–टंककला तिमिल्सेना
महिलाको हक, अधिकार र सार्वजनिक पदमा महिला सहभागिताको बहस सधैँ सतहमा रहेको मुद्दा हो । अन्तर्राष्ट्रिय जगतमै सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाको अवस्था र उनीहरूको नेतृत्वदायी सहभागिताको खोजी हुने गर्छ र यो पछिल्ला वर्षहरूमा थप गहनताका साथ हेरिएको पनि छ । राजनीतिक दलहरूले त झन् महिला सहभागिताको मुद्दालाई भोट बटुल्ने एक बलियो अस्त्रकै रूपमा प्रयोग गरिरहेका हुन्छन् । अझ सार्वजनिक पद वा नेतृत्वमा महिला सहभागितालाई ३३ प्रतिशत होइन अब ५० प्रतिशत बनाइनु पर्छ भनी अभियान पनि चलिरहेकै छन् । विश्वका प्रायः देशमा महिलाको जनसंख्याको अनुपातलाई हिसाब गर्ने हो भने यो स्वभाविक र सान्दर्भिक पनि छ । नेपालको हकमा कुरा गर्नुपर्दा, जनसंख्याको अनुपातका दृष्टिले महिला सहभागिता ५० प्रतिशत खोजिनु न्यायिक छ । तर, वर्तमान अवस्था हेर्दा ३३ प्रतिशत सहभागिता नै अपुग छ । यद्यपि, सार्वजनिक पदमा होस् वा नेतृत्व हाँक्ने भूमिकामा महिला सहभागिता बढ्दो क्रममा छ । सुधारको आवश्यकता अझै धेरै भए पनि बढ्दो सहभागिताको ग्राफले सुखद् पक्ष छ भन्न सकिन्छ । राजनीतिक, आर्थिक एवम् सशक्तीकरणका थुप्रै पक्ष रहेका छन् । तर, यहाँ विशेषगरी परराष्ट्र सेवामा महिला सहभागिताको बामेसर्दो अवस्था र यसले जगाएको आशा अनि अवसरका ढोकाहरूको सामान्य विश्लेषणलाई उजागर गर्न कोसिस गरिने छ ।
परराष्ट्र सेवा आफैमा एक चुनौतिपूर्ण कार्यभार हो । राष्ट्र–राष्ट्रबीचको सम्बन्धलाई कूटनीतिकरूपले सन्तुलनमा कायम गर्दै राष्ट्रको स्वार्थसिद्धि गर्नुपर्ने जिम्मेवारीका कारण पनि परराष्ट्र सेवा चुनौतिपूर्ण अनि संवेदनशील छ भन्ने कुराको पुष्टि गर्छ । कूटनीतिक चातुर्यता र अरू राष्ट्रलाई आफ्ना चाहनाअनुसार काम गराउन सक्ने क्षमता परराष्ट्र सेवाका क्रममा चाहिने आधारभूत तत्व हो । परराष्ट्र सेवामा रहेका जोकोहीले यी क्षमतामा दख्खल राख्नै पर्छ । अति संवेदनशील मानिने परराष्ट्र सेवाअन्तर्गतका प्रशासनिक एवम् रणनीतिक कदममा नेपालका महिलाको सहभागिता कस्तो छ त ? यो महत्वपूर्ण विषय भए पनि वर्तमान अवस्थामा यस उपर सूक्ष्म अध्ययन र गहन विश्लेषण भने कमै हुने गरेको छ ।
सहभागिताको अवस्था
परराष्ट्र सेवामा महिला सहभागिताको वर्तमान अवस्था नियाल्दा सन्तोषजनक अवस्था छैन । यद्यपि, क्रमिक सुधारका रेखाहरू भने देखिन थालेका छन् । नेपालको पछिल्लो तथ्यांकीय अवस्था नियाल्दा परराष्ट्र सेवामा महिला सहभागिता करिब २१ प्रतिशत छ । अहिले नेपालमा करिब तीन सय जना परराष्ट्र कर्मचारी छन् । एक सचिव, १० उपसचिव, दुई दर्जन अधिकृत र दुई दर्जन नायब सुब्बा तहका कर्मचारी महिला छन् । त्यसो त, केही मिसनमा राजदूतको रिक्तताको अवस्थामा अहिले पनि कार्यवाहक हुने महिला कर्मचारीको संख्या पनि छ ।
इतिहास
परराष्ट्र सेवामा नेपाली महिलाको चर्चा गर्दा विन्देश्वरी शाहको नाम प्रथम चर्चामा आउने गर्छ । उनी राजदूतका रूपमा जिम्मेवारी वहन गर्ने पहिलो नेपाली महिला हुन् । त्यसैले पनि शाह नेपालको कूटनीतिक इतिहासकी खास ऐतिहासिक व्यक्तित्व हुन् । उनी नेपालको परराष्ट्र इतिहासमा महिला सहभागिताकी बलियो धरोहर हुन् भने नेपाली महिलाका लागि प्रेरणाकी पात्र समेत हुन् । उनले विदेशमा रहेका नेपालका ३३ कूटनीतिक नियोगमा कूटनीतिक सेवा गरेको इतिहास छ । हुनत, नेपालले विसं १९९० यता राजनीतिक नियुक्ति गरी डेढ सय जनाभन्दा बढीलाई राजदूतको जिम्मेवारी दिएको छ । त्यसमध्येमा राजदूतका रूपमा जिम्मेवारी सम्हालेकी शाहको कूटनीतिक दक्षताको अहिले पनि प्रशंसा हुने गर्छ ।
विश्वको नेतृत्व गरिरहेको मुलुक संयुक्त राज्य अमेरिकासमेत उनको चर्चाको बलियो स्थान छ । अमेरिकाको चर्चित कोलम्बिया युनिभर्सिटीअन्तर्गतको बर्नार्ड कलेजको वेबसाइटमा सन् २०१८ मा ‘लिगेसी अफ लभ’ शीर्षकमा एउटा लेख प्रकाशित थियो । यो लेख सोही कलेजमा अध्ययन गरेकी नेपाली महिला आर्या शाहले लेखेकी हुन् । असाधारण प्रकृतिका महिलाहरू उत्पादन गर्ने विश्वमै चर्चित कलेज हो बर्नार्ड । सन् १९५६ देखि यसै कलेजमा पढ्नु भएको हो विन्देश्वरी शाहले । उनले यही कलेजबाट स्नातक उत्तीर्ण गरिन् । सन् १९५६ मा विन्देश्वरीको नाम थियो, बिन्दा मल्ल । उनले नेपाली जगतका प्रख्यात राजनीतिज्ञ एवम् कूटनीतिज्ञ ऋषिकेश शाहका भाइ डा. नारायणकेशरी शाहसँग बिहे गरिन् । त्यसपछि उनी विन्देश्वरी शाहका नामले चिनिन थालिन् ।
उनी नेपालको परराष्ट्र मन्त्रालयको सदस्य अर्थात् अधिकृतका रूपमा अमेरिकास्थित नेपाली राजदूतावासमा सरुवा भइन् । बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेपछि त्यहाँ नेपालको पहिलो राजदूतावास स्थापना समेत उनकै सक्रियतामा भएको थियो । उनले राजदूतका रूपमा पहिलो पटक काम गरेको भने भारतबाट हो । भारतमा राजदूत नियुक्तिसँगै उनी राजदूतका रूपमा काम गर्ने पहिलो नेपाली महिला बनिन् ।
प्रेरणादायी कीर्तिमानी
विन्देश्वरी शाहले ‘लाइब्रेरी साइन्स’ अध्ययन गरेर पहिलो महिला लाइब्रेरियनको रेकर्ड बनाएकी थिइन् । त्यसपछि परराष्ट्र सेवामा प्रवेश गरेदेखि उनको अन्य कीर्तिमानी रहेका छन् । उनले परराष्ट्र सेवामा प्रवेशपछि परराष्ट्र मन्त्रालयकी पहिलो महिला अधिकृतमा उत्तीर्ण हुने रेकर्ड समेत दर्ज गरिन् ।
राजनीतिक इतिहाससँग परराष्ट्रको इतिहास जोडिएर आउँछ । त्यसैले उनका अन्य रेकर्ड राजनीतिक उतारचढावका बीचमा रहे । उनी परराष्ट्र सेवामा प्रवेश गरेको केही समयपछि २०१७ सालमा वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकार तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले अपदस्थ गरे । प्रधानमन्त्री भएका वीपीलाई अपदस्थ गरी वीपीकै दाजु मातृकाप्रसाद कोइरालालाई राजा महेन्द्रले नेपालका लागि अमेरिकी राजदूतका रूपमा जिम्मेवारी दिए । त्यसको केही दिनमै सेकेन्ड सेक्रेटरीका रूपमा विन्देश्वरीको सरूवा वासिङ्टनस्थित नेपाली राजदूतावासमा गरियो । मातृकाप्रसाद दुई वर्षपछि राजीनामा दिई नेपाल फर्किए । त्यसपछि जनरल पदमबहादुर खत्रीलाई राजदूत बनाइयो । यसैबीचमा विन्देश्वरीले परराष्ट्र सेवामा अर्को कीर्तिमानी बनाइन् । मातृकाप्रसादको फिर्ती र जनरल पदमबहादुरले जिम्मेवारी सम्हाल्न अमेरिका पुग्नुअघि कार्यवाहक राजदूतको जिम्मेवारी विन्देश्वरीले जिम्मेवारी सम्हालेकी थिइन् । द्वितीय सचिवका रूपमा अमेरिका पोस्टिङ गरिनु भएकी विन्देश्वरी शाहलाई त्यहीँ रहँदै प्रथम सचिवमा बढुवा गरिएको थियो ।
विन्देश्वरीले परराष्ट्र मन्त्रालयको अधिकृत रहँदा पाएको अर्को जिम्मेवारी हो, ‘नेसनल कमिसन अन दि स्टाटस अफ वुमन’ को सदस्य सचिवको जिम्मेवारी । संयुक्त राष्ट्रसंघको निर्णयअनुसार नेपालले आयोग गठन गरेको थियो । परराष्ट्रका ज्ञाताहरूले यस आयोगलाई नेपालको पहिलो महिला आयोगका रूपमा अर्थ्याउने गर्छन् । यो आयोगको संरक्षक तत्कालीन बडामहारानी रत्न थिइन् । साथै, अध्यक्ष परराष्ट्रमन्त्री समेत रहेकी मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्ट थिए । बडामहारानी र मन्त्रिपरिषद्का उपाध्यक्ष रहेको आयोगमा विन्देश्वरी सदस्य सचिवको जिम्मेवारीमा रहेकी थिइन् । यो नेपाली महिलाका लागि परराष्ट्र सेवामा प्रेरणाको गर्विलो इतिहास हो ।
अर्को कीर्तिमानी, विन्देश्वरी अमेरिकाबाट नेपाल फर्केको करिब पाँच वर्ष भएको थियो । त्यस समय पूर्वी पाकिस्तान (बंगलादेश) ले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त ग¥यो । यो स्वतन्त्रताअघि ढाका–बंगलादेश) मा नेपालको महावाणिज्यदूतावास थियो । स्वतन्त्रतापछि नेपालले बंगलादेशमा राजदूतावास स्थापना गर्ने तयारी ग¥यो । यो जिम्मेवारी विन्देश्वरीले पाइन् । उनले त्यहाँ कार्यवाहक राजदूतका रूपमा चार वर्षे काम गरिन् । बंगलादेशमा कार्यवाहक राजदूतको जिम्मेवारीमा रहँदा उनको परराष्ट्र मन्त्रालयको उपसचिवमा बढुवा भइसकेको थियो । त्यसपछि केही समय नेपालमै मन्त्रालयको जिम्मेवारीमा रहिन् । त्यसपछि परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवा भइन् ।
राजदूतका रूपमा पहिलो महिलातर्फको यात्रा
विन्देश्वरी शाहले परराष्ट्र मन्त्रालयको उपसचिव र सहसचिवका रूपमा करिब १२ वर्ष काम गरिन् । अनि, २०४४ साल चैत्र महिना नेपाली महिलाका लागि एक इतिहास रचिन् । नेपाल सरकारले उनलाई नेपालका लागि भारतीय राजदूत बनाउने निर्णय २०४४ साल कार्तिक (१६ देखि १८ गते) मा काठमाडौंमा सम्पन्न तेस्रो सार्क सम्मेलनअघि नै गरेको थियो । तर, सार्क सम्मेलनको तयारीमा उनको भूमिका महत्वपूर्ण रहेकाले उनी काठमाडौँमै रहिन् । त्यसपछि २०४४ चैतमा उनले भारतका लागि नेपाली राजदूतको कार्यभार सम्हालिन् । विन्देश्वरीले राजदूतको कार्यभार सम्हालेको केही महिना मात्रै भएको थियो । त्यसबेला नेपाल–भारतको सम्बन्धमा चिसोपन आयो । नेपाल–भारत सम्बन्धमा तिक्तता आएको त्यस समय भारतले तिक्ततालाई कूटनीतिक अस्त्रको प्रयोग गरी नेपालमाथि रिसिवी साँध्यो । नेपाल–भारतबीचको पारवहन सन्धिको अवधि सकिएको विषयलाई आधार बनाउँदै भारतले नेपालमाथि नाकाबन्दी नै ग¥यो । यसै समय पञ्चायत सरकारविरूद्ध नेपालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले संयुक्त रूपमा संघर्ष थाले । फलस्वरूप पञ्चायती व्यवस्थाको अन्त्य भयो, बहुदलीय प्रजातन्त्र व्यवस्था पुनःस्थापित भयो । आन्तरिक राजनीतिक उथलपुथलकै कारण विन्देश्वरीको राजदूतका रूपमा चार वर्षे कार्यकालले पूर्णता पाएन र उनलाई फिर्ता बोलाइएको थियो ।
राजदूत बन्न जाँदा उनी परराष्ट्र मन्त्रालयको सहसचिव थिइन् । त्यही रहँदा उनको बढुवा भएर उनी परराष्ट्र मन्त्रालयकी अतिरिक्त सचिव बनिसकेकी थिइन् । राजदूतबाट फिर्ता भएपछि उनी मन्त्रालयमै अतिरिक्त सचिवका रूपमा करिब एक वर्ष रहिन् । २०४८ वैशाख २९ गते आम निर्वाचन भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो । नयाँ सरकार गठन भएलगत्तै त्यस सरकारले ३० वर्षे उमेर हदसम्बन्धी व्यवस्था लागू ग¥यो । सोही व्यवस्थाका कारण विन्देश्वरी शाहले परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवबाट नै अवकाश पाइन् । यदि ३० वर्षे उमेर हद लागू हुँदैनथ्यो भने विन्देश्वरी शाहले परराष्ट्र मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने पहिलो महिलाको रूपमा पनि कीर्तिमानी बनाउने सम्भावना थियो भनी अहिले पनि समीक्षा गर्ने गरिन्छ ।
परराष्ट्र सचिवमा पहिलो महिला सेवा लम्साल
२०४८ सालमा कूटनीतिज्ञ विन्देश्वरी शाहले रच्न चुकेको परराष्ट्र सचिवका रूपमा पहिलो नेपाली महिलाको कीर्तिमानी २०८० साल मंसिरमा सेवा लम्सालले रचेकी छिन् । भोजपुर स्थायी ठेगाना रहेकी सेवा लम्साल नेपालको २५औँ परराष्ट्रसचिव हुन् । त्यसअघि उनी पाकिस्तानका लागि नेपाली राजदूत थिइन् । २०६७ मा परराष्ट्रको उपसचिवमा नाम निकालेकी उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट एमपिए गरेकी छिन् । उपसचिव भएको एक वर्षमा उनी सहसचिव भएकी थिइन् । २०८० मंसिर २८ गते उनी सचिव बन्न सफल भइन् ।
परराष्ट्र सेवामा अम्बिका लुइँटेलको नाम
२०७१ सालमा अम्बिका लुइँटेल फ्रान्सका लागि नेपाली राजदूतको जिम्मेवारीमा नियुक्त भइन् । २०४३ सालमा परराष्ट्रमा अधिकृतका रूपमा प्रवेश गरेकी उनले सेवा प्रवेशको करिब २८ वर्षपछि राजदूत बन्ने अवसर पाइन् । स्मरण गर्नुपर्ने कुरा के छ भने राजदूत बन्ने पहिलो नेपाली महिला बनेकी विन्देश्वरी शाहले २०१६ सालमा खुल्ला प्रतिस्पर्धाबाट शाखा अधिकृतका रूपमा परराष्ट्र प्रवेश गरेकी थिइन् । उनलाई राजदूत बन्न समेत करिब २८ वर्ष लागेको थियो । इजरायलमाथि हमास समूहको आक्रमणका समय नेपालका लागि इजरायली राजदूत रहेकी कान्ता रिजाल पनि नेपाली महिलाका लागि प्रेरणाकी पात्र हुन् ।
परराष्ट्रमा महिला : २०६७ साल स्वर्णिम वर्ष
समग्रमा परराष्ट्र सेवामा महिला सहभागिताको ग्राफ २०६७ सालदेखि बढ्दो गतिमा देखिन्छ । २०६७ सालमा परराष्ट्र सेवामा २८ जना प्रवेश गरेका थिए, जहाँ १४ जना महिला थिए । तिनै महिला अहिले सचिव र उपसचिवका रूपमा कार्यरत छन् । यस्तै, कोही सहसचिवको लाइनमा देखिन्छन् । यसमध्ये अधिकांशले मिसन प्रमुखका रूपमा कार्यवाहक जिम्मेवारी निर्वाह गरिसकेका छन् । निजामती सेवामा २०६४ सालमा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरियो । यस व्यवस्थाले निजामती सेवामा महिलाको प्रवेश बढ्न थालेको देखिन्छ । यद्यपि, त्यस समय महिलालाई परराष्ट्रमा प्रवेश हुन तीन वर्ष लागेको थियो । सोही कारण तीन वर्षपछि एकैचोटि परराष्ट्र सेवामा १४ जना महिला अधिकृतको प्रवेश भयो ।
सेवासुविधा र सामाजिक अस्तित्वका दृष्टिले पनि परराष्ट्रमा महिला सहभागिता निकै राम्रो क्षेत्र मानिन्छ । आरक्षणका कारण पनि यसमा महिलालाई राम्रो अवसर छ । यद्यपि, लिङ्गका आधारमा पाइने सहुलियत मात्रै नभई यो संवेदशील क्षेत्र भएकाले महिलाले क्षमता विकासमा विशेष ध्यान भने दिनैपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies