–चन्द्रबहादुर बस्याल
ज्ञान पदार्थको सबैभन्दा सुगठित र सुन्दर उपज हो । ज्ञान व्यवहारबाट बिम्ब निस्कन्छ र पुनः व्यवहारमा ज्ञान र अघि बढ्न यसले बाटो देखाउँछ । पदार्थ पहिलो हो र पदार्थबाट नै चेतनाको समेत निर्धारण र विकास हुन्छ । प्रायः सही ज्ञानको प्राप्ति पदार्थबाट चेतनातर्फ जाने, पुनः चेतनाबाट पदार्थतर्फ फर्कने प्रक्रियालाई बारम्बार दोहोर्याउनुबाटै हुन्छ । व्यवहारबाट ज्ञान र ज्ञानबाट व्यवहारमा जाने अर्थात् ज्ञानबाट व्यवहारमा जाने प्रक्रिया ज्यादै महत्वपूर्ण छ । पहिलो प्रक्रियाअन्तर्गत वस्तुगत बाह्य जगतलाई प्रतिबिम्बित गर्दा बन्ने विचार, सिद्धान्त, नीति, योजना वा उपायहरू सही वा गलत भएको प्रमाणित गर्दछ । सारमा पदार्थ र चेतना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र अधिरचना, अर्थतन्त्र र राजनीतिबीच पहिलो प्रक्रियाले प्रधान भूमिका खेल्दछ तर, दोस्रो प्रक्रियाले पहिलोलाई बदल्न मद्दत गर्दछ । खास अवस्थामा चेतना, उत्पादन सम्बन्ध, अधिरचना र राजनीतिले प्रधान पक्ष बन्न पुग्दछ र त्यसैले नै पहिलो पक्षलाई दोहो¥याउने काम गर्दछ ।
ज्ञान र सीपबीचको सम्बन्ध
वर्ग संघर्ष उत्पादनको निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट सही ज्ञान आउँछ । मानिसको सामाजिक क्रियाकलापलाई वर्ग संघर्षलाई पहिलो स्थान अनि दोस्रो स्थानमा मात्र ज्ञानको स्थान रहन्छ । ज्ञान आधारभूत पक्ष हो । एउटा समस्यालाई ठीकसँग बुझ्ने र दोस्रो समस्याको सही हल खोज्ने । समस्यालाई ठीकसँग बुझ्नु भनेको प्रकृति, समाज र चिन्तनको क्षेत्रमा रहेको अन्तरविरोधलाई ठीकसँग बुझ्नु हो । संसारमा पहिलो अर्थ दुनियाँ बुझ्नु र दोस्रो अर्थ बदल्नु हो । इन्द्रिय ग्राह्य ज्ञानबाट बुद्धिसङ्गत ज्ञान र ज्ञानबाट व्यवहारसम्म अथवा पदार्थबाट चेतना र चेतनाबाट पदार्थसम्म अथवा व्यवहारबाट ज्ञान र ज्ञानबाट व्यवहारसम्म जाने प्रक्रियाबाट ज्ञानको उच्च स्तरमा विकास हुन्छ ।
ज्ञान र सीपको बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ र ज्ञान बिनाको सीप र सीप बिनाको ज्ञान अर्थहीन सावित हुन्छ । सीप मात्र भयो भने तत्क्षणको फाइदा हेर्ने, त्यसका लागि जुनसुकै बाटो हिँड्न पनि तयार हुने र गन्तव्यको चिन्ता नलिने खालको हुन्छ । यो खाले प्रवृत्तिलाई ज्ञानले लगाम लगाउने काम गर्दछ । व्यवहार अथवा सीपबाट ज्ञान, ज्ञानबाट पुनः व्यवहार अथवा सीप गरी ज्ञानको तीन छलाङको सिद्धान्त हुन्छ । ज्ञानले मानिसलाई आफूभित्रै परिवर्तन भई सङ्घर्षशील, आलोचनात्मक र रूपान्तरण खोज्ने बनाउँछ । ज्ञानले प्रक्रियामा परिवर्तन अर्थात् सीपमूलक बन्ने र अनुसन्धान, सोधखोज तथा अनुभव बटुलेर सिक्ने विधि अँगाल्न सहयोग गर्छ । प्रयोग र मान्यताका आधारमा नतिजा निकाल्ने प्रक्रियात्मक शैलीमा ज्ञान र सीपको सम्बन्ध अगाडि बढ्ने गर्छ ।
ज्ञानको स्रोत
सही ज्ञान व्यवहारबाट आउँछ । व्यवहारबाट अलग रही ज्ञान सिद्धान्तबारे छलफल गर्नु व्यर्थ समय गुमाउने कुरा हो । ज्ञानलाई प्रवचन कक्षा र पाठ्यपुस्तकबाट मुक्त गर्दै जनसमुदायको हातमा पु¥याउनु भनेको व्यवहारमा कार्यान्वयन गर्नु हो । जब उत्पीडकहरू उत्पीडितमाथि दमन गर्दछन् अनि उत्पीडितहरू लड्न जरुरी ठान्छन् र दर्शन अथवा ज्ञानबारे सोंच्नुभन्दा अघि बाटो पत्ता लगाउने तिर लाग्छन् । ज्ञान सुख्खा हुन्छ तर, जीवन हरियो हुन्छ अर्थात् जीवन व्यवहारमा ज्ञानको प्रयोग गरेपछि नै ज्ञानको महत्वबोध हुन्छ । व्यवहारिक कार्यान्वयन बिनाको ज्ञानको निर्णायक महत्व हुँदैन । व्यवहारबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानले फेरि व्यवहारमै फर्कनुपर्ने हुन्छ । सामान्य तथ्य, उक्त तथ्यको क्रमबद्ध र व्यवस्थित विश्लेषण र प्रयोगमा विश्वव्यापीकरणबाट ज्ञानको जन्म हुने गर्छ ।
ज्ञानसँग उत्पादक श्रमको यथाशीघ्र समायोजन समाजको रूपान्तरणको प्रभावकारी साधनहरूमध्ये एक हो । बुर्जुवा शिक्षा व्यवहारिक जीवन र पुस्तकबीचको गहिरो खाडल बनेको छ । नेपालको उच्च शिक्षाप्रति क्रमशः चाख घट्नु र शिक्षाकै लागि विदेशिनुमा प्रमुख दुई कारण छन् । एक : स्वदेशको उच्च शिक्षाको गुणस्तरप्रति निश्चिन्तता नहुनु र दुई ः उच्च शिक्षा आर्जन गरिसकेपछि सोअनुसारको रोजगारीका अवसरहरू उपलब्ध नहुनु । शिक्षाको तीन पक्ष बौद्धिक, शारीरिक र बहुप्राविधिकलाई एकीकृत ढंगले सञ्चालन गर्नुपर्दछ । शिक्षणलाई पाठशाला र पाठ्यक्रमको बन्धनबाट मुक्त गर्नु जरुरी छ । घोकाइ र सुगा रटाइ होइन, नियमित क्रियाकलापलाई शिक्षण विधिमा समेट्नुपर्छ । कक्षा आठ उत्तीर्ण युवालाई बढी सीप सिकी चाँडै कमाई खान सक्ने सीपमूलक शिक्षा लिने प्रावधान बनाउनुपर्छ । निश्चित तह पुगेका जनशक्ति सिर्जनात्मक वा व्यवसायिक काम गरेर आत्मनिर्भर हुन सक्ने आँटिलो हुनुपर्छ ।
बहुप्राविधिक शिक्षा एउटा पूरा पद्धति हो । यसले श्रमसँग जोड्छ । यसले शारीरिक श्रम र मानसिक श्रमलाई व्यवस्थित र सरलीकृत गर्न सहयोग गर्दछ । सिद्धान्तलाई व्यवहारसँग जोड्न र अध्ययन गर्दा काम गर भन्ने पद्धतिलाई लागु गर्न बहुप्राविधिक शिक्षा अनिवार्य हुन्छ । यस्तो शिक्षामा सैद्धान्तिक ज्ञान मात्र प्राप्त गर्ने नभई प्रयोगात्मक काम पनि जोडिन्छ । ज्ञान र सीपको संयोजन हुने भएकाले श्रम क्षमताका बृद्धि स्वतः हुन्छ । सीपअनुरूपको श्रम भएपछि रोजगारीको खोजीमा भौंतारिनुपर्ने अवस्था रहँदैन । श्रम बजारको मागअनुसार विशिष्टीकृत सीपयुक्त जनशक्ति उत्पादन गर्ने, सीप विकास तालिमलाई रोजगारी र उद्यमशीलतासँग आबद्ध गर्ने र सीपअनुसारको व्यवसाय सञ्चालन र रोजगारी सिर्जना गर्ने कार्यक्रम र योजनालाई प्रभावकारी बनाउनु जरुरी छ ।
श्रम पलायनको अवस्था
विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सिकेको सीप आधारित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्म ऋणको प्रबन्ध गरियो । यस्तै, उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखी पाँच प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन थालियो । नवीनतम् ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन स्टार्टअप च्यालेन्ज फण्डको व्यवस्था पनि भयो । युवालाई देशभित्रै आयआर्जनमा संलग्न गराउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि रोजगारीमा केन्द्रित गरेको छ । विपन्न बेरोजगार युवालाई संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने १० करोडसम्मको आयोजनामा रोजगारी दिने नीतिसमेत घोषणा गरिएको छ । तर, यी कार्यक्रमहरूको कार्यान्वयन प्रभावकारी नहुँदा लक्षित वर्ग लाभान्वित हुन सकेका छैनन् । जे–जति कार्यक्रम सार्वजनिक गरिएका छन्, ती आम्दानीको दिगो स्रोत बन्दैनन् । यस्ता सीमित छाक टार्ने कार्यक्रमहरूले वैदेशिक रोजगारीमा जाने युवालाई रोक्दैन ।
देश बाहिर ज्याला रोजगारीमा काम गर्नेहरूको संख्या देशभित्र काम गर्नेको भन्दा बढी छ । हाम्रो श्रमशक्तिको सुद्धढीकरण र विकासका लागि देशभित्रको ज्याला रोजगारी श्रमशक्ति देशभित्रको स्वरोजगार श्रमशक्ति देशबाहिर कार्यरत श्रमशक्ति गरी त्रिभुजात्मक रणनीतिको आवश्यक छ । व्यापार घाटाले संकटमा परेको अर्थतन्त्रलाई उद्धार गर्न वैदेशिक मुद्रा पठाउने युवाप्रति राज्यले भने प्रभावकारी नीति बनाउन सकेको छैन ।
वैदेशिक रोजगार कार्यालयका अनुसार हाल दैनिक २८ सय जनाको श्रम स्वीकृति जारी भइरहेको छ । श्रम स्वीकृति लिनेहरूमध्ये पहिलो पटक अन्तराष्ट्रिय श्रम बजारमा जानेको संख्या ६८ प्रतिशत छ । बिदामा आएर फेरि सोही कम्पनीमा फर्किने ३२ प्रतिशत छन् । आधारभूत आवश्यकता पूरा गर्ने रोजगारी नभएसम्म वैदेशिक रोजगारीमा नेपालीको संख्या बढ्नुलाई स्वभाविकरूपमा लिनुपर्ने हुन्छ । सरकारले युवालाई विदेशी मुद्रा ल्याउने साधनका रूपमा मात्र उपयोग गर्न खोज्नु राम्रो होइन । सरकारले स्वदेशमै रोजगारी दिने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा र बढ्दो आर्थिक विषमताले युवालाई वैदेशिक रोजगारीमा जान दबाब दिइरहेको छ । कोभिडको महामारीमा खाडी र भारतसहित झण्डै १० लाख नेपाली स्वदेश फर्किएका थिए । अहिले त्यही समूह कामको खोजीमा छ । केही वर्ष अघिसम्म म्यानपावर कम्पनीलाई मागपत्रअनुसार कामदार खोज्न एजेन्टहरू गाउँ–गाउँसम्म पुग्थे, तर अहिले कामदार आफैं म्यानपावर धाउँछन् । सय जनाको राम्रो मागपत्र आयो भने अहिले कम्तीमा एक हजार जनाबीच प्रतिस्पर्धा हुन्छ । नेपाल बालबालिका र बुढापाकाको आश्रय देश मात्रै बन्न लागेको हो कि भन्ने भान पर्न थालेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies