताको रूपमा औद्योगिक मजदुरसँगै, असंगठित क्षेत्रका मजदुर शहरी बेरोजगार कृषि श्रमिकहरूको पार्टी बन्नु आवश्यक छ । एउटा भनाई छ– मजदुर वर्गमा चेतना बाहिरबाट पुग्छ । योसँगै जोडिएर आउने अर्को कुरा पनि छ– सर्वहारा वर्ग चरित्रमा रूपान्तरणको अभावमा सचेत अग्रदस्ता पनि कम्युनिष्ट पार्टी बन्न बनाउन असक्षम हुने गर्छ । सर्वहारा वर्ग र कम्युनिष्ट चेतनाको योगमा मात्र रूपान्तरणकारी आन्दोलनहरू सम्भव हुन्छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनको अनुभव चेतना, जनमत र उर्जाको आधारमा अग्रणी स्थितिमा रहनुका बावजुद निर्णायक बन्न नसक्नुको चुरो कारण यता पनि खोज्ने कि ? सायद यसपछि मात्रै दिशा नीति र संश्रय तथा संयोजन पनि बन्ने बढ्ने होला कि ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies