लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : अव्यवस्थित तारले सर्लाहीको बरहथवा बजार कुरुप बन्दै गएको छ । अव्यवस्थित तारका कारण बजार कुरुप र जोखिमपूर्ण बनेको हो । इन्टरनेट सेवा विस्तारका नाममा विभिन्न सेवा प्रदायक कम्पनीले अव्यवस्थित रुपमा विद्युत तथा सोलारका पोलमा जथाभावी तार टाङ्ने काम गरेसँगै बरहथवा बजारको मुख्य चोक तथा बजार कुरुप बन्दै गएको छ ।
विद्युत वितरणका लागि गाडिएका पोलमा थाम्नै नसकिने तारका गुजुल्टाले शहर विगत केही वर्ष यता कुरूप बन्दै गएकोले यसलाई तत्काल व्यवस्थित गर्न स्थानीयहरुले माग गरेका छन् । स्थानीय व्यापारी शम्भु साह रौनियार र दिलिप पूर्वेले अव्यवस्थित तारले बजार कुरुप मात्र नभइ दुर्घटनाका जोखिम पनि बढेको बताए ।
त्यस्तै उद्योग वाणिज्य संघ बरहथवाका सचिव एवं व्यापारी देवजित साहले यस विषयमा सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दासमेत कुनै सुनुवाइ नभएको दुखेसो पोखे । उनले पनि अव्यवस्थित तारले बजार कुरुप मात्र नभइ दुर्घटनाका जोखिम पनि बढेकोले यसलाई तत्कालै व्यवस्थित गर्न माग गरे ।
यता विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले अव्यवस्थित तारका कारण बजार कुरुप बनेको स्वीकार्दै केही दिन भित्रमा सेवा प्रदायक संस्थाका प्रमुखहरुलाई बोलाएर तारहरुलाई व्यवस्थित गर्न निर्देशन दिने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies