सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट चन्द्रपुर नगरपालिकास्थित सन्तपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवमाथि काठ गायब बनाएको आरोप लागेको छ । उनले सहकारीको चिरान काठ गायब बनाएको आरोप लागेको हो । काठ गायब बनाएको भन्दै स्थानीय बासिन्दाहरुले सोमबार प्रहरी चौकी घेराउ समेत गरेका छन् ।
प्रहरी चौकीका प्रसनी यादवले साझा सहकारी संस्थाको काठ गायब फर्निचर बनाएर घर लगेको भन्दै स्थानीयले सोमबार बिहानै चौकी घेराउ गरेका थिए । चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक यादवले काठ गायब बनाएको र फर्निचर बनाएर घर लगेको स्थानीयको आरोप छ ।
सन्तपुरको साझा सहकारी संस्था लिमिटेडको भवनमा अस्थायी रुपमा रहँदै आएको प्रहरी चौकी सन्तपुरका प्रहरी सहायक निरीक्षक यादवले संस्थामा रहेको पुरानो काठनै गायब गरेर फर्निचर पलङ्ग र किचन र्याक बनाएर लगेको सोही चन्द्रपुर नगरपालिका वडाध्यक्ष जितेन्द्र चौधरीले आरोप लगाए ।
प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक–पटक आफ्नो घर पुर्याएको र अन्तिम पटक लैजाने तयारी गरेको समयमा स्थानीयले रोकेका थिए ।
अवैध असुली धन्धाको आरोप उनीमाथि लाग्दै आएको र माथिल्लो निकायलाई जानकारी गराउँदा समेत बेवास्ता हुँदै आएको वडाअध्यक्ष चौधरीको भनाइ छ । प्रहरी चौकीको भवन निर्माणाधिन अवस्थामा रहेकोले संस्थाले आफ्नो भवनको कोठा अस्थायी रुपमा चौकी सञ्चालनको लागि प्रहरीलाई दिएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्री राज शर्माले प्रहरी सहायक निरीक्षक यादवले गल्ती गरेको भए कारबाही हुने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies